इटहरी : इटहरी उद्योग वाणिज्य सङ्घमा सदस्यता नवीकरणलाई लिएर विरोध सुरु भएको छ ।
सदस्यता नवीकरण जारी रहेको बेला कार्यसमितिको बैठकमा शुल्क घटाउने प्रस्ताव आएको र माइन्युट नगरी कार्यान्वयन गरिएको भन्दै एमाले निकट व्यवसायीले आपत्ति जनाएका हुन् । 
आन्तरिक राजस्व कार्यालयले कर नतिर्ने व्यवसायीलाई नवीकरण नगराउन दिएको निर्देशन विपरीत अध्यक्ष जीवन पराजुलीले एकलौटी गरेको उनीहरूको आरोप छ ।
कर नतिर्ने व्यवसायीहरूलाई अनियमित रूपमा सदस्यता दिइएको भन्दै कार्यसमिति एमाले सम्बद्ध सदस्यहरू विरोधमा उत्रिएका छन् ।वर्तमान कार्यसमितिकै सदस्यहरूले विज्ञप्ति जारिगर्दै घटाएर लागु भएको नवीकरण शुल्क मान्य नहुने चेतावनी दिएका छन् ।
लोकतान्त्रिक मूल्य, पारदर्शिता र कानुनी शासनको उल्लङ्घन गरेको आरोप लगाउँदै कर तिर्ने र नतिर्ने व्यवसायीलाई एउटै स्थानमा राखेर अपमान गरेको बताइएको छ ।
कर नतिर्ने, व्यवसाय बन्द भइसकेका तथा गैर व्यवसायीक व्यक्तिहरूलाई पनि मनोमानी तवरले सदस्यता नवीकरण गराइएको उनीहरुकोमा उनीहरूले आपत्ति जनाए । 
कर नतिर्ने र मापदण्ड नपुगेका व्यवसायीको सदस्यता खारेज हुनुपर्ने उल्लेख गर्दै सङ्घको कार्यसमिति बैठक तुरुन्त बोलाई कानुन बमोजिम निष्पक्ष निर्णय गर्न आग्रह गरे ।
विधानमा व्यवस्था भए अनुसार नयाँ तथा नवीकरण शुल्क तोक्ने जिम्मेवारी साधारण सभाको भएकाले सोही अनुसार गर्न पनि विज्ञप्तिमा भनिएको छ ।विधानमा कर चुक्ता प्रमाणपत्र लिएर नवीकरण गर्ने प्रावधान भएकाले विधान अनुसार नै गरिएको अध्यक्ष पराजुलि बताउँछन् ।
व्यवसायीलाई छुट लिएको विषयमा कसैले राजनीति गर्न नहुने उनको भनाइ छ ।