विर्तामोड : वायुप्रदुषणले दिनदिनै मानव स्वास्थ्यमा पुर्याएको असरलाई कम गर्न बेलैमा सचेत गराउने उद्देश्यले झापाको मेचीनगरमा सचेतना कार्यक्रम गरिएको छ ।

मेचीनगर क्षेत्रमा वायुप्रदुषणबारे शुक्ष्म अध्ययन गरी प्रदुषणको अवस्था जानकारी गराउने उद्देश्यले एकदिने सचेतना कार्यक्रम गरिएको प्रयास प्रारम्भका प्रबन्ध निर्देशक लोकप्रिय खनालले जानकारी दिए ।  वायुप्रदुषणका क्षेत्रमा कसैन कसैले बेलैमा सोचिएन भने मानव स्वाथ्यमा गम्भीर असर पर्न सक्ने भएकाले मेनपा क्षेत्रमा लघु अनुसन्धान गर्न सचेतना कार्यक्रम गरेको खनालको भनाई छ ।

यसअघि प्रयास प्रारम्भले गत ११ पुसमा विर्तामोडमा स्थानीय सरोकारवालाहरुसँग विर्तामोडको वायुप्रदुषणबारे अन्तर्रक्रिया गरेको थियो । प्रयासले प्रदुषणबारे गरेका जनचेतना मुलक कार्यक्रममध्ये यो दोस्रो कार्यक्रम हो । मेचीनगर नगरपालिकाको सभाहलमा सम्पन्न सचेतना कार्यक्रममा प्रदुषणको क्षेत्रमा रुची राख्ने विद्यार्थी, विज्ञान विषयका शिक्षक, सामाजिक अभियन्ता, कार्यपालिका सदस्य, वडाअध्यक्षहरुको सहभागिता थियो । कार्यक्रममा मेचीनगर ६ र १० नं वडालाई लक्षित गरि प्रदुषित वायु उत्सर्जन गर्ने स्थान र क्षेत्रमा शुक्ष्म अध्ययन गरी तथ्याङ्क संकलन गरिने जानकारी दिइयो । अन्तरक्रियामा सहभागीमध्ये वडा कार्यालयले सिफारिस गरेका शिक्षक विद्यार्थी गरी १६ जना सहभागीले ४ वटा समुहमार्फत तथ्याङ्क संकलन गर्नेछन् ।

कार्यक्रमको सहजीकरण प्रयास प्रारम्भका प्रबन्धक लोकप्रिय खनाल र सहजकर्ता आकाश श्रेष्ठले प्रदुषणको अवस्थाबारे सहजीकरण गरेका थिए । वायु प्रदुषणको हिसावले नेपाल विश्वको खराब मुलुकको सुचीमा ५औं नम्बरमा पर्दछ ।
वायु प्रदुषबाट उत्पन्न हुने धुलोको २ दशमलव ५ माइक्रोन पार्टिकल हामीले स्वासप्रश्वास गर्दा छालाको छिद्रबाट पनि सजिलै भित्र छिर्नसक्ने हुने हुँदा स्वास्थ्यका लागि अत्यन्तै हानिकारक रहेको जानकारी दिइयो । आफु बसेको कोठाको मात्र वायुको अवस्था र क्षमता मापन गर्ने सक्ने सानो ‘एयर क्लालिटी मोनिटरीङ डिभाइस’ ले मापन गर्दा मात्रै पनि झापाको मेचीनगर, विर्तामोड जस्ता शहरको अवस्था जोखिमयुक्त रहेको पाइएको छ ।
प्रदुषित वायुका कारण बालवालिका, बृद्धबृद्धा, असक्त, सुत्केरी महिलाहरुलाई बढी समस्या देखिने गर्दछ । यसले बालबालिकामा नसर्ने प्रकृतीका जटिल रोग पनि निम्त्याउने खतरा रहन्छ । यसले मानिसमा छालाको एलर्जी, छालाको प्रतिरक्षामा कमि, किड्नी र कलेजोमा असर, आस्थ्मा ,ब्रोकाइटिस, क्यान्सर, हृदयघातजस्ता समस्या हुनुको साथै गर्भको शिशु अपाङ हुने र आमालाई पनि असर गर्दछ । वायु प्रदुषणले स्वास्थ्यको साथै कृषि ,पर्यटन, शिक्षा र जीवनशैलीमा प्रत्यक्ष असर गर्दछ ।

हालै गरिएको एक अध्ययनले वायु प्रदुषणबाट हुने मृत्युमा नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र भएको दखाएको थियो । त्यस्तै, वायु प्रदुषणमा नेपाल विश्वको ५ खराब मुलुकको सुचिमा परेको छ । विख्यात येले र कोलम्बिया युनिभर्सिटीले ‘वल्र्ड इकोनोमिक फोरम’ सँगको साझेदारीमा हालै सार्वजनिक गरेको ‘इन्भारोमेन्ट पर्फरमेन्स इन्डेक्स २०१८’ (इपीआई) प्रतिवेदनमा वायु प्रदुषण बढी भएका मुलुकमा नेपाल विश्वमै अग्र पंक्तिमा रहेको देखाएको हो । ४ समुहका १६ जना सहजकर्ताले मेचीनगरको ६ र १० नं वडाको सवारी प्रदुषण, ईटा तथा सिमेन्ट कल कारखाना, सड्ने र नसड्ने फोहर जलाउने स्थान र फोहर मैला प्रदुषण नियन्त्रणमा स्थानीय निकायले गरेका प्रयास र कानुनी प्रावधानबारे लघु अध्ययन गरी तथ्याङ्क संकलन गर्नेछन् ।

र, प्राप्त तथ्याङ्कलाई नगरपालिकामा प्रस्तुत गर्ने प्रयास प्रारम्भको योजना छ । प्रयासले सचेतना कार्यक्रम मार्फत दोस्रो चरणमा तथ्याङ्क संकलन गर्ने र तेस्रो चरणमा जनप्रतिनिधि र सरोकारवालासँग अन्तरक्रिया छलफल गरी प्रदुषणको हालको अवस्था र भविश्यको योजना निर्माण गर्ने लक्ष्य राखेको छ । कार्यक्रममा मेचीनगर कार्यपालिका सदस्य एवम् बन वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख टीकाराम सार्की, वडा नं १० का अध्यक्ष सुदय पनेरु, सहभागी शिक्षक विनय रिजाल, सामुदायिक अध्ययन केन्द्रकी सारदा थापालगायतले नगरपालिकाको फोहर संकलन गर्ने गाडी सबै ठाँउमा नपुग्ने हुदा उत्सर्जीत फोहर जलाउन बाध्य भएको, घरबाट निस्कने फोहरलाई सड्ने र नसड्ने छुट्याएर व्यवस्थापन गरे धेरै प्रदुषण नियन्त्रण गर्न सकिने र त्यसका लागि स्वयं व्यक्ति नै सचेत हुनुपर्नेलगायतका सुझाव दिएका थिए ।

१६ जना संकलकले एकसाता भित्र तथ्याङ्क संकलन गरी बुझाउने बताइएको छ । संकलकले मेचीनगरको धुलारीबाट १ किलोमिटर वरीपरि र काँकरभिट्टा चोकबाट १ किलोमिटर वरीपरिको क्षेत्रबाट डाटा संकलन गर्ने छन् ।