धरान : धरान भानुचौक स्थित सब्जीमण्डीबाट त्यहाँ फलफूलको पसल गरेर बसेका राम भजनलाई यसअघि काठमाण्डूमा पक्राउ गरेको १०० ग्राम ब्राउन सुगरको घट्नामा संलग्न भएको आशङ्कामा प्रहरीले पक्राउ गरेको छ ।

भजनलाई इलाका प्रहरी कार्यालय धरानले आज बिहान सब्जीमण्डीको उनकै पसलबाट पक्राउ गरेको हो ।

सब्जी, फलफूल व्यवसाय गरेको देखावटी काम भित्र लागूऔषध तस्करीको धन्दा गर्ने मुख्य नाइके राम भजन नै भएको प्रहरीले आशङ्का गरेको छ ।

यसअघि सब्जिमण्डीकै तरकारी पसले विकास भगत जेठ २८ गते काठमाण्डूमा १०० ग्राम ब्राउन सुगर सहित पक्राउ परेका थिए ।काठमाण्डूमा पक्राउ परेका विकास भगतसँग राम भजनको अन्तरसम्बन्ध रहेको आशङ्कामा उनलाई सोधपुछका लागि नियन्त्रणमा लिएको लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता चक्रराज जोशीले बताए ।

प्रवक्ता जोशीले अन्य घटनामा लागुऔषध कारोबारी आफैँ प्रयोगकर्ता भए पनि विकास भगतले भने लागुऔषध सेवन गर्ने नगरेको बताए । उनले भगतको कुनै आपराधिक रेकर्ड नभएको पनि बताए । 

भजनले धरानमा फलफूल पसल सञ्चालन गर्ने गरेको र सोही पसलको आवरणमा लागुऔषध बिक्री वितरण गर्ने गरेको प्रहरीको आशङ्का छ ।

लागुऔषध नियन्त्रण ब्युरोले दिएको सूचनाका आधारमा धरानमा फलफूलको व्यापार गर्ने राम भजनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले जानकारी दिए ।

उनले भने, ‘काठमाण्डौमा पक्राउ परेका एक सय ग्राम लागुऔषध प्रकरणमा भजनको संलग्नता भएको आशङ्कामा सोधपुछका लागि नियन्त्रणमा लिएका हौँ ।’

पक्राउ परेका भजनलाई लागु औषध तस्करीका मुख्य नाइकेको रूपमा हेरिएको छ । काठमाण्डौमा विकास भगतलाई पक्राउ गर्दा भएको मुठभेडमा प्रहरीले गोली प्रहार गर्नु परेको थियो । 

गोली लागेर घाइते भएका भगतको त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा उपचार जारी छ । अस्पतालमा भएका कारण प्रहरीले उनीमाथि विस्तृत अनुसन्धान गर्न पाएको छैन ।  घटना भएको दिन भगत बिहान ८ बजे विराटनगरबाट काठमाण्डौं गएका थिए ।