झापा: पानी हाम्रो जीवनमा नभइ नहुने पदार्थ हो । पानी विनाको कुनै प्राणीको पनि जिवन कल्पना गर्न सकिदैन । स्वस्थ्य शरीर रहन हरेक दिन २ देखी ३ लिटर स्वच्छ पानी पिउन आवश्यक रहेको चिकित्सकहरु बताउँछन् ।

मानिसलाई मात्र होइन, सिङ्गो प्राणी जगत अनि सजिव बोटबिरुवालाई समेत अति आवश्यक पानी हामीले किनेर पिउने गरेका छौं । हामीले किनेर पिएको पानीले हाम्रो प्यास मेटिरहेको छ भने ब्यापारी त्यहि पानी बेचेर मालामाल बनिरहेका छन् । त्यो पनि उपभोक्तालाई ठगेकै भरमा । यहाँ केही पानी उत्पादक कम्पनीदेखि व्यापारीसम्मले उपभोक्तालाई खुलेआम ठगिरहेका छन् ।

केही पानी उत्पादक कम्पनीले शुद्ध पानी उत्पादन नगरेर बेईमानी गरिरहेका छन् भने ब्यापारीले सरकारले तोकेको मापदण्ड भन्दा १ सय २० प्रतिशत बढि शुल्क असुलेर अर्को बेईमानी गरिरहेका छन् । कतै यात्रामा निस्कदा होस् या त खाना, खाजा खादा, या त कतै थाकेर लखतरान भएर बसेका ठाउँमा होस या त कुनै सभा वा समारोह अनि बैठक कोठामै किन नहोस । पानी जही पनि हरठाउँमा प्रयोग हुने गरेको छ । त्यो पनि सशुल्क ।

उत्पादक कम्पनीले १० रुपैयाँ ४० पैसा देखी १२ रुपैँया ५० पैसा प्रति बोतल ब्यापारीलाई पानी बिक्रि गर्ने गरेको पानी उत्पादकहरुले बताएका छन् । तर ब्यापारीले भने सो मूल्यमा उपभोक्ताको ढाड नै सेक्ने गरिको शुल्क लिइरहेका छन् । उपभोक्ताले २० देखी ३० रुपैँया सम्मको मूल्य तिरेर पानी पिउनु पर्ने बध्यता छ ।

उपभोक्ता संरक्षण ऐनमा उत्पादक वा ब्यापारीले उत्पादन मूल्य वा खरिद मूल्यमा २० प्रतिशत भन्दा बढि मुनाफा राख्न नपाउने उल्लेख गरिएको छ । तर पानीमा भने ब्यापारीले २० प्रतिशत हैन, १२० देखी १५० प्रतिशतसम्म नै मुनाफा राख्ने गरेको पाइएको छ । यसलाई सिधै कालोबजारी भनिन्छ । खुलेआम कालोबजारी भईरहेको छ अनि नियमक निकाय टुलुटुलु हेरेर बसिरहेको छ । पानी उत्पादक कम्पनीका अनुसार प्रति कार्टुन पानी १ सय २० देखी १ सय ५० रुपैयामा ब्यापारीलाई बेचिन्छ । अर्थात १२० रुपैया प्रतिकार्टन पर्ने पानी प्रति बोतल १० रुपैयाँ पर्छ भने प्रति कार्टन १ सय ५० रुपैयाँ प्रति कार्टन पर्ने पानी प्रति बोतल १२ रुपैयाँ ५० पैसा पर्छ ।

ब्यापारी हाकाहाकी भन्ने गर्छन्, १२० मा ल्याएको पानी २० रुपैयाँमा बेच्छौ साथै १५० मा ल्याएको पानी २५ देखी ३० रुपैयामा बेच्छौ । यसरी हेर्दा ब्यापारीले उपभोक्तासँग १ सय देखी १३० प्रतिशत सम्म मुनाफा राखेर बिक्रि गरिरहेको पुष्टि हुन्छ । लागत मूल्यमा २० प्रतिशतभन्दा बढी रकम जोडेर नाफा लिन नपाउने व्यवस्था कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐनमा उल्लेख छ ।

कर्मकाण्डी पारामा अनुगमन, उत्पादक देखि ब्यापारीसम्मको राज

water

बेचिएका पानी एक त शत प्रतिशत शुद्ध नभएको पटक/पटकको अनुगमनले पनि पुष्टि गरिसकेको छ । तर यहि असुद्ध पानी पनि ब्यापारीले भने अचाकली मूल्य असुलिरहेका छन् । खरिद मूल्यमा २० प्रतिशत भन्दा बढि मुनाफा राखे त्यसलाई कालोबजारी भनिन्छ । यो कालो बजारी ऐनमै उल्लेख छ ।

झापामा मात्र दैनिक ६ हजार कार्टन पानी उत्पादन भएर बजारमा जन्छ । अर्थात ७२ हजार लिटर पानी । ७२ हजार लिटर पानीमा प्रतिलिटर १० देखी १२ रुँपैया मुनाफा गर्ने ब्यापारीले दैनिक ७ लाख २० हजार देखी ८ लाख ६५ हजार रुँपैयासम्म मुनाफा मात्र गरिन्छ । अनि यो मुनाफामा दैनिक कालाबजारी मात्र ५ लाख ७५ हजार देखी ६ लाख ८० हजारसम्म कालाबजारी गरेरै ब्यापारीले उपभोक्ता ठगीरहेका छन् । उनीहरु खुलेआम भन्छन्, प्रतिबोतल १० रुपैया देखी १० रुपैँया ४० पैसामा खरिद गरेको पानी रुपैयाँ प्रति बोतल बेच्छौ अर्थात सतप्रतिशत भन्दा बढि मुनाफा । अनि ११ रुपैया ४१ पैसा देखी १२ रुपैया ५० पैसा सम्ममा खरिद पानी २५ देखी ३० रुपैयाँमा बेच्छौ ।

कम शुल्कमा खरीद गरी बढी शुल्क उठाउन पल्केका ब्यापारीमाथी अहिलेसम्म कसैले पनि किन यति धेरै नाफा लिएर बेचेको भनेर सोधेका पनि छैनन् । अनि सोध्ने आटपनि गरेको देखिदैन । यस भित्रको रहस्य ब्यापारी र अनुगमनकारी निकायका कर्मचारीलाई नै थाहा होला । तर के भईरहेको छ भनेर छुट्ट्याउन जो कसैलाई खासै समय लाग्दैन । ब्यापारीलाई प्रोत्साहन गर्न पानी उत्पादक कम्पनीहरुले बोतलमै मूल्य उल्लेख गरिदिएर झन् सजिलो बनाईदिएका छन् । उनीहरु पनि चोखा त कहा छन् र ? त कुटे जस्तो गर, म रोए जस्तो गर्छु भन्ने उखान चरितार्थ तुल्याईरहेका छन् उत्पादक कम्पनी, ब्यापारी र नियमनकारी निकायले ।

पानी उत्पादन गर्ने कम्पपनीले हरेक बोतलमा मूल्य राख्ने गरेको भए पनि त्यो मूल्य कत्तिको बैज्ञानिक ढंगले निर्धारण गरिएको हो भन्ने बारेमा कसैले पनि बुझेका छैनन । केही ब्यापारीले त साधारण बजारमा २० रुपैँया २५ रुपैयाँ मूल्य राखेको देखेर नै मूल्य राखेको भनेका छन् । यसरी पानीको मूल्य उपभोक्ता संरक्षण ऐन भन्दा बिपरित कायम भएको पानी उत्पादकको भनाईले पनि प्रस्ट पारिसकेको छ । अनि पानीको मूल्यमा किन यस्तो मनपरि भै रहेको छ ?

सरोकारवालाको लज्जास्पद जवाफ

Untitled-1 copy

हेर्दा सामान्य लाग्ने पानीको ब्यापारमा झापामा दैनिक लाखौ रुपैयाँ कालो बजारी भईरहेको तथ्य बाहिरिएको छ । झापामा पानी उत्पादन गर्ने कम्पनीहरु साना तथा घरेलु उद्योगमा २७ वटा दर्ता भएका छन् तर आन्तरिक राजस्व कार्यालयमा भने पानी शिर्षकमा ४१ वटा कम्पनीले राजस्व तिरिरहेको तथ्याङ्क छ । यसरी कम्पनी चलाउन अनुमति दिने निकाय र राजस्व संकलन गर्ने बसेको निकायमै कति कम्पनी छन् भन्ने यकिन तथ्याङ्क समेत छैन ।

कम्पनीको यकिन तथ्यांक नभए पनि पानी उत्पादकहरुका अनुसार झापामा दैनिक ७२ हजार लिटर पानी बिक्रि हुने गरेको छ । ७२ हजार लिटर पानी उत्पादकले बजारमा बितरण गरिरहेको छ । झापामा रहेका कम्पनीले आफुले उत्पादन गरे अनुसारको पनि मूल्य नपाएका कारण कतिपय कम्पनी धरासायी समेत बन्ने गरेका प्रशोधित पानी उत्पादक संघ प्रदेश १ का उपाध्यक्ष राम पोखरेल बताउछन् ।

पानी उत्पादबाट सस्तो मूल्यमा पानी खरिद गरि महँगोमा बेच्ने ब्यापारीका बारेमा अहिलेसम्म कसैले पनि प्रश्न उठाउन सकेका छैनन् । मूल्य निर्धारण कसरी गरिन्छ भन्ने कुराको जवाफ कम्पनी सञ्चालन गर्न अनुमति दिने निकायलाई समेत थाहा छैन । झापामा पानीकै मात्र दैनिक १५ देखी २० लाख सम्मको कारोवार हुन्छ । ब्यापारीहरुको यो तथ्यालाई आधार मान्ने हो भने झापामा वार्षिक ६० करोड रुपैयाँ भन्दा बढिको कारोवार हुन्छ । तर आन्तरिक राजश्व कार्यालयमा भने आर्थीक वर्ष २०७४÷७५ मा २४ लाख ११ हजार ८ सय ४२ रुँपैयामा मात्र राजस्व संकलन भएको छ । अनुगमनको अभावकै कारण पानीमा कम मात्र राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।

उपभोक्ता मञ्चले पनि उचित अनुगमनकै अभाव भएको स्वीकार गरेको छ । उपभोक्ताको हक हित अधिकार संरक्षण गर्न गठन भएको उपभोक्ता मञ्चले पनि उपभोक्ता यसरी ठगिरहेको देख्दा पनि वेवास्ता गरेको छ । उपभोक्ता मञ्च झापाका उपाध्यक्ष डा.नबिन चापागाई आफुहरु यसबारेमा सचेत भएको बताउछन् तर काम भने केहि गरिएको देखिदैन । नियमन र अनुगमन गर्ने मुख्य निकाय खाद्य तथा गुण नियन्त्रण कार्यालयले पानीको मूल्यबारे बजारमा प्रभावकारी अनुगमन गर्न नसकेको लाचारी प्रकट गर्छ पानीको उचित मूल्य नै निर्धारण नभएको कारणले उपभोक्ता दैनिक लाखौ रुपैया ठगिइरहेका छन् । ब्यापारी आफै मूल्य निर्धारण गर्ने भएकोले यसको मूल्यमा कसैले हस्तक्षेप गर्न नसकेको वाणिज्य कार्यालयको भनाइ छ ।

नेपाल सरकारले उत्पादन वा खरिद मूल्यमा २० प्रतिशत मात्र मुनाफा राख्ने नियम छ । तर पानी ब्यापारीहरुले बढि प्रतिशत लिएर बेच्ने गरेको खुलेपछि जिल्ला प्रशासन कार्यालयले कार्वाहि गर्ने चेतावनी समेत दिएको छ । झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आफुहरु चाडै अनुगमनमा निस्किने र त्यस्तो पाईए कार्बाही गर्ने बताएका छन् । यसरी नियमन, अनुगमन र कार्वाहि गर्ने निकायलेनै यसरी पानीमा भैरहेको ब्रम्ह लुट बारे बेखवर जस्तै बनेर जवाफ दिईरहँदा पटक पटक हुने गरेको बजार अनुगमन सेटिङ मिलाउन गरिएको चेकिङ जस्तै त हैन ? भन्ने आम उपभोक्ताले शंका गर्न थालेका छन् ।