झापा : सामान्य बर्षा हुँदा पनि पूर्वका शहरहरु डुवानमा पर्ने गरेका छन् । झापाको बिर्तमोड, दमक, लगायतका शहरहरु डुवानको चपेटामा पर्ने गर्छन । यो बर्षपनि यस्तै भयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगरका वासिन्दा यस पटकपनि डुवानको समस्याबाट माथि उक्सन सकेनन् । दमकमा मुख्य लोकमार्ग तथा आसपासका क्षेत्रहरु नै डुबानको चपेटामा पर्ने गरेका छन । नगरका सडकहरु फराकिलो बनेका छन तर अधिकाँश सडकमा ढलको निकास भने खोलिएको छैन । जसले गर्दा सामान्य बर्षात हुदा पनि दमकमा डुबान हुने गरेको छ ।

बिहिबार दमक १ स्थित श्रीपाली टोलका बासिन्दा दिनभर आफ्नो घरभित्रको पानी फाल्नमै ब्यस्त देखिए । दमक १ का वाईबी थेबे भन्छन्,“निकास विनाको विकासले अहिले हामीलाई साह्रै सताईरहेको छ ।” सामान्य बर्षा मात्रै हुनुपर्छ दमक जताततै जलमग्न हुन्छ । भित्रि बाटा मात्र हैनन् । यस नगर क्षेत्रमा पर्ने मुख्य सडकमै पनि खोलो कुद्छ अनि कतै स–साना पोखरीनै बन्छ । सडकमा पानी जमेकै कारण सडक आसपासका बासीन्दा, ब्यापारी तथा यात्रुले निक्कै सास्ती खेप्नुपरेको सोही स्थानका दिपक शंकर बताउछन् । नाला निर्माण गर्दकै बखत त्रुटी भएका कारण त्यसैको प्रतिफल अहिले आफुहरुले पाईरहेको भन्दै उनी आक्रोश पोख्छन् ।

Capture

दमकका व्यवसायी जिवन गौतम आफुहरु प्रधानमन्त्रीको गृहनगरको वासिन्दा भनेर नाक फुलाएपनि डुवानको समस्याले दमकवासीलाई कहिल्यै नछोडेको भन्दै निराशा ब्यक्त गर्छन । प्रधानमन्त्री स्वयमले आएर उद्घाटन गरिएको प्रदेश १ कै ठुलो भनिएको पशु हाटको हबिगत झन् भनि साध्य छैन । आधुनिक पशुबजार निर्माण सम्पन्न भएको ५ महिना बितिसक्यो । तर ब्यबस्थापन गर्ने टुङगो छैन जसले गर्दा हाट पनि हिलाम्मे स्थानमै लाग्छ । जुन स्थानपनि डुवानको चपेटामा छ ।

नगरमा निर्मित अब्यबस्थीत ढल र नगरबासीको लापरबाहीले गर्दा पनि ढल थुनिने भएकोले सामान्य बर्षात हुदा नगरका बिभिन्न स्थान जलमग्न हुने गरेको हो । जनघनत्वको चाप र दिर्घकालिन योजना बिनाका बिकासे कामले गर्दा पनि नगरबासिलाई बर्षायाममा सास्ती हुने गर्छ । नगर त डुबान पर्छ नै मुख्य लोक मार्ग आसपासको क्षेत्र पनि डुबानको चपेटामा पर्ने गरेको छ ।

pani-3

दमकको अति भिडभाड र यात्रुहरुको चाप हुने स्थान पश्चिम बस स्टेन्ट तथा गोर्खा डिपार्डमेण्ट आसआसको क्षेत्रमा त खोलै बग्ने गर्छ जसले गर्दा यात्रु तथा नजिकैका ब्यबसायीहरुलाई सास्ती हुने गरेको छ । मुख्य लोकमार्गलाई शहरी मार्ग बनाइनु, भएका पुलपुलेसाको संरक्षण नहुनु, शहरीकरणको नाममा अतिक्रमण हुनुले पनि डुबानको समस्या निम्ताएको डिभिजन सडक कार्यालय दमकका प्रमुख श्यामकुमार यादब बताउछन् ।

दमकमा सडकसँगै बनाईने ढलको पानी निकास गर्न कुनै खोला वा नदि नभएका भने हैनन् । नगरभित्रै पर्ने रतुवा, दिपिनी र खरखरे खोला अतिक्रमणमा पर्नु र यसमा सरोकारवालाले चासो नदिदा दमक सामान्य वर्षातमा पनि डुवानमा पर्ने गरेको भन्दै यसको दियो समाधानको खाचो रहेको नगरबासीहरु बताउँछन् ।

कन्काई र रतुवामा उच्च सतर्कता

pani-2

निरन्तरको बर्षाले झापाका कन्काई, रतुवा, मावा, निन्दा, बिरिङ्ग लगायतका नदिहरुमा पानीको सतह बढेको छ । नदिहरुमा जलस्तर बढेसँगै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको जनाएको छ । झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कुनैपनि बेला आईपर्ने बिपद्लाई मध्यनजर गर्दै बिपद् व्यवस्थापन र उद्धारका लागि शशस्त्र र नेपाल प्रहरीको टोली तयारी अवस्थामा राखिएको जनाएका छन् । अहिले बर्षा रोकिएपनि पहाडी क्षेत्रमा बर्षा भईरहेकाले यि नदिहरुमा जलस्तर अझै बढ्न सक्ने कारणले सतर्क रहन प्रशासनले आम नागरिकलाई आग्रहपनि गरेको छ ।