धरान : लागुुऔषध दुर्व्यसनले किशोर, किशोरी, युवाहरूको जीवनमा पारेको नकारात्मक प्रभावको कथावस्तुमा आधारित चलचित्र 'सिटी अफ वार’को छायाङ्कन धरानमा सुरु भएको छ ।
सोमवार शुभ मुहूर्त सहित छायाङ्कन थालिएको हो । चलचित्रको लेखक तथा निर्देशक विजय सुब्बा रहेको 'सिटी अफ बार' पूर्वाञ्चल फिल्म एकेडेमी धरान र याक्थुङ चलचित्रकर्मी सङ्घ केन्द्रको संयोजनमा निर्माण हुन लागेको हो ।
चलचित्रको छायाङ्कनको पहिलो दृश्यमा मुख्य कलाकार जोसेफ लिम्बु र प्रशान्त राईले मुहूर्त शर्ट दिएका थिए ।
लेखक, निर्देशक सुब्बाले चलचित्र धरानको परिवेशमा रहेर निर्माण गरिने बताए । कुनै बेला धरानमा धेरै लागुऔषधको प्रयोग र कारोबारीहरूले अशान्त बनाएको विषयमा चलचित्र केन्द्रित रहेको उनको भनाई थियो ।
चलचित्रमा याक्थुङ चलचित्रकर्मी सङ्घले केही समय अगाडी आयोजना गरेको एक हप्ते चलचित्र निर्माण तथा अभिनय सम्बन्धी कार्यशालामा सहभागी बिधार्थीहरुलाई प्राथमिकता दिइएको छ ।
उनीहरूलाई नै विशेष भूमिकामा अनुबन्ध गरिएको याक्थुङ चलचित्रकर्मी सङ्घ केन्द्रका अध्यक्ष तथा प्रोजेक्ट म्यानेजर नवीन मेन्याङबोले बताए ।
चलचित्र निर्माणमा कोही पनि निर्माताको रूपमा नभएको बताउँदै उनले भने ‘चलचित्र सहकारी मोडलमा सबैको उतिकै भूमिका र दायित्व हुने गरी निर्माण भइरहेको छ ।’
एक महिनामा छायाङ्कन सकिने चलचित्र पौने दुई घण्टाको हुने बताइएको छ । चलचित्रमा तिरज लिम्बुको दुई वटा र विजय वाम्बुले राईको एउटा गीत समावेश रहने छ ।
city-of-war-2