वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा ५ स्थित कालाबञ्जरमा रहेको जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिको माईन्युट च्यातिएको घटना थप उग्र र रहस्यमय बन्दै गएको छ ।
विद्यालयमा भएको आर्थिक अनियमिततालाई लुकाउन विद्यालयका प्रधानाध्यापक योगराज पौडेलले शिक्षक चेतनाथ भट्टराईसँगको सहयोग र डिजाइनमा माईन्युट च्यातेको आरोप मलाई लगाएको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्कल पराजुलीले खुलासा गरेका छन् ।
विद्यालयका प्रधानाध्यापक योगराज पौडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्कल पराजुलीको राजिनामालाई प्रमुख मौखिक माग सहित माईन्युट विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष पराजुलीले च्यातेको भन्दै नगरपालिका, प्रहरी कार्यालय , जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् ।
विगतका बर्सहरूमा विद्यालयको व्यवस्थापन समितिको निर्णय बिना नै दीर्घकालीन महत्त्व र आर्थिक भार हुने किसिमका गतिविधिहरू विद्यालय प्रशासनबाट भएको र यस कार्य लुकाउन प्रधानाध्यापक योगराज पौडेलले माईन्युट च्यातेको घटना योजनाबद्ध रूपमा अगाडि सारेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहित बहुमत सदस्यहरूको भनाई रहेको छ ।
विद्यालय प्रशासनले आफू अनुकूलका शिक्षकहरूलाई तलब बाहेक अनियमित र अवैधानिक रूपमा सुविधाहरूको व्यवस्था ,शैक्षिक सामाग्रीहरूको खरिदमा मनपरी, विद्यालयको व्यावसायिक सटरमा रहेका व्यवसायीहरुवाट सङ्कलन गरेको धरौटी रकम,विद्यालय व्यवस्थापन समितिबाट अनुमोदन र अध्यक्षको हस्ताक्षर बिना नै विद्यालय प्रशासनले वार्षिक आर्थिक प्रतिवेदन नगरपालिकामा बुझाउने जस्ता घटनाहरूलाई लुकाउन माईन्युट च्यातेको झुटो आरोप  प्रधानाध्यापक पौडेलले लगाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पराजुलीले बताए ।
पराजुली भन्छन् असार २५ गते बसेको मिटिङको निर्णय माईन्युटलाई मैले च्यातेको भनी सुनियोजित ढङ्गमा आधारहीन बदनाम गराएको आरोप लगाएका छन् ।
उनले विद्यालयको प्रधानाध्यापक योगराज पौडेल, शिक्षक चेतनाथ भट्टराई लगायतको समूहले विद्यालयको आन्तरिक कुरालाई मिडियावाजी गरेको र सो  विषयलाई नगरपालिका र प्रहरीमा उजुरी गरेर आफ्नो सामाजिक बेइज्जत गरेको पराजुलीले  बताए ।
विद्यालय व्यवस्थापन समितिका सदस्य सचिव समेत रहेका प्रधानाध्यापक योगराज पौडेलले आफूले गर्दै गरेको कुरालाई नियतवश राजनीतिक गरेर आफ्नो मान हानी गराएको बताए ।
विद्यालयमा सटर भाडा बापतको धरौटीको रकम, शिक्षकको तलब भत्ता, आर्थिक वर्ष २०७९/८०को अडिट रिपोर्ट लगायत धेरै बेतिथिहरूको फेहरिस्त लामो रहेको पराजुलीले बताए।
यस्तै प्रशासनले आफू अनुकूल मात्र निर्णय गर्ने गरेको भन्दै  विद्यालयको कमीकमजोरी र गरिएको एकलौटी निर्णयका प्रमाणहरू  आफू सँग सुरक्षित समेत रहेको र आवश्यक समयमा देखाउन सक्ने  दाबी  पराजुलीले  गरे ।
विद्यालयको कुरालाई व्यक्तिगत बनाएर प्रशासनले 'तेरो छोरा समेत यही विद्यालयमा पढ्छ, त्यसको कसम खा, तामा तुलसी गर', जस्तो तल्लो स्तरमा झरेर हप्की दप्की गरिएको उनले बताए ।
विद्यालय व्यवस्थापन समितिको माईन्युट च्यातिएको घटनालाई अगाडि सारेर प्रधानाध्यापक योगराज पौडेलले व्यवस्थापन समितिका अध्यक्ष पराजुलीको राजिनामको माग गरेका छन् । उनले अध्यक्ष पराजुलीले गुन्डागर्दी शैलीमा निर्णय च्यातेको आरोप लगाउँदै राजनिती गरेको आरोप लगाए ।
विद्यालय व्यवस्थापन समिति र प्रशासन बिचको विवादले अहिले वराहक्षेत्र नगरपालिकाको राजनिती तताएको छ । जसले गर्दा विद्यार्थीको पठनपाठन मा असर पर्ने देखिन्छ  ।
विद्यालयको सो विवादमा  अप्रत्यक्ष रूपमा नगरको दुई प्रमुख राजनीतिक दलको अस्वाभाविक चासो र दौडधुपले समस्या समाधान भन्दा विवाद जटिल हुने  देखिन्छ । यसले जडेजको भविष्य र समग्र वराहक्षेत्रको शिक्षा क्षेत्र माथि असर पर्ने देखिन्छ । शैक्षिक क्षेत्रलाई थप विवादित र घटना थप नबनाउन स्थानीयहरूले सामाजिक सञ्जाल मार्फत आग्रह गरी रहेका छन् ।