धनकुटा: हरेक ठाउको आफ्नै बिशेषता हुन्छ । एकभन्दा बढि बिशेषता बोकेको जिल्ला हो धनकुटा ।

तत्कालिन पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम भनेर चिनिने धनकुटाका अन्य थुप्रै बिशेषता छन् । एभोकाडोको राजधानी, सुन्तलाका लागि प्रख्यात, चियाका लागि ख्याती कमाएको अनि फोहोरबाट मोहर कमाईरहेको धनकुटाको अर्को बिशेषता भनेको कृषि पर्यटन पनि हो । धनकुटाको पाख्रिबासमा २०२८ सालमा वेलायती सरकारद्वारा १ हजार ८ सय रोपनीमा निर्माण गरी सन्चालनमा ल्याईएको कृषि अनुसन्धान केन्द्र कृषि क्षेत्रको अध्ययन गर्नेहरुका लागि महत्वपुर्ण स्थान हो । तर २०५५ सालमा नेपाल सरकारको स्वामित्वमा आएपछि यो केन्द्र पूर्ण क्षमतामा प्रयोगमा आउन सकेको छैन ।

krishi-paryatan--(3)

पशु र कृषि सम्बन्धि प्रायः सबैको अनुसन्धान गरिने यस केन्द्रमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा अनुसन्धान प्रभावित भएको केन्द्रका प्राबिधिक अधिकृत महेन्द्रप्रसाद यादव बताउछन् । यस्तै यो केन्द्रमा पशुपन्छीको बिभिन्न जातका बारेमा पनि अनुसन्धान हुने गरेको केन्द्रका प्राबिधिक अधिकृत यादवको भनाइ छ । जनशक्ति अभाव भएपनि कृषि अनुसन्धानका अब्बल पाख्रिबासस्थित अनुसन्धान केन्द्रमा देश विदेशबाट अध्ययन अवलोकनका लागि कृषि पर्यटकहरु पुग्ने गरेका छन् ।

कृषि समुह तथा किसानहरुको पहिलो गन्तव्य नै १ नं प्रदेशको यो पाख्रिबासस्थित अनुसन्धान केन्द्र हुने गरेको छ । यहाँ पुगेका कृषक तथा विद्यार्थीहरुले विभिन्न ज्ञान हासिल गरेर फर्कने गरेका छन् । हेर्दै आकर्षक देखिने यो केन्द्रमा नेपाल बाहेक अन्य देशहरुबाट समेत कृषि पर्यटकहरु आउने गरेको केन्द्रका प्राबिधक अधिकृत यादवले बताए । लेक र बेंसी दुबै खालको हावापनी भएको यो केन्द्र र संगसंगैको दुरीमा रहेको धनकुटाको पारिपात्लेमा रहेको सुन्तला जात अनुसन्धान केन्द्र र उत्तरपानीमा भएको प्राबिधिक शिक्षालयलाई अझ बिस्तार गरि प्रबद्र्धन गर्न सके धनकुटाको कृषि र कृषि पर्यटनको पुरक समेत बन्ने देखिन्छ ।