झापा : फुलवासा खोलामा डुबेर झापामा एक बालकको मृत्यु भएको छ । डुबेर मृत्यु हुनेमा मेचीनगर नगरपालिका १२ स्थित माता पाथीभरा टोल बस्ने गङ्गाराम प्रसाईँको ३ वर्षीय छोरा अजित प्रसाईँ रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरी अनुसार सोमबार बिहान ७ बजे गङ्गाराम धानको बीउ काट्न भनी घरदेखि पूर्वपट्टी फुलवासा खोला तरेर खेतमा गएको बेला उनलाई पछ्याउँदै गएका उनका छोरा अजितको त्यही खोलामा डुबेर मृत्यु भएको हो । खोलाले बगाउँदा बालक अजित डुबेको र स्थानीयले उद्धार गरी अस्पताल उपचारका लागि पठाएपनि उनको मृत्यु भइसकेको थियो ।

झापामा पाँचदिनदेखि अविरल वर्षासँगै खोलामा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ३ पुगेको छ । शिवसताक्षि ५ सालमारा ९ वर्षीय सौगात चापागाईँ र दमक नगरपालिका १० स्थित भालुखोलाको कल्भर्टमा खेल्ने क्रममा बगाउँदा मृत्यु हुनेमा दमक नगरपालिका १० बस्ने मामा लोकेन्द्र भण्डारीको घरमा बस्दै आइरहेकी सङ्खुवासभा चैनपुर नगरपालिका ७ फलाटे बस्ने पुनम न्यौपानेको छोरी एलिजा न्यौपानेको शुक्रवार मृत्यु भएको हो ।