मोरङ : सुनसरीको धरानमा भर्खरै भएको १० औं राष्ट्रिय महाधिवेशनपछि किरात राई समुदायको साझा संगठन किरात राई यायोक्खा १ नम्बर प्रदेशको नाम किरात राख्न अझ आक्रमक ढंगले लागेको छ ।

फागुन तेस्रो साता भएको महाधिवेशनले प्रदेशको नाम किरात राख्न थप क्रियाशील हुने म्यान्डेट पाएपछि नव निर्वा्चित समिति नाममा साझा सहमति जुटाउन विभिन्न संगठनहरुसँग छलफलमा जुटेको हो । प्रदेश संसदको हिउँदे अधिवेशन चलिरहेको र नाम के राख्ने भन्ने बारेमा छलफल हुन लाग्दाँ संसद भित्र बाहिरनै साझा नाम किरात जुटाउने उदेश्यले पहल थालिएको यायोक्खाको नव निर्वा्चित केन्द्रीय अध्यक्ष दिवस राइले बताए ।
सोही योजना अनुसार शनिबार यायोक्खा केन्द्रीय कार्यालयमा विभिन्न जातीय संस्थाहरुसँग छलफल भएको थियो ।

छलफलमा किरात याक्खा छुम्माका अध्यक्ष लिलबहादुर रोगु, सनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवार, किरात याक्थुङ चुम्लुङको केन्द्रीय उपाध्यक्ष कमल तिगेला, नेपाल मगर संघका अध्यक्ष नवीन रोका मगर, नेपाल शेर्पा संघको अध्यक्ष एडी शेर्पा, तमु ह्युल छोज धिका सचिव लक्ष्मण गुरुङ, भुजेल समाजका सचिव प्रकाश भुजेल, थारु कल्याणकारी सभाका शुशिला चौधरी, ल्होमी सेवा समाजका पेमा लामा लगायतको उपस्थिति रहेको अध्यक्ष राईले बताए ।

यायोक्खाको संयोजनमा भएको बैठकले १ नम्बर प्रदेशको नाम पहिचानको आधारमा राख्न फागुन १५ गते प्रदेश सभाको सभामुख, मुख्यमन्त्री, चार वटै दलका नेताहरु र सबै प्रदेश सभा सदस्यहरुलाई ध्यान आकार्षण गराउने कार्यक्रम राखिएको यायोक्खा महासचिव जनक राईले बताए ।
फागुन १५ गतेदेखि नामकरणको बारे छलफल सुरुहुन सक्ने अवस्थालाई ध्यान दिएर किरात राई यायोक्खा लगायतको संस्थाहरुले संयुक्त रुपमा प्रदेशको नाम किरात राख्न ध्यान आकर्षण गराउने कार्यक्रम रहेको यायोक्खा उपमहासचिव भीम राईले बताए ।


प्रदेश भूगोलमा रहेका यायोक्खा पदाधिकारी सदस्यहरुले शनिबारै धरानमा बैठक बसेर १ नम्बर प्रदेशमा केन्द्रीय कार्यालय रहेको धिमाल, राजवंशी, मेचे, सन्थाल, माझी, झाँगड, किसान, गन्गाई, ताजपुरिया, लाप्चा संस्थाको अध्यक्ष र महासचिवसँग १२ गते मोरङको बेलबारीमा छलफल गरेर सकेसम्म किरातलाई साझा नाम बनाउने नभएपनि पहिचानको अधारमा नाम राख्न प्रदेश सभालाई दबाव दिन संयुक्त बैठकको आयोजना गरिएको यायोक्खा केन्द्रीय सचिव अर्जुन जम्नेली राईले बताए ।
किरात पहिचान एउटा जाति नभएर सभ्यता, भूगोल, इतिहास, संस्कृति भएकाले साझा पहिचानको रुपमा नाम राखिनु पर्ने यायोक्खा लगायतका समुदायको माग रहदै आएको छ । प्रदेशको नाम किरात राख्न यायोक्खाले २५ लाख हस्ताक्षर र पटक पटक ज्ञापन प्रदेशको मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदीपकुमार भण्डारीलाई भेटेर बुझाउनुको साथै केन्द्रीय सरकार प्रमुख केपी ओली, नेताहरु प्रचण्ड, शेरबहादुर देउवा, माधव नेपाल, सुवास नेम्वाङ लगायतलाई भेटेर मुद्धा बारे जानकारी गराइ सकेको छ । पर्याप्त प्रयासहरु भएको यति हुँदाहँुदै जवरजस्ति नदी र हिमालको नाममा मात्र प्रदेशको नाम राखिए विशिष्ट प्रकारको आन्दोलन हुने यायोक्खाले चेतावनी दिदै आएको छ ।

प्रदेशको मुख्यमन्त्री इन्द्र आङ्बो, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा प्रदेश सदस्य भीम आचार्य, प्रदेश सभा सदस्यहरु झलक दर्लामी मगर, कुलप्रसाद लिम्बू लगायतले प्रदेशको नाम किरात राखिनु पर्ने खुलेर मन्तव्य दिदै आएका छन् ।
यायोक्खाकै प्रमुख भातृ संगठनको रुपमा रहेको किरात राई विद्यार्थी संघले ९ राष्ट्रिय सम्मेलनसँग जोडेर किरात प्रदेश अभियानलाई तिव्र बनाएको छ । संघको राष्ट्रिय सम्मेलन खोटाङमा आगामी बैशाख २६—२८ गते खोटाङको दिक्तेलमा हँुदैछ । राष्ट्रिय सम्मेलनसँग जोडेर संघले १ नम्बर प्रदेश किरात प्रदेश लगायतको नाराहरु भित्तेलेखन र तुल व्यानर राख्नु सुरु गरेको संघकी केन्द्रीय अध्यक्ष बिर्सिका राईले बताए । यायोक्खा र आबद्ध भातृ संगठनहरुले प्रदेशको नाम राख्न सामाजिक तथा राजनीतिक संगठनहरुसँग समन्वयको अतिकतम प्रयास गरिरहेको बुझिएको छ ।