ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “शोकमा डुब्यो सिङ्गो गाउँ” शीर्षकको समाचार छापिएको छ । मोरङको सुनवर्षी नगरपालिका-९ मा बन्दै गरेको मुस्लिम समुदायको प्रार्थना गर्ने स्थानको सेफ्टी ट्याङ्कीको फर्मा खोल्ने क्रममा ४ जना मजदुरको ज्यान गएको घटनामा शोक प्रकट गर्दै सुनवर्षी नगरपालिकाले आइतबार शोक बिदा दिएको छ । सोमबार कार्यापालिकाको बैठक बसी मृतकका परिवारलाई राहत दिने मेयर कालिप्रसाद दासले बताए । शनिबार डायनियाँमा सेफ्टी ट्याङ्कीको फर्मा खोल्न पसेका ६० वर्षीय मोहम्मद कपिल आलम, १९ वर्षीय सहनवाद आलम, २२ वर्षीय मोहम्मद ओसिम आलम र २५ वर्षका फिरोज आलमको मृत्यु भएको थियो । घाइते भएका दाउत मियाँ भने रङ्गेली अस्पतालमा उपचार गरी घर फर्केका छन् । ढलाइ सकेपछि फर्मा खोल्न गएका चारै जनाको अक्सिजनको अभावका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाँसको भ¥याङ लगाएर उनीहरू फर्मा खोल्न भित्र पसेको बताइएको छ । मृत्यु भएका सबैको मुस्लिम धर्म परम्पराअनुसार आइतबार सुनवर्षी–९ मा दाहसंस्कार गरिएको वडाध्यक्ष कमलकिशोर सिंहले बताए । सुनवर्षीको वडा नम्बर ९ शोकमा डुबेको वडाध्यक्ष सिंहले बताए ।
औजार : आजको औजार दैनिकमा “ओखलढुंगामा ४० हजार बासिन्दाको बाली जलेर नष्ट” शीर्षकको समाचार छापिएको छ । एक नम्बर प्रदेशको पश्चिमतर्फ पर्ने विकट पहाडी जिल्ला ओखलढुंगाका करिब ४० हजार नागरिक प्रत्यक्ष खडेरीको मारमा परेका छन् । लामो समय चलेको खडेरीले गर्दा ओखलढुंगाको लिखु, दुधकोशी र सुनकोशी नदी करिडोरमा बसोबास गर्दै आएका करिब ४० हजार स्थानीयहरु प्रत्यक्ष खडेरीको मारमा परेका छन् । खडेरीले गर्दा बालीनाली मात्र जलेर नष्ट भएको छैन पिउने पानीको अभावले उनीहरुले काकाकुलको अवस्था भोगिरहेका छन् । ओखलढुंगाबाट विजयाी १ नम्बर प्रदेश सांसद मोहनकुमार खडकाका अनुसार जिल्लाका मानेभञ्ज्याङ गाउँपालिकाको सबै वडाका, लिखु गापका १,२ र ३ नम्बर वडा, सुनकोशी गापका १,२,३,४,५ वडा, सुनकोशी गापका १,२,३,४,५,६ नम्बर वडा चम्पादेवि गापका १,२,३,४,५ र १० नम्बर वडा चिसंकुगढी गापका १,२,३,४र ८ नम्बर वडा र सिद्धिचरण नपाका १,२ र ३ नम्बर गरि करिब ५० हजार मानिसले खडेरीको मार र खानेपानीको हाहाकार समस्या भोगिरहेका छन् ।
उद्घोष : आजको उद्घोष दैनिकमा “सहमतिपछि चिया उद्योग सञ्चालन” शीर्षकको समाचार छापिएको छ । गएको वर्ष लागु गरेको कार्य्विधि अनुसार नै ‘किसानले चियाको हरियो पत्तीमा गुणस्तर कायम राख्ने भन्नेमा सहमति भए पछि बन्द भएका चिया उद्योग खुल्ने भएको छ । सूर्योदय टी एसोसियसनका प्रतिनिधि, चिया उद्योगी, किसान र नगरपालिकाका प्रतिनिधिबीच किसान र उद्योगीले कार्य्विधिमा उल्लेख भएको निर्णय नै लागू गर्ने भन्नेमा शनिबार सहमति भएपछि बन्द भएका सबै उद्योग सञ्चालन गर्ने सहमति भएको हो । छलफल गरी सबै पक्षबीच भएको सहमतिमा दुई पात एक सुइरो भएको चियाको मुना मात्र उद्योगीले नगरले तोकेको मूल्यमा खरिद गर्ने सहमति भएको छ । दुई पात एक सुइरो भएको चियाको मुनामात्र नगरको कार्य्विधिमा उल्लेख भएको न्यूनतम मूल्य प्रति किलो ४० रुपैयाँ दिने सहमति भएसँगै उद्योग सञ्चालनको वातावरण बनेको सूर्योदय टी एसोसियसनका सचिव गोपाल कट्टेलले जानकारी दिए । सूर्योदय नगरपालिकाकी उप–प्रमुख दुर्गादेवी भट्टराईले भने नगरले कार्य्विधिमा तोकेका सबै कुरा परिवर्तन नहुने बताए । तर कतिपय विषयमा भने केही छलफल गरेर दीर्घकालीन समाधान खोज्न सहमति गरिएको उनले जानकारी दिए । नगरपालिकाले गएको वर्ष नै चियाको मूल्य निर्धारणसम्बन्धी कार्य्विधि–२०७५ बनाएको हो । यो कार्य्विधिमा हरियो पत्तीको न्यूनतम मूल्य ४० रुपैयाँ कायम गरेको थियो । नगरपालिकाले अनुगमन नगरेको, किसानले गुणस्तरीय हरियो चियाको पत्ती उद्योगमा नलगेको, किसानलाई नगरपालिकाले तोकेको मूल्य उपलब्ध गराउन नसक्ने भन्दै चिया उद्योग तीनदिनदेखि बन्द भएका थिए । चिया उद्योगीहरुले उद्योग बन्द गरेपछि त्यसको मार बगानका करिब तीन हजार किसानलाई परेको थियो । जिल्लाको सबैभन्दा बढी चियाखेती भएको स्थानीय तह सूर्योदय नगरपालिकामा मात्र ४५ हजार रोपनी क्षेत्रफलमा चिया खेती गरिन्छ । यहाँबाट वार्षिक २ लाख किलोग्राम तयारी चिया भारतलगायतका अन्य देशमा निर्यात हुने गरेको छ ।