धरान : नेपालमा सरकारले लगाएको टिकटक माथिको प्रतिबन्ध फुकुवा गरिदिएको छ । सरकारले टिकटक कम्पनीलाई ३ महिनाभित्र सरकारी शर्तहरू पुरा गर्ने शर्तमा प्रतिबन्ध फुकुवा गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका छन् ।

फुकुवा गर्ने मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निर्णय गरेको हो । दश महिना अघि तत्कालीन सरकारले सामाजिक सद्भाव भड्काएको भन्दै टिकटकमा प्रतिबन्ध लगाएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्ध हटाउन निर्देशन दिएका थिए । फुकुवा गर्नु अघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरोकारवालहरूसँग छलफल गरेको थियो ।

टिकटक कम्पनीले नेपाल सरकारलाई पटक-पटक प्रतिबन्ध हटाइदिन लिखित रूपमा आग्रह गर्दै आएको थियो । उसले नेपाल सरकारको सर्तहरू मान्ने, नेपालको कानुन अनुसार चल्ने गर्ने लिखित प्रतिबद्धता जनाएपछि सरकारले प्रतिबन्ध फुकुवा गरेको हो । 

टिकटकले नेपालमा सामाजिक सञ्जाल व्यवस्थापन इकाईमा दर्ता गर्ने र कानुनको परिधिभित्र रहेर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको बताइएको छ ।

कानुन अनुसार नेपालमा सञ्चालित सामाजिक सञ्जाल कम्पनीहरू सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेको इकाईमा अनिवार्य दर्ता हुनुपर्ने व्यवस्था छ ।