इटहरी : अनेरास्ववियु सुनसरी जिल्ला कमिटीको विवादमा नेकपा एमालेले वैधानिक आधारबाट चयन भएको नेतृत्व मान्य हुने बताएको छ। बहुमत प्रतिनिधि मण्डलको समर्थन पाएको र अध्यक्ष मण्डलले सहमति दिएको कमिटी मान्य हुने जनाएको हो ।

एमाले जिल्ला सचिव तथा अनेरास्ववियु पूर्व जिल्ला अध्यक्ष राम कोइरालाले प्रदेश अध्यक्ष तथा अध्यक्ष मण्डलका अध्यक्ष गङ्गाबहादुर खड्का (जीवी गजल) ले हस्ताक्षर गरेको कमिटी वैधानिक भएको बताए ।

पार्टी भित्रका असन्तुष्ट, प्रतिक्रियावादी, दक्षिणपन्थी तत्त्व हाबी भएको कारण समानान्तर कमिटी बनेको प्रतिक्रिया दिए ।

सुनसरी पार्टी कमिटीले समयमै नेतृत्व चयन नभएको विषयमा कार्यदल गठन गरेको थियो । कार्यदलको सुझाव अनुसार निर्णय गरेको अध्यक्ष मण्डलका अध्यक्ष गजलले बताएका छन् ।

गजलले सर्वसम्मत नेतृत्व चयन भएको दाबी गरेपनी शेखर रेग्मीको अध्यक्षतामा अर्को कमिटी गठन भएको छ । सुनसरी इन्चार्ज रोशन रेग्मीको हस्ताक्षरमा शेखरको नेतृत्वमा कमिटी बनेको हो ।

शेखर रेग्मीले अध्यक्षको हैसियतमा महेन्द्र बहुमुखी क्याम्पस कमिटी धरानको कार्यक्रममा सहभागिता जनाइसकेका छन् ।