धरान : धरानमा आज शनिवार आयोजित पाँचौँ खुल्ला लाखे प्रदर्शन प्रतियोगिताको उपाधि नेवा: सांस्कृतिक कला पुञ्ज धरान-१० ले हासिल गरेको छ।

प्रतियोगितामा सहभागी १५ लाखे समूहलाई उछिन्दै कला पुञ्जले पहिलो पुरस्कार नगद १० हजार सहित प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिता नेवा: देय दवु धरान नगर समितिले आयोजना गरेको हो ।

प्रतियोगितामा दोस्रो स्थान युनिक लाखे समूहले हासिल गर्दै नगद ७ हजार सहित प्रमाणपत्र प्राप्त गरेको छ । जाल्पादेवी लाखे समूह धरान-३ ले तेस्रो स्थान हासिल गर्दै नगद ५ हजार सहित प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा १५ वटा लाखे समूह बिच प्रस्तुति शैलीमा प्रतिस्पर्धा भएको थियो । पाहुना टोली समूहका रूपमा नेवा: देय दबु केराबारी, नेवा: देय दबु इटहरी बालग्रामले लाखे समूहले लाखे नृत्य, ठाक्ठुके नृत्य, धिमे बाजा नृत्य प्रस्तुत गरेको थियो ।

सहभागी समूहहरूमा जाल्पादेवी लाखे समूह, सिंहदेवी लाखे समाज, युवा क्लब धरान, युवा समूह लाखे, भानु क्लब लाखे, नौलो लाखे सङ्घ, सिंहदेवी लाखे समूह, शान्ति पथ लाखे समूह, जल्पादेवी लाखे समूह, अजय लाखे समूह, नेवा: सांस्कृतिक कला पुञ्ज, शान्ति युवा लाखे, विजयपुर लाखे समूह, पुतली बजार लाखे समाज, खड्गी युवा जमात, दाफा भजन खल, युनिक लाखे समूह थिए ।

नेवा: देय दबु धरानका अध्यक्ष मनोहर शाक्यले नेवार समुदायको मौलिक सांस्कृतिक परम्पराको संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको  बताए । लाखे प्रदर्शनमा विकृति, विसंगत बढेकाले मर्यादित बनाउन लाखे प्रतियोगिता आयोजना भएको उनले स्पष्ट पारे ।

समापनमा प्रमुख अतिथि धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङले धरान सबै जातजाति मिलेर बसेको सहर भएको बताउँदै सामाजिक सद्भाव, जातीय, धार्मिक सहिष्णुता कायम राख्नु पर्ने कुरामा जोड दिए ।

उपप्रमुख आईन्द्रबिक्रम बेघाले धरान सांस्कृतिक विविधता र पहिचानयुक्त सभ्यता बोकेको सहर भएको बताए । उनले विविधतायुक्त सहरमा सबै वर्ग धर्म सम्प्रदाय समान सहभागिता रहेकोले धरानको मुटु भानुचोकले सम्पूर्ण समुदायलाई समेटेको बताए ।

प्रतियोगिताका निर्णायकहरू संस्कृतविद् जितेन्द्र बज्राचार्य प्रमुख निर्णायकत्वमा सांस्कृतिक अभियन्ता समीर आचार्जु रहेका  थिए । लाखे नृत्य प्रदर्शनको सञ्चालन नेवा: देय दबु धरानका सचिव दीपेन्द्र कसजुले गरेका थिए ।

lakhe-dance-1lakhe-dance-3