धरान : धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख वडा ११ का अध्यक्ष लोकेन्द्र फागोले प्रमुख हर्क साम्पाङले उनको कार्यकक्ष रुङ्न मात्र आफूलाई कार्यवाहकको जिम्मेवारी दिएको जस्तो लागेको बताएका छन् ।

नियमानुसार कार्यवाहकले गर्न पाउने कार्य समेत नपाउने गरी बुँदागत रूपमा यो यो कार्य गर्न नपाउने भनी प्रमुख हर्क साम्पाङले दिएको पत्र सार्वजनिक भएपछि उनले कपुरी न्यूजको जिज्ञासामा उक्त कुरा बताएका हुन ।

कार्यवाहक नगर प्रमुख फागेले भने ‘मेयरको कार्य कक्ष रुङ्न मात्र कार्यवाहक दिएको हुन सक्छ ।’ लिखित प्रत्यायोजन गरेको अधिकारको विषयमा अहिले धेरै नबोल्ने बताउँदै भने ‘पछि विस्तृत रूपमा भनौँला ।’

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले स्थानीय सरकार सञ्चालन ऐन कार्य विभाजन र कार्यसम्पादन ऐनको नगर प्रमुख कार्य विभाजन तथा कार्य सम्पादन ऐनको दफा १२ लाई उल्लङ्घन गर्दै कार्यवाहकको जिम्मेवारी दिएका हुन ।

उपमेयर हुँदा हुँदै वडा अध्यक्ष लोकेन्द्र फागोलाई दिएको कार्यवाहकको जिम्मेवारमा पनि कार्यवाहकले गर्न पाउने अधिकारमा पनि उनले बन्देज लगाएका छन् । असोज २८ गत सोमबार देखि लागु हुने गरी विना अवधि कार्यवाहक तोकेका छन् ।

नगर प्रमुखको अनुपस्थितिमा आकस्मिक आपत्काल आइलागे, प्राकृतिक प्रकोप भएको खण्डमा कार्यवाहकले उपमहानगरपालिको कार्यपालिका बैठक बोलाएर कुनै निर्णय गर्न नपाउने तोकेरै पत्रमा लेखिएको छ ।

कार्यवाहक प्रमुख फागोलाई दिइएको पत्रको बुँदा नं २ मा लेखिएको छ ‘कार्यपालिकाको बैठक बोलाउन/बसाउन नपाउने ।’

प्रमुख साम्पाङले उपमहानगरपालिबाट घर खर्च चलाउन अधिकार दिए जस्तो दैनिक ५ हजारको आर्थिक कारोबारको गर्न मात्र जिम्मा दिएको सामाजिक सञ्जालमा टिप्पणी गरिएका छन् ।

अधिकार प्रत्यायोजन गरेको पत्रमा प्रमुख साम्पाङले असोज २८ गते देखि म नगर प्रमुख युकेबाट नआउन्जेल सम्मका लागि तपाईँलाई तपसिल बमोजिमका सर्तमा सामान्य रेखदेख र निर्देशनको अधिकार प्रत्यायोजन गर्दछु भनिएको छ ।

आर्थिक सहयोग एक दिनको ५ हजार रुपैयाँ मात्र अधिकतम गर्ने, कार्यपालिका बैठक बोलाउन नपाउने नबसाउने, दश दलले तोडफोड गरेको गेट र नगरपालिकाको बोर्ड छानबिन र अनुसन्धानको प्रक्रियामा रहेकोले जस्तो छ त्यस्तै राख्ने समेत निर्देशन गरेका छन् ।

नगर सभाले पास गरेर रेड बुकमा प्रकाशित बजेटका कुनै पनि योजनाहरू स्वीकृत नगर्ने समेत सर्त नगर प्रमुख साम्पाङले कार्यवाहक प्रमुख फोगोसंग गराएका छन् ।

कसैको सिफारिसमा करार तथा ज्यालादारीमा कर्मचारी नथप्ने साथै सरुवा बढुवा नगर्ने जस्ता कुरा पनि सर्तमा लेखेका छन् ।

harkasampang-kabalatter-of-kaba-mayor 1