झापा : प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापामा पछिल्लो समय अपराधिक घटना बढ्दै गएको पाईएको छ ।

चालू आर्थिक बर्षको ६ महिनामा झापामा ५ जनाको हत्या भएको छ । हत्या हुनेमा पुरुषको संख्या ४ छ भने महिला एकजना रहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र(ईन्सेक)ले जनाएको छ ।

यो अवधीमा झापामा बिभिन्न ७१ वटा घटना भएको र ति घटनाका कारण प्रत्यक्ष पीडित हुनेको संख्या ८० रहेको छ । यो अवधीमा बलात्कार जस्तो जघन्य अपराधको घटनापनि अत्याधिक छ । पाँच वर्षीया बालिकादेखि ७६ वर्षीया वृद्धासम्मले बलात्कार जस्तो जघन्य अपराधको सिकार हुनु परेको छ । सो अवधिमा २३ वालिका सहित ४२ जना बलात्कारको शिकार बनेका छन् ।

त्यस्तै झापामा यो अवधिमा १३ वटा वलात्कारका प्रयास भएका छन् । १० वालिका सहित १३ जनालाई वलत्कारको प्रयास भएको इन्सेकले जनाएको छ ।

इन्सेक जिल्ला प्रतिनिधि नरेश खातीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार मानव वेचविखनका ९, एक शिशुको हत्या, वहुविवाहका २ वटा घटना र हिरासतमा एक जनाको ज्यान गएको छ भने राज्य पक्षवाट तीन जनाको गिरफ्तारी भएको छ ।

त्यस्तै ८१ वर्षीया वृद्धालाई बोक्सीको आरोप लगाएको आरोपमा मेचीनगर– ९ निवासी कुमारी चम्लागाई र सावित्रा शिवाकोटी विरुद्ध इलाका प्रहरी कार्यालय धुलावारीमा उजुरी परेको थियो । उजुरीका आधामा पक्राउ परेकी सावित्रालाई दुई लाख रुपैयाँ धरैटीमा अदालतले रिहा गर्ने आदेश दिएको छ । अर्की आरोपित फरार रहेको प्रतिवेदनमा उल्लेख छ ।