धरान : धरान उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७६/०७७ को लागि १ अर्ब ७७ करोड ९१ लाख बराबरको नीति, कार्यक्रम तथा बजेट नगरसभामा प्रस्तुत गरेको छ ।

गोर्खा डिपार्टमेन्ट स्टोरको हलमा मंगलबार शुरु भएको पाँचौं नगरसभामा कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन् । यो बजेट चालु आर्थिक बर्षको भन्दा कम हो । चालु आर्थिक बर्षमा १ अर्ब ८० करोड बजेट विनियोजन गरिएको छ । धरान उपमहानगरले नीति तथा कार्यक्रमतर्फ महिलाहरुलाई आत्मनिर्भर एवं उद्यमशील बनाउन ‘आत्मनिर्भर महिला धरानमा पहिला’ भन्ने नारा अघि बढाएको छ । उपमेयर उद्यमशीलता कार्यक्रममार्फ यो नारालाई कार्यान्वयन गर्न विभिन्न संघसंस्थाहरुसँग समन्वय गर्ने र ५०/५० प्रतिशत साझेदारीमा सञ्चालन गर्ने उपमहानगरले जनाएको छ ।

महिलाका परम्परागत सीपलाई उपयोग गरी उद्यमशील बन्न प्रोत्साहन गर्ने उपमहानगरले जनाएको छ । यसैगरी, सिपालु हात सधै आफ्नो साथ भन्ने पहिचानका साथ एकल महिलाको उत्थानका कार्यक्रमहरु सञ्चालन गर्ने पनि नीति उपमहानगरले लिने उल्लेख छ । शहरी योजना तथा पुर्वाधार विकासतर्फ उपमहानगरपालिकाअन्र्तगतको गाउँ–नगर सम्पर्क स्थापना र कृषि बजारको विस्तारको लागि आन्तरिक चक्रपथको निर्माण तथा कृषि सडकको विस्तारमा उपमहानगरले जोडदिएको छ । नगरको भौतिक पुर्वाधारलाई पहिलो प्राथमिकता दिएर बजेटको मुख्य हिस्सा विनियोजन गरिएको पनि उपमहानगरले जनाएको छ ।

धरानलाई प्रमुख आकर्षणको केन्द्र, रमणीय तथा पर्यटकीयस्थकोरुपमा विकसित गर्न एक वडा एक पार्कलगायत उपमहानगरले विभिन्न उद्यान विकास गर्ने नीति लिएको छ । ठुलो प्रकृतिका पुर्वाधार विकास निर्माणका कार्यहरुको दीगोपनाको लागि २५ लाख भन्दामाथिको विकास निर्माणको कार्यहरुको विस्तृत सर्भे, डिजाइन गरेर मात्र लगान अनुमान तयार गरी कार्यान्वयन प्रक्रिया अघि बढाउने भएको छ भने बैशाख मसान्तपछि कुनै पनि आयोजनाको सम्झौता नगर्ने नीति लिइने र आयोजनाहरुको लागत, समय, परिणाम र गुणस्तर हासिल गर्न सम्झौता अवधिभित्रै आयोजना सम्पन्न गर्ने नीति लिइने पनि उल्लेख छ ।

नगरलाई सफा र वातावरणमैत्री शहर बनाउन मेरो शहर मै सफा गर्छु भन्ने अभियान सञ्चालन गर्ने र मुख्य क्षेत्रमा आजको फोहोर आजै उठाउने नीतिलाई निरन्तरता दिइने पनि उल्लेख छ । आचारसंहिता तयार गरेर समुदाय, सार्वजनिक र निजी क्षेत्रसँगको सहकार्यमा धरान नगर: सधै सफा शहर बनाइने पनि जनाइएको छ ।

यस्तो छ, बजेट विनियोजन

nagarsava

धरानले आन्तरिक आयतर्फ ३२ करोड २७ लाख ५ हजार, संघीय समानीकरण अनुदान ३१ करोड ९४ लाख, प्रदेश समानीकरण अनुदान ९८ लाख ६८ हजार र संघीय राजश्व बाँडफाटबाट २५ करोड ८ लाख आयको अनुमान गरेको छ । यस्तै, प्रदेश राजश्व बाँडफाटबाट २३ करोड ८ लाख २७ हजार, संघीय ससर्त अनुदानबाट ३४ करोड ८५ लाख अनुमान गरेको छ भने प्रदेश ससर्त अनुदानतर्फ २ करोड, संघीय समपुरक अनुदातर्फ १ करोड, संघीय बिशेष अनुदानतर्फ १ करोड ५० लाख र प्रदेश समपुरक अनुदानतर्फ ५० लाख अनुमान गरेको छ ।

व्ययतर्फ चालुतर्फको कार्यालय तथा वडागत चालु खर्चमा २६ करोड १० लाख ५० हजार,वडा पुजीगत बजेटतर्फ २२ करोड ४० लाख बजेट अनुमान गरिएको छ भने क्रमागत भुक्तानीतर्फ १५ करोड, नगर गौरव आयोजनातर्फ १५ करोड, एकीकृत सहरी विकास आयोजनातर्फ २४ करोड र कार्यालयको पुँजीगत सम्पत्ति तर्फ ९९ लाख ५० हजार विनियोजन गरिएको छ । शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, सुचनालगायत बिषयगत कार्यक्रमहरुको लागि एकमुष्ट ७४ करोड ४१ लाख बजेट प्रस्ताव गरिएको छ ।

उपमहानगरले शहरी योजना तथा भौतिक पुर्वाधार विकासतर्फ कुल ४१ करोड ७५ लाख बजेट विनियोजन गरेको छ भने शिक्षा, युवा तथा खेलकुदतर्फ १ करोड ७१ लाख बजेट विनियोजन गरेको छ । स्वास्थ्यतर्फ १ करोड ७१ लाख, सामाजिक विकासतर्फ १ करोड ८७ लाख बजेट विनियोजन गरिएको छ । पर्यटन विकासतर्फ १ करोड, धरान संगीत प्रतिष्ठानमार्फत साहित्य कला र सँस्कृतिको लागि ५० लाख, सार्वजनिक जग्गा तथा जलाधार क्षेत्रहरुको संरक्षण र उपयोगको लागि ७० लाख बजेट विनियोजन गरिएको छ ।