झापा:आजबाट नयाँ वर्ष २०७६ साल सुरु भएको छ । यो दिन फरक फरक समुदायले फरक फरक ढङ्गले मनाउने गरेका छन् । तिनै मध्येको एक हो पूर्वी तराईका आदिवासीहरुले मनाउने सिरुवा पर्व ।

आजकै दिनबाट पूर्वी तराईमा बसोबास गर्ने आदिवासी समुदायले तीन दिनसम्म सिरुवा पर्व मनाउन थालेका छन् । झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्ने आदिबासीहरुले नयाँ वर्षको सुरुवाती ३ दिन सम्म सिरुवा पर्व मनाउने चलन छ । पुर्वी तराईका राजवंशी, थारु, गनगाई, ताजपुरिया, माझी लगायतका जातिले आपसमा हिलो खेलेर सिरुवा पर्वको सुरुवात गरेका छन् । वर्षभरि रोगब्याद नलागोस भन्नका लागी यसरी हिलो दलेर सिरुवाको स्वागत गरिएको झापाको गौरादह नगरपालिका स्थायी घर भएका बरिष्ठ लोक गायक सिताराम ताजपुरिया बताउछन् ।

कोच आदिवासी समुदायमा वर्षको सुरुमा मनाइने सबैभन्दा पहिलो र ठूलो पर्व नै सिरुवा हो । सिरुवाको अर्थ होली या लेपन भन्ने पनि बुझिन्छ । यो पर्व ३ दिनसम्म मनाइन्छ । पहिलो दिन बिश्वा जल सिरुवा , दोस्रो दिन काद हिलो सिरुवा, तेस्रो दिनमा रङ सिरुवा खेल्ने गरिन्छ । सिरुवा राजवंशीलगायत अरु कोच समुदायको विशुद्ध मौलिक, धार्मिक, सांस्कृतिक पर्व रहेको ताजपुरिया कल्याण परिषद्का अध्यक्ष गंगाराम ताजपुरियाको भनाइ छ ।

यति मात्र नभइ कोच समुदाय भित्र सिरुवा पर्व मनाउने छुट्टै शैली छ । यसका लागि विभिन्न मौलिक सांस्कृतिक गीत, नाच प्रस्तुत गर्दै आपसी सद्भावका साथ सिरुवा खेल्ने गरेकोककोच समुदायका अगुवा शोभालाल राजबंशी बताउछन् । पहिले गाउँ भरिका महिलाहरु एक ठाउँमा भेला भई महिनादिन अगाडिदेखि नै सिरुवाको तिस्ताबुरी माताको पूजा गर्न भेदेखेली गीत गाउँदै हिँड्थे । तर, अहिलेका महिलाहरु ती गीत सायदै गाउन सक्छन । यसरी संस्कार संस्कृति हराउँदै जानुमा नयाँ पुस्ता आफ्नो भाषा, धर्म संस्कार प्रति सचेत नहुनु एउटा कारण हो भन्ने धेरैको बुझाई छ ।