वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं.१ खारखोलाका नेपाली काँग्रेसका प्रदेश पार्षद् समेत रहेका युवा नेता सन्तोष श्रेष्ठले अपाङ्ग, अशक्त भएका परिवारलाई खाद्यान्न सहयोग गरेर आफ्नो जन्म दिन मनाएका छन् ।

मङ्गलवार साउन २९ गते आफ्नो ३६औँ जन्मदिनको अवसरमा सन्तोषले वराहक्षेत्र-१ बगुवाका अशक्त तथा अपाङ्ग ढकबहादुर खड्का र पूर्णबहादुर खड्कालाई खाद्यान्नका सामाग्री एक-एक बोरा चामल, नुन, तेल, मसला, आलु, सरसफाइका सामाग्री साबुन, सेम्फु र नगद समेत प्रदान गरेका थिए ।

त्यस्तै वडा नं.१ खारखोलाका क्यान्सर रोग पीडित पंचहाङ्ग राईलाई खाद्यान्नका सामाग्री एक-एक बोरा चामल, नुन, तेल, मसला, आलु, सरसफाइका सामाग्री साबुन, सेम्फु र नगद समेत प्रदान गरेका थिए ।

जन्मदिनमा हुने खर्चलाई सामाजिक कार्यमा लगाएको श्रेष्ठले बताए । अशक्त, असहाय भएका परिवारलाई आफ्नो जन्मदिनको अवसरमा सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको उनी बताउँछन् ।

सन्तोषले विगतका जन्मदिनको अवसरमा बाटोको किनारामा वृक्षारोपण, साधुहरूलाई भोजन गराउने, चोकमा सुरक्षित यात्राका लागि बोर्ड, सिसी क्यामरा जडान, मठ, मन्दिर रंगरोगन, सडक मर्मत गरेका थिए ।

जन्मदिनको अवसरमा उदाहरणीय कार्य गर्दै आएका श्रेष्ठ नेपाली काँग्रेसका सुनसरी क्षेत्र नं १ प्रदेश सभा २ का सदस्य प्रदेश पार्षद्सँगै वराहक्षेत्र खेलकुद विकास समितिका सदस्य, खारखोला फुटबल क्लबका अध्यक्ष समेत हुन् ।