धरान : धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले लिखित रूपमा कार्यवाहक नगर प्रमुखको जिम्मेवारी वडा ११ का अध्यक्ष लोकेन्द्र फागोलाई दिएर विदेश गएका छन् ।

उनी हिँडेपछि उनले दिएको लिखित जिम्मेवारीमा कार्यवाहकको अधिकार खोस्न खोजिएको विषयमा प्रश्न उठिरहेको बेला स्थानीय सरकार सञ्चालन ऐन अनुसार प्रमुखको अनुपस्थितिमा उपप्रमुख कार्यवाहक हुने उपप्रमुख अइन्द्रविक्रम बेघाले दाबी गरेका छन् ।

आज मङ्गलवार पत्रकार सम्मेलन गर्दै बेघाले प्रमुख साम्पाङले कार्यवाहक जिम्मेवारी दिने प्रक्रिया स्थानीय सरकार सञ्चालन ऐन विपरीत कार्य भएकाले नेपाल नगरपालिका सङ्घले उच्च अदालतमा रिट दायर गर्न निर्देशन समेत दिएको बताए ।

उनले भने ‘स्थानीय सरकार सञ्चालन ऐन दफा १६ ,उपदफा ४ (क) को  (१२) बमोजिम धरान उपमहानगरपालिकाको कार्यवाहक प्रमुख म हुँ ।’

आफ्नो कार्यकक्षमा भएको पत्रकार सम्मेलनमा उपप्रमुख बेघाले नगर प्रमुख साम्पाङले कुन दफा र उपदफा बमोजिम कार्यवाहक दिए, त्यो आफूलाई थाहा नभएको बताउँदै कानुननतः कार्यवाहक प्रमुख आफू भएको बताएका हुन ।

उनले भने ‘मेयर साब उपमहानगरपालिका नआइन्जेल विधि र कानुन अनुसार सम्पूर्ण कार्यभार म आफै सम्हाल्ने छु ।’

बेघाले कानुनी राज्यको पालना गर्दै आफूले नगरपालिका सङ्घको ढोका ढ्क्याएको बताए । उनले चाडै कानुनी उपचारको खोजी प्रक्रियामा जाने बताउँदै प्रक्रियामा गएपछि पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने बताए ।

उनका अनुसार नेपालको संविधान २०७४ को भाग १७ को स्थानीय कार्यपालिका गठन सम्बन्धी धारा २१४ देखि २३० सम्म व्यवस्था भए बमोजिम स्थानीय सरकार गठन भएकोले कानुनतः गाउँपालिका र नगरपालिकामा अनुपस्थित भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने, अध्यक्ष वा प्रमुखको अनुपस्थितिमा  उपप्रमुखले कार्यभार सम्हाले प्रस्ट लेखिएको छ ।

उपप्रमुख बेघाले भने ‘नैतिकता र कानुनी प्रश्नले सिङ्गो संस्थालाई विवादित बनाएको छ ।’ यसले सिङ्गो उपमहानगरपालिका र नगरवासीलाई समेत हित नगरेको उनको भनाई छ । 

विधिको शासन कायम गर्न २० वटै वडाका वडाध्यक्ष र कार्यपालिका सदस्य सहित प्रशासकीय अधिकृत र सबै महाशाखा प्रमुखहरूलाई अनुरोधपत्र पठाइएको उनले जानकारी दिए ।

मेयरको कार्य प्रक्रिया कानुन विपरीत : नगरपालिका सङ्घ अध्यक्ष

यसै बिच उपप्रमुख बेघाले नेपाल नगरपालिका सङ्घमा कार्यवाहकको अधिकारको बारेमा शिकायत गरेका छन् । सङ्घका अध्यक्ष भीम ढुङ्गानाले कार्यवाहकको सम्बन्धमा मेयरको कार्य  कानुन विपरीत भएको बताए ।

अध्यक्ष ढुङ्गानाले कपुरीको जिज्ञासामा भने ‘स्थानीय सरकार सञ्चालन ऐन विपरीत कार्य भएकाले उपमेयर बेघालाई उच्च अदालतमा रिट दायर गर्न निर्देशन दिइएको छ ।’

उपप्रमुख बेघा अदालत गएमा गाउँपालिका, नगरपालिकाले स्थानीय सरकार सञ्चालनमा कार्यवाहकको विषयमा नजिर बसेर ऐन कार्यविधि अनुसार सञ्चालित हुने उनको भनाई छ ।

उपप्रमुख बेघाले तत्काल कानुनी मान्यता विपरीत भएको गलत कार्यलाई तत्काल रोक्न कानुनी कारबाहीमा जानुपर्ने बताए ।

अध्यक्ष ढुङ्गानाले सङ्घको तर्फबाट नगर प्रमुख साम्पाङलाई फोन सम्पर्क गरी कानुन विपरीत कार्य नगर्न आग्रह गर्दै तत्काल सच्याउँदै कानुन अनुसार जान आग्रह गरेको बताए । उनले भने ‘नसच्याए सङ्घ समेत कानुनी प्रक्रियामा जान्छ ।’

Begha-letterharkasampang-kaba