धरान : धरान उपमहानगरपालिकाको वार्षिक आम्दानीमा ठुलो ह्रास आएको छ । वार्षिक बजेटमा १२ महिनामा हुने आम्दानीको अनुमान ९ महिनामा आधा मात्र सङ्कलन भएको छ ।
लक्ष्यअनुसार आम्दानी उठ्न नसकेपछि उपमहानगरपालिकाको १८ औँ मध्यावधि नगर सभामा बजेट संशोधन गर्न बाध्य भएको छ । चालु आर्थिक वर्ष २०८२ /८३ को वार्षिक बजेटमा २ अर्ब २० करोडभन्दा बढी आम्दानीको प्रस्ताव गरिएको थियो । तर बजेट कार्यान्वयनको ९ महिना बितिसक्दा आम्दानीको अनुमानित रकम आधा मात्र सङ्कलन भएपछि बजेट फेल हुने सङ्केत देखिएको हो । आम्दानीको अनुमान छेउ टुप्पे नभेटेकोले संशोधन गरेर बजेटमा विनियोजित पुँजीगत खर्च १३ प्रतिशतमा सीमित गर्न बाध्य भएको हो ।
नगर सभाको पहिलो बैठकमा कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघाले बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव पेश गर्दै ५० दशमलव ६६ प्रतिशत मात्र आय सङ्कलन भएको जानकारी दिए ।
उनका अनुसार चालु आर्थिक वर्षका लागि २ अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँ आयको अनुमान गरिएको थियो । तर चैत मसान्त सम्म ९ महिनामा १ अर्ब ११ करोड ८४ लाख रुपैयाँ मात्र सङ्कलन भएको बताए ।
मध्यावधि समीक्षाले आन्तरिक आय सङ्कलन झनै कमजोर देखाएको छ । सडक बोर्डको रकम र गत वर्षको मौज्दात हटाएर हेर्दा आन्तरिक आम्दानी २४ दशमलव २४ प्रतिशत मात्र रहेको तथ्य नगर सभामा प्रस्तुत गरिएको छ ।
उपमहानगरपालिकाले विभिन्न स्रोतबाट ५१ करोड ५७ लाख ८९ हजार रुपैयाँ थप आय सङ्कलन गर्ने लक्ष्य राखेको थियो । बिपी प्रतिष्ठानबाट ८ करोड, घर बहाल करबाट १० करोड, व्यवसाय करबाट ६ करोड, नयाँ बसपार्क सञ्चालनबाट १ करोड ५० लाख लगायतका स्रोत समावेश थिए । तर हालसम्म यीमध्ये उल्लेख्य रकम सङ्कलन हुन नसकेको कार्यवाहक प्रमुख बेघाले बताए ।
खर्चतर्फ पनि अवस्था सन्तोषजनक देखिएको छैन । नगर कार्यपालिका र वडा कार्यालयतर्फ ७६ करोड ९६ लाख ७९ हजार रुपैयाँ मात्र खर्च भएको छ । यो कुल अनुमानित व्ययको ३४ दशमलव ८६ प्रतिशत मात्रै हो ।
त्यसमध्ये चालु खर्च ५३ दशमलव ५१ प्रतिशत, पुँजीगत खर्च १३ दशमलव २१ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३६ प्रतिशत मात्र खर्च भएको विवरण प्रस्तुत गरिएको छ ।
बजेट संशोधन प्रस्ताव प्रस्तुत गर्दै कार्यवाहक प्रमुख बेघाले ढिलो बजेट स्वीकृति, चाडपर्व, आन्दोलन तथा निर्वाचनका कारण पुँजीगत खर्चमा ढिलाइ भएको बताए । उनले भने ‘आगामी दिनमा खर्च वृद्धि गर्ने लक्ष्य राखिएको छ ।’आय सङ्कलन कमजोर र खर्च कार्यान्वयन सुस्त बनेपछि विषयगत समिति र वडा समितिको सुझावका आधारमा केही कार्यक्रम तथा स्रोतमा संशोधन आवश्यक भएको बताउँदै उनले नगर सभामा संशोधन प्रस्ताव पेश गरे ।
नगर सभामा कोशी प्रदेशका सांसदव्दय रमेश बस्नेत र विजय राईको उपस्थित थिए ।
सांसदव्दयले धरानलाई पर्यटकीय हब बनाउने योजना पूर्वाधार विकासमा जोड दिए । सांसद विजय राईले भने ‘धरानलाई प्रमुख पर्यटकीय हबका रूपमा विकास गर्न आवश्यक छ ।’
वडाध्यक्षहरूलाई इङ्गित गर्दै सांसद राईले भने ‘मेरो वडामा मात्र बजेट चाहिन्छ भन्ने सोचभन्दा माथि उठेर समग्र धरान कसरी विकास हुन्छ भन्ने सोच आवश्यक छ ।’ धरानलाई ‘स्पोट्र्स हब’का रूपमा चिनिए पनि खेलकुद पूर्वाधारको अवस्था कमजोर रहेको उनले बताए ।
सांसद रमेश बस्नेतले धरानको समग्र विकासका लागि राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर सबै तहका सरकार र जनप्रतिनिधिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याए ।