धरान : धरान-२ स्थित सब्जिमण्डीमा तरकारी, फलफूल व्यापार गर्ने निहुँमा भारतबाट लागुऔषध ब्राउन सुगर ल्याएर नेपालमा बेचबिखन गर्न दुई जना भारतीय नागरिकलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

लागूऔषध नियन्त्रण ब्युरोले १०० ग्राम ब्राउन सुगर सहित पक्राउ प्रकरणको अनुसन्धान पूरा भएको जनाएको छ ।

गएको जेठ २८ गते धरान सब्जी मण्डीमा तरकारी पसल चलाउँदै आएका भारतीय नागरिक विकास भगत काठमाण्डौंमा प्रहरीसँग भएको मुठभेडमा गोली लागेर पक्राउ परेका थिए ।

भगतसँग सम्बन्ध देखिएपछि असार ६ गते धरानको सब्जी मण्डीबाट फलफूलको पसल चलाउँदै आएका अर्का भारतीय नागरिक राम भजन पक्राउ परेका थिए ।

दुवै जना धरानमा तरकारी, फलफूल व्यापारको आवरणमा लागुऔषधको धन्धामा संलग्न रहेको अनुसन्धानबाट खुलेको ब्युरोका एसपी चक्रराज जोशीले जानकारी दिए ।

जेशीले भने ‘भारतको जोगबनी नाकाबाट डिलरका रूपमा लागूऔषध ल्याउने गरेको पाइयो ।’ यसमा अन्यको संलग्न नपाएको बताउँदै दुवैलाई जिल्ला अदालतले पुर्पक्षका थुनामा राख्ने आदेश दिएको जानकारी दिए ।

एसपी जोशीले धरान ब्राउन सुगर खरिद बिक्री गर्ने केन्द्र रहेको बताए । उनका अनुसार पछिल्लो समय धरानमा लुटपाट र अन्य आपराधिक घटनामा लागूऔषध ब्राउन सुगर सम्बन्ध रहेको व्यक्तिहरूको संलग्नता रहेको पाइएको छ ।

१०० ग्राम ब्राउन सुगर प्रकरणमा विकास भगतको भन्दा राम भजन बढी सक्रिय रहेको जोशीले बताए । उनले भने, ‘अनुसन्धानमा दुवै जना अपराधमा संलग्न रहेको देखिए पनि राम भजन धरानमा लागुऔषध कारोबारमा बढी सक्रिय देखिए ।’

अन्य घटनाहरूमा लागूऔषध कारोबारी आफैँ सेवनकर्ता हुने गरे पनि विकास आफू चाहिँ लागूऔषध सेवन नगर्ने पाइएको छ । 

जिल्ला अदालत काठमाण्डौंले विकास भगत र राम भजनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । यो मुद्दामा दुवैलाई १० देखी १५ वर्षसम्म कैद सजाय हुनसक्ने एसपी जोशीले बताए । साथै ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको उनको भनाई छ ।