पाँचथर:पाँचथरको हिलिहाङ गाँउपालिका ६ स्थित सिटे भन्ने ठाउँमा एक युवतीको धारिलो हतियारले हत्या भएको छ ।

इलाम घर भएकी करिब २० बर्षीय सुजाता तामाङको धारिलो हतियारले घाँटीमा प्रहार गरी हत्या भएको अवस्थामा फेला परेको हो । मृतक एनएमबी माइक्रोफाइनान्सको हिलिहाङ–३ गोपेटारस्थित शाखामा कार्यरत भएको पनि खुलेको छ । उनलाई खुकुरी प्रहार गरी हत्या भएको अनुमान गरिएको छ । मंगलबार साँझ करिब ६ बजे उनको शव भेटिएको थियो ।

pachthar-sujata

घटनास्थलमा जोरपोखरी प्रहरी चौकीका प्रहरी निरीक्षक कृष्ण भट्टराईको टोली पुगेको छ । उनले सुजाताको हत्या भएको अवस्थामा शव फेला परेको जानकारी दिए । घटनाबारे थप अनुसन्धान गर्न पुगेका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले हत्याबारे अहिल्यै केही भन्न नसकिने बताए । जंगलको वीचमा रहेको बाटोमा घाँटीमा धारिलो हतियार प्रहार भएको स्थानीयबासीले जनाएका छन् ।

धारीलो हतियार प्रहर भएको तथा भिरबाट झरेको अवस्थामा शव भेटिएको पाँचथरका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए। ‘धारीलो हतियार प्रहर गरेको देखिएको छ। भिरबाट खसाइएको छ। हामिले अनुसन्धान थालेका छौँ’ घटनास्थलबाट डिएसपी कुँवरले भने ‘धारीलो हतियार प्रहार भएको देखिन्छ।’

जिल्लाको मिक्लाजुङ गाँउपालिकाको आरुबोटे भन्ने ठाँउमा नौ जनाको हत्या भएको र सोहि गाँउपालिका– ४ मा किशोरीको हत्या भएको घटना नसेलाउँदै अर्को हत्याको घटना भएको हो। एकपछि अर्को हत्याको घटना भएपछि जनजिवन थप त्रसिद बन्दै गएको छ।