धरान : राष्ट्र बैङ्कले अघिल्ला वर्षहरूमा झैँ नयाँ नोट जारी नगर्दा यसपालिको दशैंमा साना नानीहरूलाई दक्षिणमा अभिभावकहरूले नयाँ नोट दिएर खुसी बनाउन पाएनन् ।

‘नयाँ नोट’ हुनेखाने परिवारका लागि भन्दा शहरी क्षेत्रमा निम्न तथा निम्न मध्यम वर्गका परिवारका बालबालिकाहरूका लागि दशैंमा ‘खुसी’ हुने विषय बन्दै आएको थियो । धरान–१५ का अभिभावक रामकुमार श्रेष्ठले भने ‘केटाकेटीलाई दशैं भनेपछि नयाँ लुगा, नयाँ नोट पाइने खुसी हुन्थ्यो यसपालि त्यो भएन ।’

पुरानै नोटबाट काम चलाएका उनले भने ‘सरकारले मोबाइलबाट दक्षिणा दिने भनेको कुरा केटाकेटीमा लागु हुने कुरा होइन ।’ मोबाइल भएका, चलाउन सक्नेहरू र डिजिटल बैङ्किङ गर्नेहरूका लागि भने ठिकै हो ।

अघिल्ला वर्षहरूमा राष्ट्र बैङ्कले दशैँमा ६० देखि ७० अर्ब रुपैयाँ बराबरका नयाँ नोट ढुकुटीबाट बाहिर ल्याउने गरेको थियो । त्यस मध्ये १५ अर्ब रुपैयाँ हाराहारीको नयाँ नोट सर्वसाधारणको हातमा पुग्ने गरेको राष्ट्र बैङ्कका सहायक सूचना अधिकारी डा. भागवत आचार्यको भनाई छ ।

पोहोर सम्म दशैं आउन साता अघि नयाँ नोट साटने बैङ्कमा सर्वसाधारणको लाइन लगेको थियो । नयाँ नोट साट्ने फुटपाथमा नाङ्लो पसलै पनि खुल्ने गरेको थियो । आर्थिक अवस्थाले तल्लो वर्गका सर्वसाधारणले ससाना नानीहरूलाई नयाँ नोट दिएर दशैंको खुसी साट्ने गर्दथे ।

धरान–१० की गृहिणी धनकुमारीले भनिन् ‘नयाँ नोट केटाकेटीलाई छुट्टै रमाइलो थियो, हाम्रो बाल्यकालमा हामी पनि नयाँ नोट पाउने आशामा खुसी हुन्थ्यौँ ।’ बालबालिकामा दशैंका टिका लगाएर खुसी हुने आकर्षण अब हरायो । यसले दशैंमा पछिल्लो पटक थपिएको परम्परागत आकर्षण घटाएको उनले बताइन् ।

दशैंमा ‘डिजिटल पे’ मार्फत  दक्षिणा दिने प्रचलनलाई प्रवर्द्धन गर्न पनि राष्ट्र बैङ्कले यसपालि नयाँ नोट जारी नगरेको भनिएको छ । तर त्यस्तो सुविधा उपयोग नेपालको सबै ठाउँमा समान पहुँच भने छैन ।

डिजिटलाईजेसनलाई प्रवर्द्धन गर्नु पनि केन्द्रीय बैङ्कको उद्देश्य भएको बताउँदै राष्ट्र बैङ्कका सहायक सूचना अधिकारी आचार्य भन्छन् ‘नेपालका हेर क्षेत्र र मानिसहरूको पहुँचमा डिजिटल कारोबार नभएता पनि नयाँ पुस्ता र एन्डोईड मोबाइल प्रयोग कर्ताका लागि सहज रहेको छ ।’

उनले भने ‘तर पूर्णरुपमा नेपाली समाज डिजिटल कारोबारमा अभ्यस्त रहेका छैनन् र सबै जनतामा डिजिटल कारोबार एक्सेस छैन ।’

बढ्दो शहरीकरण र युवा पुस्ताले डिजिटल लेनदेन चाहेतापनि सरकारले लगाएको भ्याट र करका उत्साह बढाउने कुरा भएको छैन । सरकारले भ्याट छुटसँगै निःशुल्क गर्ने बित्तिकै नयाँ पुस्ता डिजिटल कारोबारमा रमाउने र अभ्यस्त हुने राष्ट्र बैङ्ककै भनाई छ ।आचार्यको भनाई छ ‘सरकारले चाडै निःशुल्क बनाउने निर्णय गर्ने छ भन्ने राष्ट्र बैङ्कले आशा गरेको गरेको छ ।’

धरान जेसीजका पूर्व महासचिव दीपेन्द्र श्रेष्ठले भने ‘थोरै रकम ट्रान्सफर गर्दा समेत सरकारले लगाएको करले गर्दा डिजिटल कारोबार महँगो मान्न थालिएको छ ।‘ सामाजिक सञ्जालहरूमा देखिएका टिप्पणीहरूमा भनिएको छ ‘दशैंमा १० रुपैयाँ दक्षिणा दिँदा ११ रुपैयाँ ३० पैसा लाग्ने कर लाग्ने ?’

उद्योग वाणिज्य सङ्घ सुनसरीका अध्यक्ष विजय श्रेष्ठ नयाँ नोट दशैंमा सबैको आकर्षण भए पनि व्यापारमा यसको कुनै भूमिका नहुने बताउँदै भने ‘डिजिटल कारोबार व्यापारीकालागि रामो हो ।’ तर डिजिटल कारोबार चैँ निःशुल्क बनाउनु पर्नेमा उनले जोड दिए ।

यातायात व्यवसायी महासङ्घका कोशी प्रदेश संयोजक सरोज श्रेष्ठले दशैंमा दक्षिणा पनि डिजिटल माध्यममा गर्नु भन्ने सरकारले जनतालाई उत्साहित गरेको हो कि निरुत्साहित नबुझिएको बताउँदै भने ‘जताबाट पनि कर र भ्याट उठाउनुपर्ने नियम राखेर जनतालाई अन्याय गरेको छ ।’

डिजिटल दक्षिणाको चर्चाका बिच राष्ट्र बैङ्कले दशैँमा नयाँ नोट जारी नगर्नुको कारण छोटो अवधिमै पुरानो भएर राष्ट्र बैङ्कमै फर्किने हुँदा यसले खर्च बढाएको जनाएको छ । तर नयाँ नोट सटहीमा रोक लगाइए पनि पुरानै सुकिला नोट भने साट्न सकिने यसले नोट छपाइ, ढुवानी, नोट ‘सर्टिङ’ र काम नलाग्ने अवस्थाका नोट जलाउनेसम्मको खर्चमा कटौती हुने बताएको छ ।