इटहरी : एक व्यापारीलाई बलात्कार मुद्दामा फसाउने योजनामा संलग्न रहेको आरोपमा सुनसरीका पूर्व प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कमल थापा संलग्न रहेको पाइएको छ । ७ असोजमा बलात्कार प्रकरणका मुख्य योजनाकार ताज स्लाम र एसपी थापाबिच एक पटक फोनमा कुराकानी भएको अनुसन्धानबाट खुलेको हो ।

बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख दिन सहमत गराएको र २० लाख रुपैयाँ बुझेको दिन एसपी थापा र ताज स्लामबीच भेटघाट भएको सिसिटिभी फुटेज प्रहरीले फेला पारेको छ । दुई जना बिच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिको एक रेष्टुरेन्ष्टमा ७ असोजको साँझ साढे ६ बजे भेट भएको र करिब आधा घण्टा भेटघाट भएको पाइएको छ । 

बलात्कार प्रकरणमा मुछिएपछि एसपी थापा प्रहरी प्रधान कार्यालयले हेडक्वार्टर तानेको छ । अहिले प्रहरी प्रधान कार्यालयकै उजुरी तथा छानबिन शाखाले एसपी थापामाथि छानबिन गरिरहेको छ । 

सोही प्रकरणमा मुछिएका चार जना ललितपुर जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । आपराधिक लाभ र सङ्गठित अपराध मुद्दामा संलग्न रहेको आरोपमा गत असोज ९ गते उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ परेका प्रहरी प्रभाग भैंसेपाटीका सहायक हवल्दार महेन्द्र हमाल, सुनसरी इटहरीकी सुष्मा विक, ताज स्लाम र भीमादेवी थापामाथि प्रहरीले अनुसन्धान अगाडी बढाएको छ । प्रभाग भैंसेपाटीकी तत्कालीन इन्स्पेक्टर बिनुकुमारी शाही र इटहरीका दर्शन पोखरेल भने फरार छन् ।

पक्राउ परेकी सुष्मा विक व्यवसायीलाई फसाउन प्रयोग भएकी युवती हुन् । जसको मुख्य योजनाकार ताज स्लाम रहेको प्रहरीले जनाएको छ । यसअघि सुनसरीको प्रहरी प्रमुख रहेका एसपी थापासँग ताजको सम्बन्ध रहेकाले उनकै सिफारिसमा भैसेपाटीमा पुगेर प्रक्रिया अगाडी बढाइएको पाइएको छ । 

हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा कार्यरत छन् । सुनसरी पछि एसपी थापा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रमुख भएका थिए । त्यही बेला इन्स्पेक्टर बिनुकुमारी शाही पनि कञ्चनपुरमै कार्यरत रहेकाले दुई बिच राम्रो सम्बन्ध रहेको अनुसन्धानबाट खुलेको छ । 

घटनाबारे छानबिन गर्न प्रहरी परिसर ललितपुरले डिएसपी नरहरि अधिकारीको नेतृत्वमा समिति गठन गरेको थियो । समितिले सोही प्रकरणका मुख्य योजनाकार ताज स्लामको मोबाइल र १० लाख रुपैयाँको चेक इन्स्पेक्टर शाहीले नै गायब पारेको बताएको छ । 

व्यापारीलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै सुरुमा ६० लाख रुपैयाँ माग भएको र पछि ३० लाख रुपैयाँ दिने सहमति भएपछि कुरा मिलेको अनुसन्धानबाट खुलेको हो । जसमध्ये १३ लाख र ७ लाख गरी दुई किस्तामा भीमाकुमारीको खातामा २० लाख रुपैयाँ रकम जम्मा भएको पाइएको छ । बाकी १० लाखको भने व्यापारीले चेक दिएका थिए । १० लाखको चेक र स्लामको मोबाइल भने इन्स्पेक्टर शाहीले गायब बनाएकी थिइन् ।