धरान : काठमाडौँ विश्वविद्यालय(केयु)ले आदिवासी जातिका विषयमा सञ्चालन गर्दै आएको १ वर्षे स्नातकोत्तर तहको शैक्षिक कार्यक्रमलाई २ वर्षे पाठ्यक्रममा विस्तार गरिने भएको छ ।
केयुव्दारा आदिवासी शिक्षा र विकास सम्बन्धी पाठ्यक्रम विस्तारका लागि सरोकारवाला प्राज्ञिक क्षेत्रका अगुवाहरूसँग आज बिहीबार बिहान होटेल पूर्वी स्टारमा छलफल ग¥यो ।
विश्वविद्यालयका सहप्राध्यापक डा.इन्द्रमणि राई हायुले भने ‘एसियामै पहिलो पटक आदिवासीको विषयमा काठमाडौँ विश्वविद्यालयले स्नातकोत्तर शैक्षिक कार्यक्रम सुरु गरेको हो ।’
विश्वव्यापी अध्ययनको विषय भएकोले पछिल्लो समय नेपालका आदिवासीबारे पढाई गर्न गैर आदिवासीमा चासो बढेको बताउँदै उनले हाल १ वर्षे कोर्समा ४ गैरआदिवसी र १ जना विदेशी विद्यार्थी रहेको जानकारी दिए ।
उनले भने ‘तर १ वर्षे पाठ्यक्रममा सीमित विषय मात्र हुने भएकोले विश्वविद्यालय यसलाई २ वर्षे कोर्समा विस्तार गर्ने तयारीमा लागेको छ ।’ उच्च शिक्षा हासिल गरेका आदिवासी पुस्ताका लागि पनि केयुमा पढाई हुँदै आएको विषय उपयोगी हुने उनको भनाई छ ।
सह प्रा.डा. राईले विश्वमा प्रचलित दिगो विकासका सिद्धान्तलाई हेर्ने आदिवासी दृष्टिकोण बनाउन जरुरी भएको बताउँदै भने ‘सामाजिक सांस्कृतिक चेतना विकास भए पनि नेपालका आदिवासी प्राज्ञिक क्षेत्रमा समालोचनात्मक चेतको विकाश भैसकेको छैन ।’
ऐतिहासिक काल देखी अन्यायमा परिएका विषयप्रति नयाँ दृष्टिकोण निर्माण गर्न नयाँ पुस्ताका आदिवासी प्राज्ञिक क्षेत्रका लागि विश्वविद्यालयले आदिवासी शिक्षा तथा विकाश सम्बन्धी औपचारिक पाठ्यक्रम सुरुआत गरेको उनले बताए ।
डा.इन्द्रमणिले भने ‘आदिवासीका बारेमा पढ्ने विद्यार्थीको मात्र होइन पढाउने प्राज्ञिक जनशक्तिको पनि अभाव छ ।’ शिक्षा र सामाजिक चेतनामा अगाडि देखिएको पूर्वका प्राज्ञिक वर्गबाट पाठ्यक्रम विस्तार र नयाँ पुस्ताका विद्यार्थी जुटाउन सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।
छलफलमा सहभागी धरानका प्राज्ञिक वर्ग, प्राध्यापक, बुद्धिजीवीहरूले आदिवासी शिक्षा बारे पहिलो पटक काठमार्डां विश्वविद्यालयले सञ्चालन गरेको शैक्षिक कार्यक्रमको स्थायित्व, विस्तार र पाठ्यक्रममा समेटिनु पर्ने विषयहरूका बारेमा सुझाव दिएका थिए ।
विश्वविद्यालयकी आदिवासी स्नातकोत्तर शिक्षा कार्यक्रम संयोजक सह प्रा.डा.लुना गुरुङले नयाँ शैक्षिक सत्रका बारेमा जानकारी दिइन् । उनका अनुसार सन् २०२६ देखी आदिवासी शिक्षा तथा विकाशको स्नातकोत्तर कक्षामा २ वर्षे पाठ्यक्रम लागु गर्ने तयारी भइरहेको छ ।
नयाँ शैक्षिक सत्र २०८२ को लागि १ वर्षे कोषको लागि भर्ना खुला गरिएको छ । भर्ना हुनका लागि आवश्यक न्यूनतम योग्यता मान्यता प्राप्त कुनै पनि विश्वविद्यालयबाट स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने छ ।
कक्षाहरू मिश्रित (ब्लेण्डेड) मोडबाट सञ्चालन हुनेछन् । कोर्स अवधिभर कम्तीमा २ देखी ३ हप्ता काठमाडौँ हत्तिवन स्थित स्कुल अफ एजुकेशनको भवनमा उपस्थित भई अध्ययन गर्नु पर्नेछ । आवेदन फर्म काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनको वेबसाइटमा उपलब्ध रहको बताइएको छ ।
छलफल कार्यक्रम आदिवासी जनजाति महासङ्घ सुनसरीको आयोजनामा भएको हो । महासङ्घका अध्यक्ष राम माण्डूपा राईले छलफलका विषयमा प्रकाश पारेका थिए । पूर्व अध्यक्ष सुजेन्द्र तामाङले स्वागत भाषण गरेका थिए ।