झापा : यात्रुवाहक बसको ठक्करबाट झापामा एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका ९ बस्ने अन्दाजी ६५ वर्षीय घनश्याम गड्तौला रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत काँकडभिट्टाबाट धरानतर्फ गइरहेको को १ ख ७६६५ नम्बरको नारायणी यातायातले मेचीनगर १० स्थित नगडुब्बा पुल नजिकै पैदलयात्री गड्तौलालाई शनिबार दिउँसो २ बजे ठक्कर दिएको थियो ।

श्रीमती इन्द्रमायासँगै सडकमा हिँडिरहेका घनश्यामलाई बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको डिएसपी श्रेष्ठले जानकारी दिए । चारआली प्रहरी चौकीले ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको छ । यता, बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि आक्रोशित स्थानीयले केही बेर सडक अवरुद्ध गरेका थिए । पूर्वपश्चिम राजमार्ग अवरुद्ध हुँदा यातायातका सवारीसाधन ठप्प भएका थिए । पैदलयात्रीको मृत्युपछि घटना स्थितिलाई साम्य बनाउन घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रहरीकै सुरक्षा घेरामा यातायातका सवारीसाधन सुचारु गरिएको डिएसपी श्रेष्ठको भनाइ छ ।