धरान : धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले पूर्व नगर प्रमुख हर्क साम्पाङले हटाएका कर्मचारीलाई काममा फर्काउने निर्णय गरेको छ ।
उपमहानगरपालिकामा जिम्मेवारी बिहिन रहेकी प्रज्ञादेवी निरौला र नगर प्रहरी विष्णु कोइरालालाई पुन: काममा हाजिर गर्न बिहीबार बसेको कार्यपालिका बैठकले निर्णय गरेको कार्यवाहक प्रमुख बेघाले बताए ।
साम्पाङले अधिकृत निरौलालाई हाजिर गर्न वञ्चित गराएर जिम्मेवारी बिहिन राखेका थिए भने नगर प्रहरी विष्णु, स्टोर कर्मचारी समीर पौडेल, इन्जिनियर देश सुब्बालाई निष्कासन गरेका थिए ।
यसैगरी साम्पाङले घण्टाघरमा आफन्त राख्न त्यहाँ कार्यरत मजदुर कर्मचारी राज लिम्बू र प्रकाश राईलाई बिना तलब उपदान निष्कासित गरेका थिए । उमेरले बृद्धावास्थाका राज लिम्बुको अवस्था नाजुक भएको बेला तलब तथा उपदान रकम समेत नदिई निष्कासित गरिएकोमा घण्टाघरमा आन्दोलन समेत भएको थियो ।
आन्दोलनको दबाब तत्कालीन प्रमुख साम्पाङ सम्म पुगेपछि राज लिम्बुको हकमा नगरपालिकाले अवकाश बापत निश्चित रकम प्रदान गर्ने सहमति भएको थियो । तर घण्टाघर परिसर स्थित भानुपार्कमा भेटिए राज लिम्बुले भने ‘रकम दिने भनिएको हो, तर अहिले सम्म एक रुपैयाँ पाएको छैन ।’
उनका अनुसार अन्यायपूर्वक कामबाट निष्कासन गर्दा सबैले बोलेका थिए । त्यसैले दबाब पुगेर निश्चित रकम दिने आश्वासन दिइएको थियो । तर अहिले कसैले बोलिदिँदैनन् त्यसै कारण पहिले भएको सहमति नगरपालिकाले लत्त्याएको उनलाई लागेको छ ।
कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाको अध्यक्षतामा बिहीबार बसेको कार्यपालिका बैठकले हटाइएका कर्मचारीलाई काममा फर्काउने निर्णय गरेको हो । तर राज लिम्बुको हकमा त्यस बेला आर्थिक सहयोग स्वरूप रकम प्रदान गर्ने सहमतिको बारेमा भने कुनै निर्णय भएन ।
प्रमुख साम्पाङले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेकी निरौलालाई कोशी राजमार्गको मापदण्ड १०५ फिट विपरीत नक्सापासका लागि हस्ताक्षर गर्न नमानेका कारण बिदामा बसाएका थिए ।
लामो समय धरान उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएपछि मन्त्रालयले उपसचिव भूपेन्द्र राईलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाएको थियो । निरौलाले आफू सहसचिव भएकाले उपसचिवको मातहतमा निर्देशकका रूपमा काम गर्दै आएकी थिइन् । यसका विरुद्ध उनले कानुनी उपचारका लागि अदालत गएकी थिइन् । अदालतले निरौलाकै पक्षमा फैसला गरे पनि पालिकाले निरौलालाई हाजिर गर्न दिएको थिएन ।
नगर प्रहरी कोइरालालाई तत्कालीन नगर प्रमुखले बिदामा बस्न सूचित गरेका थिए । कार्यसम्पादनमा तत्कालीन प्रमुख साम्पाङले चित्त नबुझाएपछि कोइरालालाई बिदा दिइएको थियो ।