पथरी:एक करोड भन्दा कमको विकास निर्माणमा डोजर चलाउन नपाइने र अनिवार्य स्वीकृति लिनुपर्ने नियमको धज्जी उडाउदै मोरङको एक सामुदायिक वनले भने निर्वाधरुपमा डोजर चलाएर पोखरी निर्माण गरेको छ ।

पथरीशनिश्चरे नगरपालिकामा रहेको शान्ति सामुदायिक वन क्षेत्रमा डोजरको प्रयोग गरेको हो । वनले संरक्षण गरेको सिमसार क्षेत्रभित्र नै डोजर चलाएको हो । पर्यटनको विकासका लागि शान्ति भुल्के सिमसार क्षेत्रको विस्तार गर्न यसरी डोजर चलाइएको जनाएको छ । सिमसारको गुरु योजना निर्माण भएकाले सो गुरु योजना अनुसार नै काम भइरहेको शान्ति सामुदायिक वन उपभोक्ता समुहकी सचिव मेनुका राईले बताइन् । राई शान्ति भुल्के सिमसार संरक्षण तथा विकास समितिकी संयोजक समेत हुन ।

वनमा चलिरहेको डोजरका विषयमा राईले आफुहरुले डिभिजन वन लगाएतका कुनैपनि निकायमा अनुमति लिनु नपर्ने बताइन । राईले भनिन,“हामीले हाम्रो गुरु योजना अनुसार काम गरिरहेका छौँ । वार्षिक साधारण सभाले सबै कुरा पास गरेका हुन्छौँ, सोही आधारमा काम गर्ने हो । हामीले यसरी सबै कामका लागि कुनै निकाय संग अनुमती लिइरहनु पर्दैन’उनले भनिन,‘तपाइलाई थाहै छैन होला सामुदायीक वनलाई असिमित अधिकार दिएको हुन्छ ।’ सामुदायीक वनलाई काम गर्ने थुप्रै अधिकारहरु दिएको र त्यसै अनुसार डोजर चलाइएको उनको भनाइ छ ।

यसरी वन क्षेत्रमा डोजर संचालनका लागि अनिवार्य रुपमा अनुमति लिनु पर्दछ । वन क्षेत्रमा विकासका नाममा कुनैपनि कंक्रिटका भौतिक संरचना पनि निर्माण गर्न पाइदैन । यस विषयमा मोरङ वन डिभिजनल अधिकृत विशाल घिमिरेले वनमा डोजर चलाउनका लागि अनिवार्य रुपमा अनुमति लिनुपर्ने बताए । घिमिरेले भने,“वनमा डोजर चलाउन अनिवार्य अनुमति लिनु पर्दछ । शान्ति सामुदायिकको पनि त्यो प्रकृयामा रहेको छ । त्यहाँ मानिसले मात्रै सम्भव नहुने भएकाले मेसिन प्रयोग गर्नुभएको हो । अनुमति विना वनमा कंक्रिटको भवन निर्माण गर्न पनि मिल्दैन ।”

पानी सुक्दै गएका कारण पानीको संरक्षणका लागि पोखरी निर्माण गरिएको राईले बताइन । पानीको मुहानहरु पनि सुक्दै जाने र मासिने भएकाले पनि पोखरीको आवश्यकता भएको राईको भनाइ छ । राईका अनुसार यस आर्थिक वर्षमा काम सक्ने गरी भू–संरक्षण तथा जलाधार संरक्षण केन्द्रले ५ लाख रुपैया उपलब्ध गराएका कारण काम थालिएको हो । हाल निर्माण भएको पोखरी विचबाट नै पथरी खानेपानीका २ वटा पाइप विछ्याइएको छ । पथरी खानेपानीको मुहान पनि शान्ति सामुदायिक वनमा नै पर्दछ । सिमसारमा निर्माणाधिन माथिल्लो पोखरीमा पानीको पाइप समेत फुटेको छ । पाइप फुटेर जोडिएको ठाउँबाट पानी प्रशस्तै बाहिर आएको छ । सोे फुटेको ठाउँबाट पोखरीको फोहोर पानी पाइपबाट खानेपानीको ट्याङ्कीमा आउने सम्भावना प्रवल देखिन्छ । अर्कोतर्फ पोखरी निर्माण गरिएको स्थानमा भएका रुख विरुवाहरु पनि नास भएका छन् । काटिएका विरुवाहरु अन्य स्थानमा रोपिने राईले बताइन ।