ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “सडकपेटी अतिक्रमणले कुरुप बनदै इटहरी” शीर्षकको समाचार छापिएको छ । साँघुरो सडक र फुटपाथ अतिक्रमणले इटहरी उपमहानगरपालिका कुरुप हुँदैछ । व्यापारीहरुले सडकको दुवै किनारमा फुटपाथ अतिक्रमण गर्दा आवत जावतमा समस्या हुने गरेको हो । इटहरी उपमहानगरपालिकाले बारम्बार कार्यपालिकाको बैठकमा फुटपाथको कुरा उठाए पनि नियनत्रण गर्न नसक्दा इटहरीमा समस्या दिनानुदिन बढ्दो छ । सडकको किनारमा रहेको फुटपाथ पैदल यात्रुका लागि आवत जावत गर्ने ठाउँ हो । तर, त्यो क्षेत्रलाई अहिले अधिकाँश स्थानमा व्यवसायिक प्रयोजनका लागि प्रयोग गर्ने गरेको पाइएको छ । त्यो सँगै मौसमअनुसारको फलफुल पसलेदेखि कपडा पसलेहरुले आफ्नै आँगनजस्तो सडक पेटी हडप्दै आएका छन् । फुटपाथ अतिक्रमण भइरहँदा इटहरी उपमहानगरपालिका र स्थानीय प्रशासन भने मौन देखिएका छन् । उपमहानगरपालिकामा जनप्रतिनिधि आएपछि फुटपाथ अतिक्रमण रोकिने आशा गरिए पनि उनीहरुले उल्टै व्यापारीलाई संरक्षण गर्ने गरेको स्थानीयको आरोप छ ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “खोलाको पानी पिउन बाध्य मुसहर” शीर्षकको अर्को समाचार पनि छापिएको छ । सिरहाको मिर्चैया नगरपालिका ९ स्थित बतहा खोलाको पानी पिउनु स्थानीय मुसहर समुदायको बाधयता हो । त्यही खोलाको किनारमा ६० घरपरिवार मुसहर समुदायको बस्ती छ । बस्तीमा २ सय हाराहारीमा रहेका मुसहर समुदाय त्यही खोलाको धमिलो पानी पिउँछन् । मुसहर समुदाय दलित समुदायको विपन्न वर्गमा पर्छ । शुद्ध पिउने पानीको सुविधा नहुँदा यहाँको मुसहर समुदाय धेरै पहिलादेखि बताहा खोलाको पानीमा निर्भर छ ।

औजार : आजको औजार दैनिकमा “विद्यार्थी दुईघण्टा हिडेर विद्यालय आउँछन्” शीर्षकको समाचार छापिएको छ । धरान १३ फुस्रेको पब्लिक माविमा पढ्न आउने विद्यार्थी दुईघण्टा पैदल हिडेर विद्यालय आइपुग्छन् । अध्ययनका लागि नजिक विद्यालय नहुँदा यो समस्या छ । अध्ययन गर्ने विद्यार्थी विद्यालय आउँदा र घर फर्कदा दैनिक दुईघण्टा पैदलयात्रामै विताउनुपर्दा उनीहरुले पढाइमा सास्ती व्यहोर्नु परेको छ । वडा नं. २० र वडा नं. ४ का विद्यार्थी विद्यालय आउन यतिका समय व्यवस्थित गर्नुपरेको विद्यार्थीले गुनासो गरेका छन् । “विहानै ८ बजे हिड्यो, बेलुका साढे ६ बजे घर फिर्दा हैरानै भइयो, वडा नं २० विष्णुपादुकाबाट आउने प्रतिमान तामाङले भने, “आउँदा–जाँदा पढ्ने समय नै हुँदैन तर पनि राम्रै नम्बर ल्याएर पास भने भइन्छ ।” प्रतिमाजस्तै अनिशकुमार राई अरुणा राईलगायत करिब १५ जना विद्यार्थीले यस्तै समस्या भोग्नुपरेको छ ।

नागरिक पूर्वेली : आजको नागरिक पुर्वेली दैनिकमा “२ नं. प्रदेश राजधानीमा जताततै बालश्रम” शीर्षकको समाचार छापिएको छ । विहानको ६ बजेको छ । वातावरण शान्त भए पनि खुलेका चिया पसलहरुमा भीडभाड र हल्ला सुनिएको छ । अलि परबाट हेर्दा चोकको चिया पसल नजिकमा कुनै सभा भइरहेको जस्तै देखिन्छ । चिया पसलमा लागेको भीड चिया खाँदै गफिदै गरेको आम नागरिकको छ । पसलमा युवादेखि ज्येष्ठ नागरिक हातमा चियाको गिलास राखेर राजनीति प्रसंगमा कुरा गरिरहेका देखिन्छन् । सरकारको आलोचना गर्दै उनीहरुले देश समृद्ध बनाउने आफ्ना धारणाहरु राख्दै छन् । तर, त्यही पसलमा निराश भएर विद्यालयको समयमा चिया बनाउँदै गरेका एक १३ वर्षीय बालकमाथि कसैको ध्यान जादैन । बालश्रम गरिरहेका ती बालकले भविष्यसँग नै खेलवाड भएपनि सबैले हप्काएर नै उसलाई काम अह्राएको देखिन्छ । १३ वर्षीय परिवर्तित नाम हरेराम प्रदेश २ को राजधानी जनकपुरको पिडारीचोकमा एक चिया पसलमा काम गर्दै गरेका थिए । वास्तविक ८ देखि १० उमेर समूहका ती बालकले चिया बनाउने, टेबुल सफा गर्ने र गिलास माँझ्ने सबै काम एक्लै गर्छन्, त्यो पसलमा । चार वर्ष अगाडि कामको सिलसिलामा जनकपुर आएका हरेरामको दैनिकी अहिले प्रत्येक दिन विहान ५ बजेदेखि पसलको सरसफाईबाट सुरु हुन्छ ।