धरान: गएको बैशाख ३१ गते विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराउन पुगेका एक जनामा डेंगु ज्वरो भएको रिपोर्ट आयो ।त्यसपछि केही दिनसम्म लगातार डेंगु पोजेटिभ विरामीको संख्या आएपछि उपमहानगरपालिकाले फगिङ कार्य शुरु गर्यो ।

अझ डेंंगुले महामारी रुप लिएपछि धरानमा ६ दिन अघि(जेठ २२) वृहतरुपमा डेंगु नियन्त्रणको लागि सर्च एण्ड डिष्ट्रोय अभियान शुरुवात गरिएको थियो । त्यस दिनदेखि प्रत्येक वडामा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, संघसंस्थाहरुको सक्रियतामा वृहतरुपमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान भइरहेको छ भने फगिङ पनि जारी छ । तर पनि अपेक्षितरुपमा डेंगु महामारी नियन्त्रणमा आएको संकेत देखिएका छैन ।

विपी प्रतिष्ठान धरानमा ज्वरो आएर उपचार गराउन पुग्ने र डेंगु पोजेटिभ देखिने संख्या बढीरहेको छ । गएको बैशाख ३१ यता विपी प्रतिष्ठानमा १ हजार २ सय ३० जनाको परीक्षण गर्दा ३ सय ६८ जनामा डेंगु भएको पुष्टि भइसकेको छ । अर्को निजी अस्पताल विजयपुर हस्पिटलको पनि संख्या जोड्दा धरानमा डेंगुका विरामीको संख्या ४ सय नाघिसकेको छ । ‘लामखुट्टेको बासस्थान र लार्भा सर्च एण्ड डिष्ट्रोय अभियान टोल टोलमा चलिरहेकै छ, तरपनि नियन्त्रणमा आउन सकेको छैन । यो चिन्ताको बिषय हो,’र्यापिड रेस्पोन्स टिमका संयोजक डा.विजयराज खनालले भने,‘अझै पनि वडा नं १५ बाट विरामी आइरहेका छन्, अहिलेसम्म त त्यहाँ एउटै पनि लामखुट्टे छैन भन्ने अवस्था हुनुपर्ने थियो ।’

dengue-fogging1

डा. खनाल धराने जनता डेंगुबारे मानसिकरुपमा सजग भएपनि व्यवहारमा सबैले उतार्न नसकेको हो कि भन्ने आशंका गर्छन् । वडा नं ८ र १५ लाई डेंगु संकटग्रस्त वडा घोषणा गरेर वृहत अभियान चलाएपनि ती वडाबाट डेंगुका विरामी आउन कमी भएको छैन । ‘अभियान वृहतरुपमा भइरहेकै छ, तर किन परिणाम आउन सकेको छैन भनेर चिन्तित छौं,’संयोजक डा.खनालले भने,‘यो बिषयमा हामी समिक्षा गछौं, र फिल्डमा पनि पुग्छौं ।’ धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवले पनि नियन्त्रणमा आउन नसकेकोमा निन्ता प्रकट गरे । ‘वहृत जनपरिचालन भइरहेकै छ, तर सबै जागेकै छौं, तर एक पटक पुगेर पानी छोप्न लगाएको, बिर्को वलियो लगाएको ठाउँमा भोलीपल्ट पुग्दा उस्तै लापरवाही देख्यौ,’यादवले भने,‘सजग भएपनि व्यवहारमा उतारेको देखिएन ।’

अझ र्यापिड रेस्पोन्स टिमका सदस्य महेश्वर राई जनपरिचालन अभियान नै सहीरुपमा नभएको टिप्पणी गर्छन् । जनपरिचालन हरेक घरमा पुगेर क्लिन स्विप गर्नुपर्ने भएपनि पकेटिङ तरिकाले हुदा कति घर, टोल नै छुटेको बताउँछन् । ‘मास परिचालन एउटै पनि घर नछोड्ने गरि हुनुपर्ने थियो, अहिले पकेटिङ गरेर भइरहेको छ । त्यसो गर्दा कुनै घर वा टोल नै छुटेर नियन्त्रण नभएको हो भन्ने मलाई लाग्छ,’उनले भने,‘जनपरिचालन कुनै पनि घर नछुट्ने गरी स्विप तरिकाले हुनुपर्छ ।’