धरान : स्थानीय तहमा निवार्चित भएपछि गत बर्ष असोज ४ गते धरान उपमहानगरपालिकाकी उपप्रमुखको नेतृत्वमा धरानमा मासु पसलहरुको अनुगमन भएको थियो । दशैं आउनुअघि अनुगमन गरेपछि सरोकारवाला निकाय एक बर्षसम्म चुपचाप बस्यो ।
अहिले फेरी दशैं आउन लागेको छ । बिहिबार पुनः उपमहानगरपालिकाअन्र्तगतको अनुगमन समिति गत बर्षकै मासु पसलहरुको अनुगमनमा निस्कियो । ठ्याक्कै एक बर्षपछि अनुगमनमा पुग्दा पनि न मासु पसलहरुमा कुनै सुधार भएको थियो, न आवश्यक इजाजत पत्र नै लिएको भेटियो । बिहिबार एक दर्जन मासु पसल अनुगमन गर्दा कुनै पनि मापदण्ड पुरा गरेर सञ्चालन गरेको भेटिएन । केही दिन अघि धरान उपमहानगरपालिकाले २ लाख रुपैया खर्च गरेर ९ चरणको तालिम धरानका मासु व्यावसायीहरुलाई दिएको थियो । उक्त तालिमको प्रतिफल पनि अनुगमन गर्दा भेटिएन ।

IMG_20181004_075449 copy


अनुगमन समितिकै सदस्यहरु एक दिन अनुगमन गरेर बर्षदिनसम्म निदाएर बस्ने गरेकोले मापदण्ड कडाईका साथ पालना नहुदा पनि कारबाही नभएको भन्दै बेखुस छन् । ‘गत बर्ष पनि अनुगमन गरेकै हो, त्यतिबेला जस्तो पसल थियो, अहिले पनि त्यस्तै अवस्थामा छ,’उपभोक्ता हित संरक्षण मञ्चका क्षेत्रीय उपाध्यक्ष विष्णु ताम्राकारले भने,‘आज पनि अनुगमन गरियो, अब गत बर्षको जस्तै चुपचाप बस्ने हो र निर्देशन पालना भयो, भएन नहेर्ने हो भने केही हुन्न ।’
धरानका मासु पसलहरुले मापदण्ड पालना नगरेको मात्र होइन, कानुनमा व्यवस्था भएअनुसारको निकायबाट इजाजत पत्र पनि कुनै पनि पसलले लिएको भेटिएन । अनुगमन अधिकृत भेषराज घिमिरेका अनुसार मेडिकल पसल खोल्नुअघि औषधी व्यवस्था विभागबाट इजाजत पत्र लिनुपरे जस्तै पशु वधशाला तथा मासु जाच ऐन २०५५ र नियमावली २०५७ ले मासु पसल खोल्न अनिवार्यरुपमा जिल्ला पशुसेवा कार्यालयबाट इजाजत पत्र लिनुपर्ने कानुनी व्यवस्था गरेको छ । तर, धरानका कुनै पनि पसलले यो इजाजत पत्र लिएको छैन । थोरै व्यावसायीले मात्र धरान उपमहानगरपालिकामा व्यवसाय दर्ता गरेको भेटिएको उनले बताए ।

IMG_20181004_080739


मासु पसलहरुमा मासुलाई अनिवार्यरुपमा सिसाले कभर गरेर राख्नु पर्नेमा खुल्लमखुल्ला बिक्री गरेर उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेको भेटिएको थियो । गत बर्ष अनुगमन गर्दा पनि यस्तै अवस्थमा भेटेको अनुगमन समितिले सिसाभित्र राख्न दिएको निर्देशन पनि पालना भएको भेटिएन । सडकको धुलो र फोहोर ड्रेनको दुर्घन्धले मासुमा हानिकारक ब्याक्टेरिया पर्ने र यसले मासुलाई अखाद्य, गुणस्तरहिन बनाउने गर्छ । यस्तै, कुनै पनि पसलमा मासुको मुल्य सुची पनि थिएन भने डिप फ्रिजमा राखेर मात्र मासु बिक्री गर्नुपर्नेमा कतिपयले डिप फ्रिज पनि नराखेको भेटिएको थियो ।
मासु पसलको सरसफाईमा पनि ध्यान दिइएको छैन । व्यवस्थित वधशालाको पनि अभाव देखिएको अनुगमन समितिले जनाएको छ । जसले गर्दा फोहोरको व्यवस्थापन राम्रो भएको छैन । एउटा मासु पसलमा त भित्रै कुखुराको वध गरेर अत्यन्तै फोहोर र अव्यवस्थितरुपमा सफाई गर्दै गरेको भेटिएको थियो । ‘यो प्रारम्भिक चरणको अनुगमन हो, लिखितरुपमा सुझाव र निर्देशन दिएका छौं, सुधार नगरेको भेटिए कारबाही गछौं,’अनुगमन अधिकृत घिमिरेले भने । अनुगमन समितिले धरान ३ स्थित सदन रोड र वडा नं ७ बुद्धमार्गस्थित राम मिनि मार्केटमा अनुगमन गरेको थियो ।