धरान: विकासे सानोतिनो काम गर्नलाई पनि सरकार वा दातृ निकायको मुख ताक्ने चलन छ । तर, धरानका भूपू ब्रिटिश गोर्खा लाहुरेहरुले भने सरकारी बजेटको आशा नगरी करोडौंको पर्यटकीय योजनालाई अघि बढाइरहेका छन् ।

पहिलो र दोस्रो विश्वयुद्धमा ज्यान गुमाएका ज्ञात तथा अज्ञात आफ्ना पुर्खा(गोर्खाली सेना)हरुको स्मृतिमा धरान उपमहानरपालिका वडा नं २० स्थित माछामारा(साविक विष्णुपादुका गाविस)मा भूपू लाहुरेहरुले ब्रिटिश गोर्खा स्मृति पार्क निर्माण गरिरहेका छन् । आफ्ना वीर गोर्खाली पुर्खाहरुको इतिहासलाई ज्यूँदो राख्ने उद्देश्यले पार्क निर्माण गरिरहेका छन् । यो पार्कले वीर गोर्खालीहरुको इतिहास मात्र बोल्दैन, धरानको पर्यटन विकासमा पनि महत्वपुर्णस्थल बन्ने अपेक्षा गरिएको छ ।

कुल १२ बिघा क्षेत्रफलमा फैलिएको पार्कमा गुरुयोजना अनुसार स्मृति स्तम्भ(स्मारक)को तयारी लगभग पुरा हुन लागेको छ । योसँगै चमेना गृह पनि बनिरहेको छ । कुल क्षेत्रफलमध्ये हाल २ कट्ठामा निर्माण कार्य भइरहेको छ । सम्भव भएसम्म आगामी नयाँ बर्षमा स्मारक पार्कको उद्घाटन गर्ने लक्ष्य राखिएको निर्माण समितिका संयोजक गजेन्द्र इस्पो बताउँछन् । ‘अबको २ महिनामा काम सकियो भने २०७६ बैशाखमा स्मारक पार्क उद्घाटन गर्ने लक्ष्य छ, काम चलिरहेको छ,’इस्पोले भने ।

IMG_9427

हालसम्म अढाई करोडको हराहारीमा लगानी भइसकेको छ । यो सबै सबै भूपू लाहुरे तथा तिनका परिवारजनबाट प्राप्त सहयोग हो । ‘यो सबै लगानी भुपु गोर्खा परिवारबाट भएको हो, सरकारी बजेट परेकै छैन भन्दा नि हुन्छ,’इस्पोले भने,'यसपाली धरान उपमहानगरपालिकाले १० लाख बजेट विनियोजन गरेको छ, त्यो भुक्तानीको प्रक्रियामा छ।' पार्कमा हाल गुरुयोजना अनुसार बिषेश आर्कषण रहने गोर्खाहरुको प्रतिमुर्ति सालिक(स्तम्भ) राखिएको छ । त्यहाँ करिब १० फिट अग्लो वेसमा ‘आयो गोर्खा’ भावको प्रतिमुर्ति उभिएको छ । स्तम्भ मुनि ७ फिट खनेर विश्वयुद्ध ताका वीरगति प्राप्त गरेका गोर्खाहरुको समाधिस्थल रहेको ४९ देशको माटो ल्याएर राखिएको छ । गुरुयोजनामा पार्किङ क्षेत्रसहित ढुंगाको सिढी, विश्रामस्थल, पानीको फोहोरा, धरानको दृष्यवलोकन गर्न सकिने प्वाइन्ट, स्मारक प्रवेशद्धारलगायत विभिन्न संरचनाहरु निर्माणको अन्तिम चरणमा छ ।

स्तम्भमा ९ वटा पल्टनको चिनारी छापसँगै प्रत्येक पल्टनको संक्षिप्त इतिहास पनि राखिने ब्रिटिश गोर्खा स्मृति पार्क समितिका अध्यक्ष पुर्वगोर्खा क्याप्टेन हरिबहादुर लिम्बूले बताए । स्मृति स्तम्भलाई चारैदिसाबाट नियाल्न सकिने गरि डिजाइन गरिएको छ । यसबाहेक, हाल प्रतिमुर्ति नजिकै १३ जना भिक्टोरिया क्रस(भि.सि.) विजेताहरुको मुर्ति राख्न पनि तयारी भइरहेको छ । त्यहाँ मुर्तिसँगै भि.सि.विजेताहरुको संक्षिप्त जीवनी पनि रहनेछ । 'उद्घाटनकै बेला राख्न नसकिएला, ठाउँ तयार छ । दाताको खोजी गरिरहेका छौ,'अध्यक्ष लिम्बूले भने । भि.सि.विजेता १३ जना नेपालीहरुमध्ये रामबहादुर बेघा लिम्बु मात्र जीवीत छन् । चमेना गृह पनि धमाधम निर्माण भइरहेको छ ।

gurkha-park3

गुरुयोजना अनुसारका संरचनाहरु निर्माणाधिन रहेपनि पार्कमा अहिलेसम्म ३ वटा पिकनिक स्पटसहित कटेज बनिसकेको छ भने भ्यु प्वाइन्टमा चौतारा पनि निर्माण भएको छ । जहाँबाट धरानको सुन्दर दृष्यावलोकन गर्न सकिन्छ । ‘यहाँबाट नजिकै हिन्दुहरुको पवित्रस्थल विष्णुपादुका मन्दिर छ, यो पार्क भुपु गोर्खाहरुको पनि पवित्रस्थलकोरुपमा विकास गर्नेछौं,’पार्कका परिकल्पनाकार रमेश राईले भने,‘ब्रिटिश गोर्खालीहरु जही होस्, पुर्खाहरुको सम्मानमा जीवनमा एक पटक यहाँ आउनैपर्छ ।’ उनकै पहलमा गोर्खा पार्कबाट कन्येभिर हुदै झण्डी डाँडासम्मको गोर्खा ट्रेल पदमार्ग पनि पहिचान भइसकेको छ । पार्क धरानको भानुचौकदेखि करिब ९ किलोमिटर पश्चिमउत्तरमा अवस्थित छ । २०६१ सालतिरै पार्कको परिकल्पना गरिए पनि २०६५ सालमा दर्ता र जग्गा खरीद गरेर घेराबारालगायतको प्रारम्भिक चरणको योजना बनाइएको थियो ।

के के छन् अरु योजना ?

Gurkha-park 1

पार्क समितिका अध्यक्ष पुर्वक्याप्टेन लिम्बूका अनुसार स्मृति पार्क, क्यान्टिन, हेलिप्याड र पार पार्क आगामी बैशाखभित्र उद्घाटन हुन्छ । तर, त्यहाँ यति मात्र हुने होइन । अब जीर्ण अवस्थाको सडकलाई राम्रो बनाइनेछ भने पाहुना बस्नलाई हट(घर) निर्माण गरिनेछ । यस्तै, आफ्ना पुर्खाहरुको सामाग्रीहरु संकलन गरेर राख्नलाई संग्रहालय बनाइनेछ भने बोटानिकल गार्डेनको पनि अवधारणा रहेको छ ।

यसैगरी, फुट ट्रयाक, चिल्ड्रेन पार्कसहित अडोटरियम हल वा फनपार्क पनि निर्माण गरिनेछ । प्राथमिकताको आधारमा यी संरचनाहरुको निर्माण हुनेछ । भि.सि.हटमा छुट्टी मनाउन आउनेहरुलाई बास बस्ने व्यवस्था गरिनेछ । यस्तै, गोर्खाहरुले पहिलो र दोस्रो विश्वयुद्धमा चलाएको हातहतियार, कपडा, दर्जा, बहादुरी तक्मालगायतको संकलन गरी संग्रहालय पनि निर्माण गरिनेछ । यसको लागि प्रत्येक युनिट रेजिमेन्ट एशोसिएशनसँग समन्वय भइरहेको निर्माण समितिले जनाएको छ ।