विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्राविधिक शिक्षालयहरू स्पष्ट रणनीति र कार्यनीतिको अभावमा पछिल्ला दिनमा ताला लगाउनु पर्ने अवस्थामा सिर्जना भएकोमा चिन्ता प्रकट गरेका छन् ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले सञ्चालन गर्दै आएका शिक्षलयहरुमा विद्यार्थीको अभावका कारण त्यस्तो अवस्था आएको बताउँदै उनले भने ‘परिषद्को तालिमले स्वदेश तथा विदेशका लागि धानीरहेको दक्ष जनशक्ति उत्पादनको यस्तो अवस्था चिन्ताको विषय हो ।’
मुख्यमन्त्रीले परिषद्को पुनर्संरचना सम्बन्धी उच्चस्तरीय कार्य टोलीद्वारा सोमबार आयोजित परिषद्को पुनसंचरना सम्बन्धी अन्तरक्रियामा उक्त धारणा व्यक्त गरेका हुन ।
उनले भने ‘तीन तहको सरकार बिचमा समन्वय हुने गरी आगामी ५० वर्षको लक्ष्य लिएर सोही अनुसार परिषद् पुनर्संरचना गर्नुपर्ने आवश्यकता छ ।’ विद्यालय तथा विश्वविद्यालय तहको शिक्षाभन्दा फरक किसिमले सिटीईभिटीले कार्यक्रम परिषद्ले ल्याउनु पर्ने उनको भनाई थियो ।
परिषद्ले रणनीति बनाउँदा प्रदेशको धार्मिक पर्यटनबाट दुई छिमेकी मुलुकका पर्यटकहरूको आवागमन वृद्धि भई विदेशी मुद्रा आर्जन गर्न सक्ने हुनाले त्यस सम्बन्धी जनशक्ति उत्पादन गर्ने तालिमको पाठ्यक्रम तर्जुमा गर्नु पर्ने सुझाव मुख्यमन्त्री कार्कीले दिए ।
उनले भने ‘प्रदेश सरकारले १२ कक्षा उत्तीर्ण विद्यार्थीहरूलाई छ महिनाको सूचना प्रविधिको तालिम, ल्यापटप उपलब्ध गराई स्वरोजगार बनाउने कार्यक्रम अघि बढाएको छ ।’
विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले स्थानीय पालिकासँग समन्वय कायम गरी परिषदलाई तालीम कार्यक्रम सञ्चालन गर्न सुझाव दिए । नेपाल नगरपालिका सङ्घ कोशीका अध्यक्ष दिलप्रसाद राई र दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले प्राविधिक शिक्षालाई श्रम र उद्योग मन्त्रालयसँग जोड्न आग्रह गरे ।
परिषद्का सदस्य सचिव इन्जिनियर मोहन भट्टराईले व्यावसायिक शिक्षाको विस्तार उद्योग वृद्धिको आधारमा हुनु जरुरी रहेको बताए ।
प्रदेश योजना आयोगका उपाध्यक्ष डा. राजेन्द्र अधिकारीले परिषद्को विकेन्द्रीकरण गरी प्रदेश सरकारको नेतृत्वमा परिषद् सञ्चालन गरेमा सङ्घीयताको सफल कार्यान्वयन हुने सुझाव दिए ।
प्राविधिक परिषद् पुनर्संरचना उच्चस्तरीय कार्य टोली संयोजक गीता पौडेल अधिकारीले प्रदेशमा प्राविधिक र व्यावसायिक तालीमको स्तरवद्धि गर्न नागरिक शिक्षा, वैज्ञानिक, रोजगार मुलुकका लागि दक्ष जनशक्ति तयार गर्ने आवश्यक सुझाव सङ्कलन गर्ने कार्यक्रमको उद्देश्य रहेको बताइन् ।
प्रदेशमा परिषद्को आङ्गिक ७, सरकारी १५ र ५४ बटा निजी प्राविधिक शिक्षालय सञ्चालनमा छन ।