इटहरी : अनेरास्ववियु सुनसरी जिल्ला अधिवेशन उद्घाटन भएको तीन साता पछि नेतृत्व चयन भएको छ । प्रदेश अध्यक्ष तथा अध्यक्ष मण्डलका अध्यक्ष गङ्गाबहादुर खड्का (जीवी गजल) को इच्छा अनुसार नै उज्ज्वल सिग्देलको नेतृत्वमा कमिटी गठन भएको हो ।

गजलले तत्काल सिग्देलको नेतृत्वमा कमिटी गठन नहुने भएपछि साउन ४ गते अधिवेशनको बन्द सत्र स्थगित गरेका थिए । निर्वाचनमा सिग्देल कमजोर अवस्थामा रहेको बुझेका गजलले अन्ततः आफ्नै पक्षमा निर्णय गराएका हुन् ।

समयमै नेतृत्व चयन नभएको विषयमा नेकपा एमाले सुनसरीले समेत कार्यदल गठन गरेको थियो । कार्यदलको सुझाव अनुसार निर्णय भएको अध्यक्ष मण्डलका अध्यक्ष गजलले बताए । सर्वसम्मत नेतृत्व चयन गर्ने सहमति अनुसार नयाँ कमिटी गठन गरिएको उनको भनाइ छ।

सिग्देलको अध्यक्षतामा शेखर रेग्मी, आदित्य खड्‌का, सुनिल सुब्बा उपाध्यक्ष चयन भएका छन् । सुरज भट्टराई सचिव भए भने सह-सचिवमा चित्रमान राई, अरुण चौधरी र आदर्श पोखरेल छन् । कोषाध्यक्षको जिम्मेवारी मन्दिरा लिम्बुले पाएकी छन् । बाकी सदस्यहरू भूगोल, जात तथा लिङ्गका आधारमा समावेशी रूपमा छनौट गरिएको गजलले जानकारी दिए ।