• डा. प्रविद गजुरेल

थाइराईड भनेको हाम्रो घाँटीमा रहेको संवेदनशील ग्रन्थि हो । जुन श्वासप्रश्वास नलीको बाहिर पट्टी हुने गर्दछ । यसको प्रमुख काम भनेको हर्मोन उत्पादन गर्नु हो । थाइराइडले मुख्यतः टी थ्री (ट्राई आइडो थाइरोनीन) र टी फो (थाइरोक्जीन) निकाल्छ । जुन हाम्रो शरीरको हरेक अङ्गको लागि आवश्यक हुन्छन् । त्यसैले पनि थाइराइड अत्यन्तै महत्त्वपूर्ण र संवेदनशील ग्रन्थि मानिन्छ । 

हामीले थाइराईड भयो भन्छौ तर हाम्रो शरीर थाइराइड विना अपूर्ण रहेको तथ्य बुझ्नुपर्ने हुन्छ । अब समस्याको रूपमा हेर्दा थाइराइड ग्रन्थिले उत्पादन गर्ने दुवै हर्मोनहरु (टी थ्री र टी फो) कम वा बढी हुनु शरीरको लागि घातक हुन्छ । जसलाई थाइराइड भयो भन्ने गर्दछौँ । 

सामान्यतया दुवै हर्मोनहरु कम उत्सर्जन भए भने शरीर गलेको महसुस हुने, वजन बढ्ने, चिसोपनको महसुस हुने, मांसपेशी दुख्ने, कपाल झर्ने, छाला खस्रो हुने, महिनावारीमा गडबडी हुने, अथवा कसै कसैलाई डिप्रेसन समेत हुने गर्दछ । 

अब बढी हुँदा त समस्या नदेखिनुपर्ने हो नि ! भन्ने पनि लाग्न सक्छ । तर त्यस्तो हुँदैन । बढी हुँदा पनि समस्या देखिन्छ, तर त्यसको लक्षण भने फरक हुन्छन् । जस्तो की मुटुको ढुकढुकीको चाल बढ्नु, वजन घट्नु, शरीर गल्नु वा शरीर तात्ने जस्ता समस्या आउँछन् । 

टी-थ्री र टी-फो कम वा बढी भएको खण्डमा दबाई प्रयोग गरिन्छ । औषधिकै मार्फतबाट पनि रोगको निदान गर्न सकिन्छ । तर जनमानसमा थाइराइड भयो भने त धेरै गाह्रो हुन्छ भन्ने भ्रम छ । कतिपय चिकित्सकीय परामर्शमा पनि यस्ता डर देखाउने काम भएका छन् । हामीले सचेत हुनुपर्ने कुरा के हो भने थाइराइडको समस्या आउँदा ग्रन्थि सुन्निने गर्छ । थाइराइडको ग्रन्थिको झिल्ली सुनिदा अत्याधीक दुख्ने गर्छ । जसलाई औषधि प्रयोगबाट नियन्त्रण गर्न सकिन्छ । आत्तिनुपर्ने केही छैन । 

थाइराइडको हर्मोनमा गडबडी हुँदैमा डराउनुपर्ने केही छैन । उपचार गराउँदा निको नहुने हुँदैन । तर गर्भवती महिलामा समस्यामा देखियो भने सकेसम्म बच्चा नजन्माउँदा नै राम्रो मानिन्छ । थाइरोइडको हर्मोन ठिक नभई गर्भको प्लान गर्नु हुँदैन । औषधि नियमित सेवन गर्नुपर्ने हुन्छ । औषधि नियमित नहुँदा अर्को समस्या देखिन सक्छ । 

अब थाइराइडको ग्रन्थिमा हुने समस्या आउनै नदिन पनि सकिन्छ होला नि भन्ने लाग्न सक्छ । तर कुनै पनि पूर्व तयारी गरेर यसलाई पूर्ण रूपमा रोक्न सकिँदैन तर सम्भावनालाई कम गर्न भने सकिन्छ । हामीले दैनिक खाने खानामा बन्दाकोबी, फुलकोभी, पालुङ्गोको साग लगायत फलफूल कम प्रयोग गर्नुपर्दछ । वजनलाई नियमित ब्यालेन्समा राख्नुपर्ने हुन्छ । धरै मोटोपनमा पनि थाइराइड ग्रन्थिमा समस्या देखिन सक्छ । 

थाइराइडको समस्या आउनसाथ कसैले अपरेसन गराइरहेको पनि देखिन्छ । अपरेसन गर्नुपर्ने अवस्थामा पुग्नु भन्दा अगाडी नै औषधिको प्रयोग गर्नुपर्ने हुन्छ । त्यसको लागि सामान्य लक्षण देखिनासाथ चिकित्सक सँग पुग्नुपर्ने हुन्छ। 

परम्परागत भाषामा गलगाँड पलाएको भनिन्छ त्यो ग्रन्थिमा मासु पलाएर देखिने समस्या हो । थाइराइडको ग्रन्थिमा मासु पलाएको अवस्थामा मात्र अपरेसन गर्नुपर्ने हुन्छ । त्यसलाई छुट्याउनको लागि  एक्स-रेबाट प्रमाणित हुन्छ । बढेको मासुमा सिरिन्ज प्रयोग गरेर हेरिन्छ । क्यान्सर हो हैन भन्ने प्रमाणित भएपछि अपरेसनको लागि तयार गरिन्छ । मासु पलायो भने पनि अपरेसन गरेर फ्याँक्नुपर्ने हुन्छ । भनेको आत्तिनुपर्ने अवस्था छैन ।  

मेरो पनि आफ्नो अनुभव छ । दमकको एक जना बहिनीलाई पहिला अपरेसन गर्नु पर्दैन भनेर औषधि सेवन गराइएको रहेछ । पछि म आफै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुँदा ती बिरामी आइन् । उनको समस्या बढेको पाएपछि अपरेसन गरेर निकालियो । अहिले उनको अवस्था सामान्य छ ।  

तर बुझ्नुपर्ने कुरा के हो भने । अपरेसन गर्दा स्वर भासिन सक्छ । स्वर यन्त्रको लागि घाँटीमा प्वाल पारेर ट्युब राख्नुपर्ने पनि अवस्था आउन सक्छ । कतिपय नसामा समस्या आउँदा स्वर भासिने अवस्था रहन्छ । यसको उपचार सहज छ । फेरी पनि भन्छु आत्तिनु पर्दैन । 

केही समस्या देखिएको सुरुवातमै भिडियो एक्स-रे गर्नुपर्छ । म विनम्र पूर्वक आग्रह गर्न चाहन्छु की तपाईँको घाटी अस्वाभाविक भएको छ र सास फेर्न समस्या भएको छ भने उपचार गराइहाल्नुपर्छ । घाँटी सुनिएको महसुस भयो भने एक पटक नडराई परीक्षण गर्नु होला । भ्रमको पछि लाग्नुभन्दा उपचार गराएर आनन्दले बस्नु उपयुक्त हुन्छ । 

 (नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर गजुरेल सँगको कुराकानीमा आधारित )