धरान : इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक प्रकाश थापा २०८१ साउन महिनाका कोशी प्रदेशभरमा सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्न कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले हरेक महिना प्रदेश भरका प्रहरीहरू मध्ये उत्कृष्ट चयन गरी ‘बेष्ट पुलिस अफ द मन्थ’ तथा सर्वोत्कृष्ट प्रहरी घोषणा गर्दै आएको छ ।

सर्वोत्कृष्ट घोषित प्रहरी निरीक्षक प्रकाश थापाले मोरङ जिल्ला कारागारका कैदी बिरामी भई कोशी अस्पतालमा उपचार गराई रहेको अवस्थामा फरार भएका कैदीलाई पुनः पक्राउ गरेका थिए ।

बिरामी भनिएका कैदी साउन १७ गते शौचालय जाने भनेर अस्पतालबाट फरार भएका थिए । उक्त घट्नामा अहोरात्र खटेर खोजतलास गरी साउन २४ गते फरार कैदीलाई पक्राउ गर्न सफल भएका थिए ।

फरार कैदीलाई उनले मोरङको नेपाल-भारत सीमानाका नजिक जहदा गापा-१ तारेगामा फेला पारी नियन्त्रणमा लिएका हुन ।

प्रहरी निरीक्षक थापाले लागूऔषध ओसारपसारमा संलग्न २८ जना मानिस पक्राउ गरेका छन् । साथै अवैध रूपमा भन्सार छलेर भारतबाट नेपाल ल्याउँदै गरेको १४ लाख ९ हजार ९२० रुपैयाँ बराबरको समान समेत उनले बरामद गरेका छन् ।

उनले दुर्व्यसनी विरुद्ध आमाहरू कार्यक्रममा विराटनगर-१६ क्यान सामुदायिक भवनमा ६५० जना लागूऔषध प्रयोगकर्ताहरूलाई लागूऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी प्रशिक्षण पनि दिएका थिए ।

प्रहरी निरीक्षक थापाका उक्त कार्यहरूबाट विभागीय मूल्य मान्यताको रक्षा, आदेश, निर्देशनको पालना इमानदारी पूर्व निर्वाह भई प्रहरीको उच्च मनोबल र साहसका साथ कर्तव्य निर्वाह भएको ठहर गरी ‘सर्वोकृष्ट प्रहरी’ घोषित गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।