धरान: डेंगुको महामारी नियन्त्रण गर्न समुदायमा सर्च एण्ड डिष्ट्रोय अभियान चलेपनि विरामीको संख्यामा कमी नआएपछि चिकित्सक तथा र्यापिड रेस्पोन्स टिमले विद्यालय लक्षित सचेतना कार्यक्रम शुरु गरेका छन् ।

धरानका विभिन्न सामुदायिक एवं निजी विद्यालयहरुमा शिक्षक, विद्यार्थीहरुलाई डेंगुबारे सचेत गराउदै बच्ने उपाय र लामखुट्टेको अण्डा, लार्भा नष्ट गर्ने तरिकाबारे प्रशिक्षित गराउन थालिएको छ । यो अभियानमा प्याब्सन तथा एन प्याब्सनले पनि साथ दिएका छन् । समुदायमा मात्र अभियान चलाउदा पनि डेंगु नियन्त्रणमा आएको कुनै संकेत नदेखिएपछि विद्यालय तथा विद्यार्थी लक्षित अभियान चलाएको र्यापिड रेस्पोन्स टिमका सदस्य महेश्वर राईले बताए । उनीसहितको टोलीले सोमबार धरानका विभिन्न विद्यालयहरुमा पुगेर विद्यार्थी र शिक्षकलाई सचेतनामुलक प्रशिक्षण गराएको थियो । ‘समुदायमा पनि सर्च एण्ड डिष्ट्रोय अभियान चलेको छ, तर त्यतिले मात्र भएन,’उनले भने,‘स्कुलका बच्चाहरु जोखिममा छन्, र उनीहरुले बुझेपछि आफ्नो घर,परिवार र छरछिमेकलाई पनि सचेत गराउछन् ।’

dengu-school

चिकित्सकहरुका अनुसार १४ बर्ष मुनिका बालबालिका र ६० बर्ष माथिका वृद्धवृद्धाहरु डेंगुको बढी जोखिममा हुन्छन् । उनीहरुसँग रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकोले डेंगु ज्वरो हुदा जोखिम हुनसक्छ । साथै, विद्यालयमा पानी बढी आवश्यक हुदा धेरै राखिने भएकोले पनि विद्यालयमा सजग गराउन आवश्यक भएकोले पनि यो अभियान थालिएको राईको भनाई छ । ‘शिक्षक र विद्यार्थी सचेत हुदा विद्यालयमा डेंगुको जोखिम कम हुन्छ । विद्यार्थीहरुले घरमा आफ्नो अभिभावकहरुलाई पनि बुझाउन सक्छन्,’र्यापिड रेस्पोन्स टिमका सदस्य डा.विजयराज खनालले भने । विद्यालयहरुमा डा.सोनाली साह, डा.संगीता राई, डा.रोशन ढकाल, डा.ज्योति राना र महेश्वर राईको टिमले शिक्षक, विद्यार्थीहरुलाई प्रशिक्षण दिइरहेका छन् ।