ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “रोगको पहिचान हुन नसक्दा विरामी झनै सिकिस्त” शीर्षकको समाचार छापिएको छ । उदयपुरका एक गाउँको समाल मगर जातिमा देखापरेको अज्ञात रोगले बलबहादुरलाई झनै च्याप्दै गएको छ । रौतामाई गाउँपालिका ६ नामन्तामा गाउँका समाल मगर जातिमा देखा परेको रोगले ३० वर्षीय बलबहादुर समाल मगरलाई झनै साह्रो पार्दै लगेको हो । गत वैशाख १६ गते गाउँका ७ जना एकैसाथ विरामी भएपछि उपचार गराउनका लागि उदयपुर जिल्ला अस्पताल गाइघाट ल्याइएको थियो । जिल्ला अस्पतालमा रोगको पहिचान हुन नसकेपछि विरामीहरुलाई अन्यत्र रेफर गरिएको थियो । जिल्ला अस्पतालबाट उपचार पाउन नसकेपछि उनीहरु विराटनगरको न्यूरो हस्पिटलमा भर्ना भएका थिए । तर विराटनगरमा पनि पहिचान हुन नसकेको परिवारले बताएका छन् ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “मापसे परीक्षामा नक्कली परीक्षार्थी” शीर्षकको अर्को समाचार पनि छापिएको छ । प्रहरीले लिने मादक पदार्थ सेवन –मापसे) को परीक्षामा पनि नक्कली परीक्षार्थी आउने गरेको पाइएको छ । सवारी साधन दुर्घटना न्यूनिकरण गर्न मोरङ प्रहरीले शुरु गरेको मादक पदार्थ सेवन विरुद्धको अभियानको परीक्षा दिन आउने नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको थियो । केही दिनअगाडि जिल्ला प्रहरी कार्यालय मोरङमा मापसेको परीक्षा दिन आउने नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । मापसे गरेको व्यक्तिको परीक्षा दिन आउने क्रममा नक्कली परीक्षार्थीलाई पक्राउ गरीएको प्रहरीले बताएको छ ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “बन्द हुँदै राडीपाखी उद्योग” शीर्षकको समाचार छापिएको छ । उत्पादित सामाग्रीले बजारमा मूल्य नपाएपछि भोजपुरका राडीपाखी तथा अल्लोका घरेलु उद्योगहरु बन्द हुने अवस्थामा छन् । भेडाको उन झिकेर बनाइने राडीपाखी तथा अल्लोबाट तयार गरिएका सामाग्रीको भा खस्क्ेपछि व्यवसायीलाई उद्योग चलाउन समस्या भएको हो । बजार अभावमा उत्तरी साल्पासिलिछो गाउँलिका र पूर्वी अरुण गाउँपालिकाका विभिन्न भेगमा वर्षौदेखि सञ्चालनमा रहेका राडीपाखी र अल्लोका घरेलु उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । कच्चा पदार्थ प्रशस्त मात्रामा पाइएपनि पनि तयार गरिएका सामानले बजारभाउ नपाउँदा उद्योग नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको अरुण गाउँपालिका ४, चरम्बीका रानीमाया राईले सुनाइन् । जिल्लाको उत्तरी भेगको भेडापालन हुने स्थानमा भेडाको उन र उत्तरी कुलुङ, दोभाने, खाटाम्मा, पूर्वीको जरायोटार, चरम्बी, याकुलगायतका स्थानमा अल्लोको रेसाबाट राडी, लुकुनी र घुमराडी बनाईन्थ्यो । तर, पछिल्लो समय त्यसको उत्पादन क्रमशः द्धटन थालेको छ । मूल्य नपाएपछि व्यवसायीहरुम निराशा छाएको हो ।