इनरुवा : इस्लाम धर्मावलम्बी मुसलमानको रमजान पर्व आज मंगलबारदेखि सुरु भएको छ । इस्लामी पात्रो हिजरी संवतअनुसार नवौं महिना ‘रमजानल मुबारक’ मा विश्वभरका इस्लाम धर्मावलम्बी मुसलमान एक महिनासम्म रोजा (व्रत) बस्छन् ।

आठौं ‘साबान’ महिनाको अन्तिम दिनमा आकाशमा चन्द्रमा उदाएपछि रोजा बस्न सुरु हुन्छ । इस्लामका पाँच आधार स्तम्भ इमान (आस्था), नमाज (प्रार्थना), हज (तीर्थ), जकात (दान) र कल्मामध्ये रोजा (व्रत) एक खम्बा हो । अरू महिनाका तुलनामा ‘रमजानल मुबारक’ महिनालाई मुसलमानले पवित्र महिनाका रूपमा विश्वास गर्छन् ।
रमजान महिना दान गर्ने महिना पनि हो । धनाढ्यले गरिब र विपन्नलाई आर्थिक सहयोग समेत गर्छन् । शास्त्रअनुसार बालिग (वयस्क) मुसलमानलाई रोजा अनिवार्य छ । धनी, गरिब कसैलाई छुट छैन । मुसलमान समुदायमा रमजानले विशेष महत्व राख्छ ।
रमजान महिनामा नै इस्लामका प्रवर्तक हजरत मोहम्मदमाथि कुरआनका आयात (श्लोक) अवतरण सुरु भएको थियो । रमजान महिनाको अन्तिम दसांशको कुनै एक बिजोडी रातमा कुरआनको अवतरण सुरु हुन थालेको थियो ।

रोजा बस्ने व्यक्तिले सूर्योदय हुनुभन्दा झन्डै डेढ घण्टा पहिलेदेखि सूर्यास्त नहुन्जेलसम्म कुनै पनि खानेकुरा सेवन गर्दैनन् । रोजा बस्नाले मानिसमा आज्ञापालन, अनुशासन, नम्रता, सत्प्रियता, संयम, सहनशीलता, सदाचारी, त्याग, परोपकार, दया, दानशीलता लगायतका आचरणमा विकास आउने विश्वास छ ।

यो महिनामा कुरआनको वाचन, नमाज पढ्ने र गरिब एवं विपन्नहरूलाई सहयोग गर्ने अवसर पनि हो । नाबालिक अवस्था, भोक तिर्खा सहन नसक्ने बुढ्यौली अवस्था, सिकिस्त विरामी, रजस्ववाला भएकी महिला र सुत्केरीका लागि रोजा अनिवार्य छैन ।
जानीजानी खानपिन गर्नाले, शक्तिवद्र्धक सुई लिनाले, नशाबाट औषधि प्रवेश गराउनाले अर्थात् स्लाइन चढाउनाले, वीर्य स्खलन गर्नाले र बान्ता भएमा व्रत अन्त्य (भंग) हुन्छ । शरीरमा तेल लगाउनाले, दाँत माझ्नाले, भुलेर खानपिन गर्नाले, स्वप्नदोष हुनाले, बान्ता हुनाले, सुगन्ध वा सेन्ट लगाउँदा भने रोजा भंग हुँदैन ।

सूर्यास्त भएपछि रोजा बस्नेहरू केही खानेकुरा खाएर रोजा तोड्छन्, त्यस कार्यलाई ‘इफ्तारी गर्नु’ भनिन्छ । विशेषगरी इफ्तारमा खजुर, मिठाइ, फलफूललगायत खानेकुरा खाइन्छ ।

रमजान महिनाको अन्तिम दस भागका पनि विजोडा रातहरू अझ महत्वपूर्ण मानिन्छन् । एक महिने रोजाका अन्तिम विजोडी रातहरू २१, २३, २५, २७ र २९ ले विशेष महत्व राख्छ । ती बिजोडा रातमध्येको कुनै एक रातमा साउदी अरबको हेरा भन्ने गुफामा अल्लाहको ध्यानमा केन्द्रित भइरहेको बेला ‘जिब्रिल’ भन्ने देवदूतमार्फत पहिलो पटक मोहम्मदमाथि पवित्र धर्मग्रन्थ कुरआन अवतरण भएको थियो ।

‘जकात’ अर्थात् दान

रमजान महिनाको रोजासँग जकात (दान) को सम्बन्ध पनि जोडिएको छ । जकात पनि इस्लामका पाँच आधारमध्येको एक खम्बा हो । इस्लामी शरिअत (कानुन) अनुसार कुनै व्यक्ति ऋणमुक्त छ र उसँग दैनिक उपभोग्य वस्तु, आवश्यक आवास सुविधाबाहेक साढे सात तोला सुन वा साढे बाउन्न तोला चाँदी वा त्यस बराबरको सम्पत्ति छ भने उसले जकात निकाल्नु जरुरी छ । यसरी सम्पत्ति चुक्दा गर्नाले उसँग बाँकी भएको सम्पत्ति अरू शुद्धिकरण हुने विश्वास छ ।

मुसलमान समुदायबाट यसरी निकालिएको जकातको रकम गरिब, असक्षम र असहायले मात्रै प्रयोग गर्न सक्छन् । ३० दिनको रोजा सकिएको भोलिपल्ट ‘इदउल फित्र’ पर्व मनाइन्छ । यो खुसियालीको पर्व हो ।