धरान : डेंगु महामारी नियन्त्रणको लागि धरानमा वृहत अभियान भएपनि विरामीको संख्या बढेको बढ्यै छन् । डेंगु नियन्त्रणमा आउन नसक्नुमा धरानको खानेपानी अभाव मुख्य कारण भएको उनीहरुको निष्कर्ष छ ।

डेंगु नियन्त्रणमा नआउदा चिन्तित भएका विज्ञहरुले धरानलाई एक दिन पानीरहित सुख्खा बनाउन सुझाव दिएका छन् । धराने जनताले घरमा पानी जम्मा गरेर राख्ने र त्यहीबाट डेंगु संक्रमित लामखुट्टे उब्जिरहेको उनीहरुको भनाई छ । लामखुट्टेको जीवन चक्रलाई बीचमा नै तोड्न नसकेसम्म डेंगु नियन्त्रणमा नआउने चिकित्सक एवं विज्ञहरु बताउँछन् । ‘यतिका दिन भइसक्यो, किन विरामीको संख्या घटेन ? यसको कारण धरानबासीहरु आफैले पनि खोतल्नुपर्छ,’१ नं प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख भोगेन्द्रराज डोटेलले भने,‘जबसम्म प्रत्येक घरमा जम्मा गरेको पानी फाल्दैनौं, तबसम्म लामखुट्टेको लार्भा नष्ट हुदैन, र डेंगु पनि नियन्त्रणमा आउदैन ।’

dengue-4

निर्देशक डोटेलका अनुसार धरानमा खानेपानीको चरम अभावले डेंगु नियन्त्रणको अभियानले अपेक्षित प्रतिफल पाउन नसकेको हो । ‘घरमा राखेको पानी फाल्नै चाहदैनौं, त्यो पानी नफालेसम्म लामखुट्टे वृद्धि रोकिदैन,’उनले भने,‘एक दिन मात्र घरमा भएको जति पानी छ, सबै फाल्ने हो भने डेंगु नियन्त्रणमा आउछ, यो कुरा आम धराने जनतालाई बुझाउन जरुरी छ ।’ डोटेलका अनुसार एक दिन खाना पकाउने र पिउने पानीबाहेक घरमा भएको सबै पानी फल्नुपर्छ । एक दिन सुख्खा भएपछि लामखुट्टेको लार्भा सबै नष्ट हुन्छ । यसले लामखुट्टेको जीवन चक्र पुरा हुन पाउदैन ।

यो विधि हरेक ७ दिनमा एक दिन गर्ने हो भने पनि डेंगुको महामारी सहजैरुपमा नियन्त्रणमा आउने डोटेलको भनाई छ । ‘एक दिन घरमा पानी राख्दै नराख्ने । सुख्खा भएपछि लार्भा जति सबै मर्छ, र त्यो एरियामा भोलीपल्ट मात्र पानी वितरण गर्नुपर्छ,’डोटेलले भने,‘लामखुट्टेलाई अण्डा पार्न, अण्डाबाट लार्भा र प्यूँपा बन्न २ साता समय लाग्छ । हरेक ७ दिनमा त्यसो गर्ने हो भने डेंगु महामारी आफै नियन्त्रणमा आउछ ।’ यो विधिलाई कार्यान्वयन गर्न धरान उपमहानगरपालिका र जनप्रतिनिधहरु नै जुट्न आवश्यक भएको उनले बताए ।