धरान: प्राविधिक शिक्षा र दक्ष जनशक्ति उत्पादनमा अग्रणी रहेको धरानस्थित सुनसरी टेक्निकल कलेजले यसै शैक्षिक सत्रदेखि ब्याचलर अफ होटल म्यानेजमेन्ट(बिएचएम) र ब्याचलर इन इन्फरमेशन म्यानेजमेन्ट(बिआइएम) कोर्ष पनि शुरु गर्ने भएको छ ।

शैक्षिक सत्र २०७५/०७६ बाट नै अध्यापन गराउने गरी त्रिभुवन विश्वविद्यालयबाट ४ बर्षे स्नातक तहको दुवै बिषयको सम्बन्धन प्राप्त गरिसकेको जानकारी दिएको छ । कलेजले शनिबार पत्रकार सम्मेलन गर्दै बिएचएम पुर्वका अन्य केही कलेजमा पढाई भए पनि बिआइएम पहिलो पटक यहाँ शुरु हुन लागेको जनाएको छ । धरानमा पनि बिएचएम र बिआइएम पहिलो पटक सँगै सम्बन्धन पाएको संस्थापक अध्यक्ष एवं प्रबन्ध निर्देशक लेखीराज सुब्बाले जानकारी दिए । ‘हामीले समय सापेक्ष प्राविधिक बिषयहरु अध्यापन गराउदै आएका छौ, यसपालीदेखि म्यानेजमेन्टमा पनि हात हालेका छौ,’सुब्बाले भने,‘तर म्यानेजमेन्ट पनि प्राविधिक बिषयमै छ, बिएचएम र बिआइएमको जनशक्तिको देश,विदेशमा राम्रो माग छ ।’

_DSC0199

दुवै बिषय शुरुवात गर्न जग्गा, भवन, ल्याबसहितको संरचनाको लागि ५ करोड बढीको लगानी थपिएको कलेजले जनाएको छ । कलेजको धरान १ स्थित मुख्य भवन रहेको छ भने हाल बिएचएम र बिआइएमको लागि धरान ११ मा नयाँ संरचना निर्माण गरिएको छ । चार बर्षे दुवै कोर्षमा ३०/३० जनाको कोटा रहेको पनि अध्यक्ष सुब्बाले जानकारी दिए । बिएचएमकी विभागीय प्रमुख स्तुती श्रेष्ठले नेपालमा पर्यटन उद्योग फष्टाउदै गएकोले दक्ष जनशक्तिको खाँचो पुर्ति गर्न बिएचएमको अध्यापनले मद्दत पुग्ने बताइन् । नेपालका होटल एवं पर्यटन उद्योगहरुमा बिएचएम पढेका जनशक्तिको खपत हुने उनले बताइन् ।

यस्तै, बैंकिङ प्रणालीको कम्प्युटराइज सिस्टमको व्यवस्थापनबारे अध्ययन, अध्यापन बिआइएम(ब्याचलर इन इन्फरमेशन)कोर्षमा हुने कलेजले जनाएको छ । साथै, ठुला कम्पती तथा कार्यालयहरुको मेनेजर पदको लागि यो बिषय अध्ययन गरेको जनशक्ति खपत हुने अध्यक्ष सुब्बाको भनाई छ । ‘यो बिषय पहिलो पटक हामीले ल्याएका छौ, ठुला अफिस, बैंकको मेनेजर हुन यो बिषय पढेका सक्षम हुन्छन्,’उनले भने । कलेजका परामर्शदाता तथा विज्ञकोरुपमा रहेका अमित राजले ‘हस्पिटालिटी’को क्षेत्रमा धेरै अवसर भएको र रोजगारीको कुनै समस्या नहुने भएकोले आकर्षण बढीरहेको बताए । उनले पाठ्यक्रम पनि युरोपस्तरकै भएको दाबी गरे ।

_DSC0205

क्याम्पस प्रमुख अमितकुमार गुप्ताका अनुसार क्याम्पसबाट अहिलेसम्म जति पनि विद्यार्थीहरु पास भएर गएका छन्, ति सबै कुनै न कुनै ठाउँमा जागिर वा आफै स्वरोजगार भएर बसेका छन् । ‘एनजिओ आइएनजिओ, सरकारी जागिरे वा आफैले केही न केही गरेका छन्, स्वास्थ्य क्षेत्रमा त अधिकांश हाम्रा विद्यार्थीहरु नै छन्,’क्याम्पस प्रमुख गुप्ताले भने,‘अहिलेसम्म ५ हजार बढी जनशक्ति हाम्रो कलेजबाट उत्पादन भएका छन् ।’

यो कलेज २०५२ सालमा सिटिइभिटिको सम्बन्धनबाट २ वटा प्राविधिक एसएलसी तहको अनमी र ल्याब एसिस्टेन्ट कार्यक्रमबाट शुरु भएको थियो । हाल यो कलेजमा सिटिइभिटितर्फ प्राविधिक एसएलसी तहका माथिका २ सहित १८ महिने सिएमए, जुनियर कम्प्युटर टेक्निसियन अफिस सेक्रेटरी कार्यक्रम चलाइरहेको छ भने ३ बर्षे डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ, सिभिल इञ्जिनियररिङ, फार्मेसी, सर्टिफिकेट लभेल इन मेडिकल ल्याब टेक्नोलोी, एचए, डिप्लोमा इन रेडियोग्राफी(एक्स रे टेक्निसियन) जस्ता कार्यक्रमहरु सञ्चालनमा छन् । यस्तै, त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनमा स्नातक तहको ४ बर्षे बि फार्मेसी, बि टेक फुड टेक्नोलोजी, बिएस्सी माइक्रोबायोलोजी, बि एस्सी जेनरल साइन्स कार्यक्रमहरु पनि रहेको छ । स्नातकोत्तर तहका एमएस्सी माइक्रोबायोलोजी र एम एस्सी बायोटेक्नोलोजी कार्यक्रम पनि रहेको छ ।

तस्बिरहरु: सनम तामाङ

_DSC0166 1 _DSC0185 _DSC0230 _DSC0190 _DSC0239