धरान: उपभोक्तालाई खानेपानी वितरण गर्दै आइरहेको खानेपानी संस्थानले जंगलबाट आपूर्ति गर्ने वेलको पम्प बिग्रदा अहिले धरानमा चरम खानेपानी अभाव भइरहेको छ ।

संस्थानको शाखा कार्यालयका अनुसार होली पर्वअघि नै जंगलको २ वटा पम्प बिग्रिएको थियो । जसले गर्दा संस्थानले क्षमताअनुसार भुमिगत पानी आपूर्ति गर्न सकेको छैन । गत पुष महिनादेखि नै संस्थानले धरान क्षेत्रलाई २ भागमा विभाजन गरेर दिन बिराएर मात्र पानी वितरण गर्दै आइरहेको थियो । तर, केही दिनयता भने उपभोक्ताहरुको घरमा दिन बिराएर पनि धारामा पानी पुगेको छैन । धराने उपभोक्ताहरु काकाकुल अवस्थामा छन् । ती उपभोक्ताहरुले सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका छन् ।

खानेपानी संस्थानले भने वेलमा समस्या भएकोले समस्या भएको भन्दै बाध्यता प्रकट गरिरहेको छ । ‘हाम्रो २ वटा वेल बिग्रिएर समस्या भएको हो, चाडो मर्मत गरेर सहज बनाउने प्रयासमा छौ,’संस्थानको धरानस्थित शाखा प्रमुख रामकुमार श्रेष्ठले भने । उनका अनुसार धरानमा दैनिक ३ करोड लिटर बढी पानीको माग छ । तर, संस्थानले जंगलबाट ७० लाख लिटर पानी मात्र आपूर्ति गर्छ । सुख्खा याममा सर्दु र खर्दु स्रोतबाट ४५ लाख लिटर हाराहारी पानी आपूर्ति हुन्छ । जोरधारे मुहानबाट धरान ४, शिखरबास क्षेत्रको लागि डेढ इञ्च पाइपमा पानी लगेपछि यो मुहानमा पनि केही कमी भएको श्रेष्ठ बताउँछन् । जंगलको २ वटा वेल बिग्रीएपछि कम्तीमा २० लाख लिटर कम उत्पादन भएको उनको भनाई छ ।

आइयुडिपीले २५ लाख पानी दिने

water-project1

आफ्नो २ वटा वेल चल्न नसकेर दिन बिराएर पनि उपभोक्तालाई पानी वितरण गर्न नसकेपछि खानेपानी संस्थानले आइयुडिपीलाई पानी दिन भन्दै पत्राचार गरेको छ । चैत ६ गते संस्थानले पत्र पठाएपछि आइयुडिपीले चैत ९ गतेदेखि दैनिक १० लाख लिटर पानी संस्थानको कार्यालयस्थित सुम्निामा सिस्टमा उपलब्ध गराउदै आएको छ । त्यतिले पनि नपुगेपछि थप २० देखि २५ लाख लिटर पानी उपलब्ध गराउन संस्थानले आग्रह गरेको छ ।

खानेपानीको चरम अभावलाई सहज बनाउन नगर कार्यपालिकाले माग वमोजिमको पानी संस्थानको टंकीमा दिने निर्णय गरेको थियो भने आइतबार पनि आकस्मिकरुपमा कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीको अध्यक्षतामा खानेपानी बोर्ड, खानेपानी आयोजनाको परामर्शदातालगायतसँग बसेको बैठकले २० देखि २५ लाख लिटर पानी सुम्निमा सिस्टममा दिने निर्णय गरेको थियो । ‘२० देखि २५ लाख लिटर पानी सुम्निमा सिस्टममा दिने र पानी अभावलाई हल गर्ने निर्णय भएको छ, हामी तत्काल त्यति पानी संस्थानलाई दिन्छौ,’कार्यवाहक प्रमुख भण्डारीले भनिन्,‘नयाँ पाइपलाइन विस्तार भएको क्षेत्रमा पनि सहज आपूर्ति गराउने पनि निर्णय भएको छ ।’

आइयुडिपीले डिजाइन वमोजिम पानी उत्पादन गरेपनि संस्थानको पाइपलाइनसँग इन्टरकनेक्सन गर्न नपाउदा खानेपानी आयोजनाले उत्पादन गरेको पानी वितरण गर्न नसकिएको उनले बताइन् । सर्वोच्च अदालतमा मुद्दा परेको कारण पनि इन्टरकनेक्सनको काम रोकिएको छ भने खानेपानी संस्थानको पनि असहयोगको कारण आयोजनाले उत्पादन गरेको पानी धरानबासीले पिउन पाइरहेको छैन । संस्थानका प्रमुख श्रेष्ठले आइयुडिपीबाट २५ लाख लिटर पानी माग गरेको पुष्टि गर्दै त्यति मात्रामा पानी आए धेरै राहत मिल्ने बताए । ‘पानी उपलब्ध गराउनु भनेर पत्र पठाएको छुँ, २० देखि २५ लाख लिटर पानी आयो भने राहत मिल्छ,’उनले भने ।

water-board-meeting

 

आयोजनाको पानी उपलब्ध गराउन आग्रह

धरान खानेपानी आयोजना अनुगमन समितिका संयोजक सुजेन्द्र गोले तामाङले आयोजनाको पानी रेल्वे र पिण्डेश्वर सिस्टमबाट उपभोक्तालाई उपलब्ध गराउन आग्रह गरेका छन् । सुख्खायाममा मुहान सुकेर खानेपानी अभाव भएको भन्दै उनले जनतालाई खानेपानीको समस्या हुन नदिन धरान खानेपानी आयोजनाले जंगलवाट पूर्ण क्षमतामा पानी उत्पादन गरी रेलवे सिष्टम र पिण्डेश्वर सिष्टमवाट खानेपानी उपलब्ध गराउन आग्रह गरेका छन् ।

यसरी पानी उपलब्ध गराउदा धरान ११, १७ र १५ का जनताहरुमा सहज रुपले खानेपानी उपलब्ध गराउन सकिने तामाङले बताए । साथै विष्णुचौकस्थित रेलवे सिष्टमवाट मंगलबारे र रत्न चौकतर्फ पनि वितरण गर्न उनको सुझाव छ । ‘पिण्डेश्वर सिष्टमवाट बचत भएको पानी खानेपानी संस्थानमा रहेको सुम्निमा सिष्टमवाट वितरण गर्ने व्यवस्थाका लागि आयोजनालाई आग्रह गर्दछु । यसो गर्दा धरानका सबै वडावासी जनसमुदायलाई खानेपानीको सहजता हुनेछ,’उनले भनेका छन्,‘आयोजना र संस्थानको नेटवर्क बीच इन्टरकनेक्सनका लागि वातावरण बनाउन पनि अनुरोध गर्दछु ।’ उनले पञ्चकन्या सिष्टमको ट्याँकी निर्माणको विवादलाई पनि तत्काल उचित समाधान खोज्न आग्रह गरेका छन् । यसको लागि नेपाल खानेपानी संस्थान धरान, धरान उपमहानगरपालिका, खानेपानी आयोजना र धरान खानेपानी व्यवस्थापन बोर्डबीच आवश्यक सहयोग र समन्वय हुनुपर्ने उनको सुझाव छ ।