धरान : जङ्गली हात्ती धरानमा प्रवेश गरेका छन् । हिजो बिहीबार राती तीनकुने जङ्गल धरान-८ स्थित लाङ्घाली सामुदायिक वनमा एक्कासि २ वटा माउ हात्ती देखा परेको हो ।

सामुदायिक बन उपभोक्ता महासङ्घ नगर उपाध्यक्ष सुवास श्रेष्ठका अनुसार हात्तीले लाङघाली वनमा रहेको बाल उद्यान भत्काएर उद्यान परिसर भित्र ठुलो क्षति पुर्‍याएको छ ।

साथै छेउमा रेडियो नेपालको प्रवेशद्वार, धरान-८ स्थित औद्योगिक क्षेत्रमा समेत क्षति पुर्‍याएको उपाध्यक्ष श्रेष्ठले बताए ।

उनले भने ‘हात्ती हिजो राती जङ्गल बाहिर समेत आएको थियो, उक्त हात्ती जङ्गलमा दिन बिराई बिराई देखा पर्ने गरेको छ ।’ हात्तीले बाल उद्यान लगायतमा लगभग ३ लाख बढीको क्षति पुर्‍याएको श्रेष्ठले बताए ।

४ महिना अघि मात्र हात्ती आतङ्कले ब्यहोरेको धरानमा फेरि हात्ती प्रवेश गरेकाले सुरक्षित रहन उनले आम धरानबासिलाई आग्रह गरेका छन् ।