धरान: आज बिहान निधन भएका धरानका चर्चित एवं पुराना डाक्टर ज्ञानबहादुर श्रेष्ठको अन्त्येष्टी गरिएको छ ।

उनलाई आजै धरानको खत्रीधारामा अन्त्येष्टी गरिएको हो । डा.श्रेष्ठ धरानका पुराना तथा धरानेहरुका बीचमा प्रिय चिकित्सक थिए । उनी विरामीहरुको घरमै पुगेर पनि उपचार सेवा दिन्थे । उनै डाक्टर श्रेष्ठको उपचारको क्रममा आज बिहान करिब ८ बजे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको थियो । उनलाई छोराहरुले दागवत्ति दिएका थिए ।
धरानमा ब्रिटिश घोपा क्याम्प हुदा डा.श्रेष्ठ त्यहाँ उपचार सेवामा रहेका थिए । क्याम्प हटे पनि भने उनी घरमा नै क्लिनिक खोलेर उपचार सेवा दिए । धरानमा पछिल्लो दशकसम्म पनि मानिसहरु बीपीमा भन्दा डा.श्रेष्ठको क्लिनिकमा उपचार गर्न जान्थे । डा. श्रेष्ठका श्रीमति नलिनि र ३ छोराहरु महेशराज, डा.निकेश र डा.रिजेशराज श्रेष्ठ छन् । डा.निकेश केही बर्षअघि मात्र वीपी प्रतिष्ठान छोडेर विराटनगरको एक अस्पतालमा गएका थिए भने उनकी पत्नी डा. शैलजा अहिले पनि वीपीमै कार्यरत छिन् । डा.रिजेश भने अमेरिकामा बस्छन् । उनी पनि अहिले धरान आइसकेका छन् ।

डा. श्रेष्ठलाई 'ब्रेन एट्याक'

dr-gyan-bdr-sth5

डाक्टर श्रेष्ठ मुटू रोग, क्यान्सरको पनि उपचार गराइरहेका थिए । उनको मुटूमा पेसमेकर लगाइएको थियो । तर, उनको मृत्युको कारण भने ब्रेन एट्याक भएको पारिवारिक स्रोतले जनाएको छ । ‘उहाँको मृत्युको कारण ब्रेट एट्याक हो,’एक सदस्यले भने ।

चिकित्सकहरुका अनुसार ब्रेट एट्याक जुनै उमेरमा पनि हुनसक्छ । तथापी, ५० बर्ष उमेर नाघेकालाई हुने जोखिम बढी हुन्छ । ब्रेन एट्याक मास्तिष्कमा हुने रक्त प्रवाहमा अवरोध भएपछि हुन्छ । ब्रेन एट्याक हुने दुई कारण छन् । मास्तिष्कमा रगतका माध्यमले अक्सिजन पुर्याउदै आएका रगतका नशा बन्द भएर र रगतका नशा फुटेर पनि ब्रेन एट्याक हुन्छ ।

ब्लड प्रेसर भएका ३० देखि ३५ प्रतिशतलाई ब्रेन एट्याक हुने सम्भावना रहेको चिकित्सकहरुको भनाई छ । ब्रेन एट्याक हुदा ५० प्रतिशतको तत्कालै मृत्यु हुन्छ भने ५० प्रतिशत अस्पताल पुग्छन् । अस्पताल पुगेकामध्ये ५० प्रतिशतलाई मात्र जोगाउन सकिने डाक्टरहरु बताउँछन् । बाँचेकाहरुको पनि ५० प्रतिशत कुनै भाग वा पाटो पक्षघात(प्यारालाइसिस) हुन्छ । ‘ब्रेन एट्याक स्वास्थ्य मानिस, जो कोहीलाई पनि हुनसक्छ,’वीपी प्रतिष्ठानका डा.पारस पोख्रेलले भने ।