धरान । खेलकुदको सहरकोरुपमा पनि परिचित छ धरान । यहाँ फुटबल, बास्केटवल, उसु, कराते, गल्फ, ब्याडमिन्टनजस्ता थुप्रै खेल विधाका प्रशिक्षण र प्रतियोगिताहरु नियमित हुन्छ । यद्यपी, पुर्वाधारको अभाव भने यहाँका खेलाडीहरुले निरन्तर भोग्दै आएका छन् ।
धरान १६ स्थित एकमात्र रंगशाला पुनर्निमाण गर्न शुरु भएको झण्डै ८ बर्ष पुग्न लाग्यो, अझै पुर्णता पाउन सकेको छैन । रंगशाला समयमै पुरा नहुदा चर्चित बुढासुब्बा गोल्डकप लामो समय धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा आयोजना गर्नुपर्यो । पछिल्लो पटक पुर्वाञ्चलमा आयोजित राष्ट्रिय खेलकुद पनि रंगशालामा हुन सकेन । मैदान तयार नभएपनि बुढासुब्बा गोल्डकपको २० औं सँस्करण भने गत बर्ष रंगशालामा भएको थियो । जिल्ला खेलकुद विकास समितिको धरान १० स्थित एक मात्र कभर्ड हल छ, जहाँ सबै खेलहरुको प्रशिक्षण गराउन समय तालिका मिलाउनै हम्मे पर्छ ।
अहिले भने धरानमा खेलकुदको पुर्वाधारहरुले केही गति लिएको छ । रंगशालामा गत आर्थिक बर्षमा राखेपले उत्तर पश्चिममा २ वटा प्याराफिट ब्लक बनायो भने पुर्वमा एउटा प्याराफिटकोलागि जग तयार गरिसकेको छ । मैदानमा ८ लेनको ट्रयाक छोडेर फेन्सिङ गरिएको छ भने फुटबल मैदानमा सरदर ६ इञ्च माटो भरेर लेभल पनि मिलाइएको छ । अहिले भने धरान नगर खेलकुद विकास समितिले चालु आर्थिक बर्षको शुरुवातमा घाँस रोप्ने काम गरिरहेको छ । ‘यहाँको मास्टरप्लान अनुसारकै संरचनाहरु बनिरहेको छ, अहिलेसम्म ७ हजार हाराहारी दर्शक अट्ने क्षमताको प्याराफिट बनिसक्यो,’राखेपका साइट इञ्जिनियर केवल परियारले भने,‘फुटबल मैदान, ८ लेनको ट्रयाक राखेर फेन्सिङ गरेका छौं, अब यो बर्ष पुर्वपट्टिको प्याराफिट सकिन्छ ।’
राखेपले गत आर्थिक बर्षमा १ करोड ३९ लाखमा फेन्सिङ, मैदान सम्याउन र २ वटा प्याराफिट ब्लक बनाएको हो भने पुर्वपटि थप ४० लाखमा प्याराफिटको जग हालेको हो । राखेपले माटो भरेर लेभलिङ गरिदिएपछि अहिले नगर खेलकुद समितिले ५ लाख रुपैयामा मैदानमा घाँस रोपेको छ । बर्षामा मैदानमा घाँस रोप्नु उचित हुने भएकोले आर्थिक बर्षको शुरुवातमै काम गरिएको समितिका सदस्य एवं धरान फुटबल क्लबका महासचिव प्रताप तामाङले बताए । उनले भने,‘घाँस रोप्ने उपयुक्त समय अहिले नै हो, हामीले रोपिसक्यौं । अब बर्षा रोकिएपछि फेरी गोडमेल गछौं ।’ खेलकुद समितिको आर्थिक सहयोगमा क्लबको संयोजनमा घास रोपिएको हो । रामधुनी नगरपालिका ७ स्थित कुमारखत सामुदायिक वनबाट बिशेष प्रकारको घाँस ल्याएर रोपिएको हो । रंगशालामा मात्र होइन, स्थानीय तहमा खेलकुद समिति गठन भएपछि सामुदायिक विद्यालयहरुमा पनि धमाधम खेलकुद पुर्वाधार निर्माण भइरहेको छ । मेयर कप स्कुल ओलम्पिक आयोजना हँुदा सामुदायिक विद्यालयहरुको प्रर्दशन कमजोर भएको थियो । निजी विद्यालयहरुले खेलकुदमा पनि राम्रो लगानी गर्ने गर्छन् । जसअनुसार विद्यालयस्तरीय विभिन्न खेलकुद प्रतियोगिताहरुमा निजी विद्यालयहरुकै वर्चश्व हुने गर्छ । ‘विद्यालयस्तरबाटै खेलकुदको प्रतिभाहरु जन्मिउन् भन्ने उद्देश्यले गत आर्थिक बर्षमा पुर्वाधारहरुमा लगानी गरेका छौं, गत बर्ष मात्र पुर्वाधारमा ६० लाख लगानी गर्यौं,’नगर खेलकुद समितिका संयोजक सुवास राईले भने,‘अहिले सामुदायिक विद्यालयमा मात्र लगानी गरिएको हो, निजीमा पनि साझेदारीको अवधारणामा पुर्वाधारमा लगानी हुन्छ ।’
उनका अनुसार धरान २० स्थित भालढुंगा उमावि, धरान १३ स्ति सत्यसाई स्कुल, धरान ८ स्थित शहीद स्मृति मावि र ल्याबोटरी माविमा खेलकुदको पुर्वाधार निर्माण भएको छ । ती ४ वटा विद्यालयमा बास्केटवल, भलिवल, ब्याडमिन्टन र सेपाकताक्रोको कोर्ट बनाइएको छ । यस्तै, धरान ६ मा भलिवल र फुटबल मैदान, धरान १७ पाटनाली र धरान ११ मा भएको मैदानलाई स्तरोन्नती गरेर संरक्षण गरिएको समितिको भनाई छ । चालु आर्थिक बर्षमा पनि धरान १४ दन्तकाली मावि, धरान ११ ज्ञानोदय मावि र धरान ६ मा सरस्वती माविमा सेपाकताक्रो, बास्केवटल, भलिवल र ब्याडमिन्टन कोर्ट बनाउने संयोजक राईले बताए । ‘शारदा बालिकामा २ वटा भलिवल कोर्ट बनाउछौं, धरान १२ को पब्लिक उच्चमाविको मैदान, धरान ११ को सेतो गुराँसको खेल मैदान र धरान ४ पत्राङगबारीको मैदान स्तरोन्नती गछांै,’उनले योजनाबारे भने,‘धरान १७ उदय टोलमा आर्चरी खलको भवन बन्छ, गोर्खा स्मृति पार्कमा प्याराग्लाइडिङको टेकअफ निर्माण गर्नेछौं ।’
समितिले धरान १७ पटनालीको मैदानलाई लेभल मिलाउन पनि बजेट विनियोजन गरेको छ भने सामुदायिक विद्यालयहरुमा खेलकुद सामग्री वितरण गर्नेछ । यस्तै, भोलेन्टियर प्रशिक्षक पनि खटाउने समितिले जनाएको छ । भोलेन्टियर प्रशिक्षक र खेलकुद सामग्रीले पुर्वाधार भएको सामुदायिक विद्यालयहरुमा खेल प्रशिक्षण हुनेछ । जसले गर्दा मेयर स्कुल ओलम्पिकमा सामुदायिक विद्यालयहरुको प्रर्दशन गत बर्षको भन्दा सुधार हुने समितिको अपेक्षा छ ।
तस्बिर क्याप्सन : धरान १६ स्थित रंगशाला ।

IMG_4178 IMG_4311 khelkud purwadhar news_dharan, abasketball 7