उदयपुर: उदयपुरको कटारी नगरपालिका ४ मरुवामा आज दिउँसो घाँटी रेटेर एक महिलाको हत्या भएको छ । आज मध्याह्न करिब पौने १ बजे लक्ष्मी राईको हत्या भएको हो ।

प्रहरीले हत्यामा संलग्न महिलालाई पक्राउ गरिसकेको छ । श्रीमान्ले कान्छी श्रीमती ल्याए पश्चात छुट्टिएर बसेकी ३० बर्षीय सीता राईले आफ्नै सौता लक्ष्मीको हत्या गरेकी हुन् । श्रीमानसंग छुट्टीएर पुरानो (मुल) घरदेखि करिव १०० मिटरको दुरीमा सीता बस्दै आएकी थिइन् । उनले आफ्नी सौता लक्ष्मीलाई घरमा नै बोलाएर हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सीताले सौता लक्ष्मीलाई आफ्नै घरमा बोलाएर तरकारी काट्ने चक्कुले घाँटी रेटेर हत्या गरेको खुलेको छ । हत्या भएको खबर पाएलगत्तै ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरी टोलीले हत्यामा प्रयोग गरिएको चक्कु घटनास्थलबाट नै बरामद गरेको थियो भने आरोपित सीता राईलाई पनि नियन्त्रणमा तत्काल लिएको थियो । उनलाई थप अनुसन्धान भई रहेको प्रहरी कार्यालयले जनाएको छ ।