उदयपुर: उदयपुरको पश्चिम पहाडी ताप्ली गाउँपालिका वडा नं ३ र ५ को सिमाक्षेत्रमा पर्ने खानीडाँडामा तामा र सिमेन्ट खानी फेला परेको छ । खानीडाँडा वडा नं ३ को इनामे र ५ को रुपाटारसँग जोडिएको छ ।

प्रारम्भिक अध्ययनको क्रममा सो स्थानमा खानी भएको तथ्य फेला परेको हो । स्थानीय गाउँलेका अनुसार सो स्थानमा करिब ४ दशक अघि नै परम्परागत प्रविधिबाट तामा प्रशोधनको काम हुन्थ्यो । सो स्थानबाट माना, पाथीजस्तो सामग्रीहरु बनाउने गरेको गाउँलेहरुको भनाई छ । त्यसबेला आगोमा गालेर तामाको माना, पाथीलगायत भाँडा बनाउने गरेको बुढापाकाहरु बताउँछन् ।

गाउँपालिका अध्यक्ष उद्धवसिंह थापाका अनुसार प्रारम्भिक अध्ययनबाट सो स्थानमा सिमेन्ट र तामा खानी भएको पुष्टि भएको जानकारी दिए । आधिकारिकरुपमा पुष्टि गर्नको लागि तामा र सिमेन्टको कच्चा पदार्थ परिक्षणको लागि खानी तथा भुगर्भ विभाग पठाइएको पनि उनले बताए । उहिले त्यसक्षेत्रमा बनेका माना, पाथी र बिभिन्न भाँडाकुँडा अहिले पनि गाउँघरमा प्रयोगमा रहेको छ । खानीडाँडा नामकरण रहनुको कारण पनि खानी भएर नै भएको उनले बताए । ‘खानीडाँडा नाम त्यहाँ खानी भएकैले राखिएको हो,’अध्यक्ष थापाले भने ।

खानीडाँडा क्षेत्रमा किटजस्तो कालो बस्तुको चट्टानी पहाड रहेको छ । त्यस्तो पदार्थ डाँडैभरि पाइएकोले ठूलो परिमाणको तामा खानी हुनसक्ने अध्यक्ष थापाको अनुमान छ । ताप्लीकै ५ वडास्थित ठानागाउँमा सिमेन्ट खानी भएको अनुमान छ । टाउकेडाँडाको चट्टान सबै सिमेन्टको चुनढुंगा हुनसक्ने अनुमान छ । अध्यक्ष थापाले गाउँपालिकाको बृहत गुरुयोजना निर्माण गरेर विज्ञ टोलीमार्फत दुवै ठाउँको ढुंगा–माटो परिक्षणको लागि पठाइएको जानकारी दिए । आधिकारिकरुपमा खानी भएको पुष्टि भएमा उत्खनन्का लागि थप प्रक्रिया अघि बढाउने उनले बताए ।