धरान: हिजोआज ज्वरो आयो कि धरानमा डेंगु भएको आशंका गरिन्छ, र धरानेहरु डेंगु किटबाट टेष्ट गर्न विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगिहाल्छन् । त्यहाँ त्यसैपनि विरामीको घुँइचो हुन्छ । डेंगुको प्रकोपले झनै अस्तब्यस्त छ ।

परीक्षणमा समय लाग्ने त छदैछ, त्यसमाथि टेष्ट किट पर्याप्त छैन । त्यसैले विरामीहरु बाहिरका निजी क्लिनिक तथा ल्याबतिर जाँच गर्न जान्छन् । विपी प्रतिष्ठानमा निःशुल्क भएको डेंगु किटबाट परीक्षण गराउन बाहिर न्युनतम १२ सयदेखि २५ सयसम्म शुल्क तिरिरहेका छन् । यसरी डेंगु किटमा कालाबजारी भइरहेको पुष्टि संघीय सरकारको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीले नै गरिसकेको छ ।

यसो हुनुमा आमसर्वसाधारणहरुमा डेंगु किटबारे चेतनाको अभाव भएको र उपचारमा संलग्न डाक्टरहरुले पनि राम्रोसँग बुझाउन नसकेको विज्ञ एवं चिकित्सकहरु नै बताउँछन् । उनीहरुका अनुसार ज्वरो आयो भन्दैमा सिधै डेंगु किटबाट परीक्षण गर्न आवश्यक छैन । विरामीको पहिला रगतको नमुना परीक्षण गरेर प्लेटलेट र डब्लुबिसिको रिपोर्ट हेरिसकेपछि मात्र डेंगु जाँच गर्न आवश्यक भए वा नभएको थाह हुने विज्ञहरु बताउँछन् । विपी प्रतिष्ठानमा यो विधि शुरुदेखि नै नअपनाउदा आम सर्वसाधारण मानिसहरुमा भ्रम पैदा भएको र डेंगु किट चाडै सकिएर अभाव हुने गरेको संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री डा.सरोजकुमार यादवले बताए ।

राज्यमन्त्री डा.यादव स्वयम् चिकित्सक पनि हुन् । ‘ज्वरो त अरु विभिन्न कारणले पनि भएको हुनसक्छ । सिधै डेंगु किटबाट टेष्ट गर्ने होइन । पहिला रगतको नमुना परीक्षण गर्दा प्लेटलेट र डब्लुबिसि कुन अवस्थामा छ भनेर हेरिसकेपछि मात्र किटबाट परीक्षण गर्ने कि नगर्ने भन्ने प्रष्ट हुन्छ । तर विपीमा शुरुमा नै किट प्रयोग गर्दा धेरै खेर गएको छ,’उनले भने । विपी प्रतिष्ठानमा आवश्यकताभन्दा बढी किटको प्रयोग त्यसरी गरिएकोले अभाव भएको राज्यमन्त्री यादवको भनाई थियो । ‘किटको अभाव छैन, तर विपीमा आवश्यकलाई भन्दा धेरै बढी नै टेष्ट गरिएको रहेछ,’उनले भने ।

प्रदेश स्वास्थ्य निर्देशक भोगेन्द्रराज डोटेल पनि ज्वरो आएका सबै विरामीलाई डेंगु किटबाट परीक्षण गर्न आवश्यक नभएको बताउँछन् । तीन दिनसम्म लगातार ज्वारो आएका विरामीहरुको रगत जाँच गर्दा डब्लुबिसि ४ हजार भन्दा कम र प्लेटलेट १ लाखभन्दा कम भएको अवस्थामा मात्र डेंगु किटबाट परीक्षण गर्नुपर्ने उनले बताए । ‘प्लेटलेट र डब्लुबिसि कम हुदा मात्र डेंगु किटले टेष्ट गर्नुपर्छ, नत्र भने त प्रकोपको बेला किट जति नै ल्याएपनि पुग्दैन,’निर्देशक डोटेलले भने,‘यो विधिबारे डाक्टरले पनि विरामीहरुलाई बुझाउनुपर्छ, र आम जनतासम्म पनि सुचना प्रवाह गर्नुपर्छ ।’

denguee