बारा:आइतबार साँझ पर्दासम्म सबै ठिकठाक थियो । दुःखसुख परिवार चलेको थियो । दुई छाक खानालाई र बस्नलाई समस्या थिएन । तर, आइतबार राती आएको हुरीबतासले घर उडायो, घरमात्र होइन, फेटा गाउँपालिकाका अधिकांशको खुशी र भविष्य सबै उडायो ।

अहिले यो गाउँमा उजाडिएको छ । गाउँलेहरु अनिदोमा रात काटेका छन । न खाना छ, न पिउने पानी छ । सरकार राहतको आश्वासन दिन्छ, तर उनीहरु त्रिपालको भरमा छन् । फेटा गाउँपालिका–६ पुरैनियाकी नूरजहाँ खातुनका अनुसार दुई रात अनिँदो बितेको छ। मनमा चिन्ता छ, भविष्यको । 'घर रहेन, सबै राहत दिने भन्छन्, त्रिपाल पनि पाइएको छैन,’उनले भनिन्, ‘के खाने, कहाँ बस्ने ? दुई दिनदेखि चाउचाउ र बिस्कुटको भरमा छौ ।' गाउँलेलाई सहयोगीहरुले चिउरा, सख्खर दिन्छन् । तर, त्यो चपाएर निल्न गाह्रो छ । उनको तीन महिनाको दुधे बच्चा र ५ बर्षको छोरा छ । न आफुले राम्रो खान पाउकी छिन्, न बच्चालाई आफ्नो दुध राम्रोसँग पिलाउन सकेकी छिन् । पतिसहित परिवारका अन्य सदस्य अस्पतालमा उपचार गराइरहेका छन् ।

huri-batas1

उनको नजिकैका छिमेकी महम्मद ऐसको परिवारको पनि अवस्था उस्तै छ । उनीहरुलाई पनि दुई दिनयता न रातमा निन्द्रा छ, न दिनमा चैन छ । आइतबार रातको हावाहुरीले महम्मदको घर पनि भत्काइदियो । घरमा भएको खाद्याान्न, लत्ताकपडा केही बचाउन सकेनन् । आफुले मेहनत गरेर लगाएको बाली पनि सबै नष्ट भयो । उनलाई अहिले मात्र होइन, अब भविष्यमा परिवारलाई के खुवाउने भन्ने ठुलो चिन्ता छ । 'घर भत्कियो, कपडा र खानेकुरा सबै सखाप भयो, बाली पनि रहेन,'चिन्ता प्रकट गर्दै उनले भने,'परिवारलाई कहाँ राख्नु ? के खुवाउने ?'

उनको परिवार पनि दुई दिनदेखि अरुले दिएको चाउचाउ, चिउरा, दालमोठ, बिस्कुटलगायतको भरमा छ । खाना पकाएर खानलाई न चामल छ, न चुल्हो र भाडाकुडा नै छ । सबैभन्दा बढी बालबच्चा, वृद्धवृद्धा र सुत्केरीलाई समस्या छ । उनीहरुको स्वास्थ्य झनै जोखिममा परेको पीडितहरु बताउँछन् । पोषिलो खानेकुरा अभाव छ, राम्रो बास बस्ने र पिउने पानीको पनि अभाव छ ।

आइतबार रातीको हावाहुरीले फेटा गाउँमा ठुलो क्षति भएको थियो । फेटा गाउँपालिकाको वडा १, ३ र ६ मा सबैभन्दा बढी क्षति पुगेको थियो । यहाँ ६ सय बढी घरमा क्षति पुगेको छ भने सयभन्दा बढी घर पूर्णरूपमा ध्वस्त भएको छ । गाउँवस्ती, बालीलाई हावाहुरीले केही क्षणमा नै ध्वस्त बनाइदियो । यहाँको नागरिकले अहिले भोगीरहेको पीडा वयान गर्न गाह्रो छ । अहले असाध्यै गर्मी छ । पीडितहरुसँग पिउने पानी छैन । झुल छैन, ओढ्ने र ओछ्याउने पनि छैन । फेटा गाउँपालिकाले ठाउँ–ठाउँमा सामुहिक खानाको व्यवस्था गरेको छ ।